सहिद सप्ताह  र गद्दारीविरुद्ध जनआक्रोश

महान् जनयुद्ध आरम्भ भएको २५ औँ वार्षिकोत्सवसँगै नेकपाले देशैभर सहिद सप्ताह मनाइरहेको छ । झापा विद्रोहदेखि जनयुद्धमा बलिदान गर्ने नेपाल आमाका हजारौँ योद्धाहरूको स्मृति र सम्मानमा जनयुद्धकालदेखि नै आरम्भ भएको सहिद सप्ताह जनयुद्धले निर्माण र लागू गरेको माक्र्सवादीहरूको नयाँ दिवस र पर्व हो । देशभर जनयुद्ध र एकीकृत जनक्रान्तिका हजारौँ महान् सहिदका परिवारलाई सम्मान गर्दै जनयुद्धका अधुरा सपना पूरा गर्ने प्रतिबद्धतासाथ मनाइएको यो दिवसले एकीकृत जनक्रान्तिलाई वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाका लागि नयाँ ऊर्जा प्रदान गरेको छ । यसको निरन्तरता, महत्व र सार्थकता यसैमा निहित छ । महान् सहिदहरू अमर छन् । अमर रहिरहनेछन् ।

गतवर्ष सहिद सप्ताह मनाइरहँदा नेकपाका महासचिव कमरेड विप्लवले भन्नुभएको थियो, जनयुद्ध, माओवादी र जनसत्ताको घोषणा हो । जसले महान् जनयुद्ध र एकीकृत जनक्रान्तिमा नयाँ जनवाद—वैज्ञानिक समाजवाद— साम्यवादको महान् आदर्श र लक्ष्यका लागि बलिदान गरे उनीहरूको गाथासँग यसको सम्बन्ध जोडिएको छ । सहिद सप्ताहले अब निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पहिलोपटक सङ्गठित रूपमा सामन्तवादविरुद्ध अवैध अर्थात् हतियारबद्ध सङ्घर्ष आरम्भ गर्दा झापा विद्रोहका क्रममा तत्कालीन सत्ताबाट मारिएका सुखानीका सहिददेखि सामन्तवाद, पुँजीवाद र दलाल पुँजीवादको अन्त्य गरी साम्यवाद निर्माण गर्ने उच्च लक्ष्य र सपना बोकेर १० वर्षसम्म सञ्चालित महान् जनयुद्धका क्रममा बलिदान गर्ने करिब १० हजार महान् सहिदहरूको सपना पूरा गर्ने लक्ष्य राखेको छ । अब यो शृङ्खलामा एकीकृत जनक्रान्तिमा बलिदान गर्ने एक दर्जन महान् सहिदहरूको उच्च बलिदान पनि गाँसिएको छ । सहिद सप्ताह झापा विद्रोहका योद्धाहरूको बलिदान भएको फागुन २१ र जनयुद्धमा पहिलोपटक जीवन उत्सर्ग गर्ने दिलबहादुर रम्तेलको बलिदानको दिन फागुन १४ लाई जोडेर आरम्भ गरिएको हो । अब यो दिवसमा एकीकृत जनक्रान्तिका महान् सहिदहरूको बलिदान पनि गाँसिन आएको छ ।

आज एकातिर नेपाल कम्युनिस्ट पार्टीले देशैभर सहिद सप्ताह मनाइरहेको छ र सहिद परिवारहरूलाई सम्मान गर्दै जनयुद्धका अधुरा सपना पूरा गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको छ भने अर्कातिर जनयुद्धकालमा सहिद सप्ताह आरम्भ गर्दाका नायकहरूले यो दिनलाई भुलेका छन् । अझ विडम्बनाको कुरा त के छ भने सहिद सप्ताहका अवसरमा जनयुद्धविरोधी एमालेका नेताको स्मृति दिवस मनाउन पुगेका सरकारी नेकपाका द्वितीय अध्यक्ष प्रचण्डमाथि जनयुद्धका महान् सहिदका छोराले जुत्ता प्रहार गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । एकातिर महान् जनयुद्धका अधुरा सपना र सहिदको बलिदानको लक्ष्य पूरा गर्न एकीकृत जनक्रान्ति उत्कर्षमा पुग्दैछ, अर्कातिर जनयुद्धको हत्या गर्ने, सहिदहरूलाई अपमान गर्ने, जनयुद्धले निर्माण गरेका सत्ता, सेना, हितयार, न्यायालय, सरकार विघटन गरेर प्रतिक्रियावादीहरूसामु जीवनको भिक माग्ने प्रचण्डहरूमाथि सहिद परिवारले जुत्ता प्रहार गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । क्रान्तिको प्रक्रिया हुन्छ तर यो नापेतौले र जोखेजस्तो सपाट हुँदैन । त्यसैले क्रान्तिको चरणमा एकातिर जनताहरू, योद्धाका परिवारहरू, सहिदका आफन्तहरू सम्मानित हुन्छन्, नयाँ वाचा बाँधिन्छन्, नयाँ प्रतिबद्धताहरू व्यक्त गरिन्छन् भने क्रान्तिका दलाल, गद्दार र भगौडाहरूप्रतिको घृणा र आक्रोश थप्पड र जुत्ता प्रहारसम्म पुग्छ । दलाल पुँजीवादका नायक शासकहरूले सहिद परिवार र जनताको यो आक्रोशलाई केवल प्रतिशोध र आवेगका रूपमा मात्र बुझ्छन् । बाङ्गो रूखलाई पनि सीधा छ भन्नुपर्ने जङ्गबहादुरको निरङ्कुशता र हुकुमी शासनलाई चुनौती दिँदै एक सिपाहीले भनेका थिए रे, ‘महाराजका आँखा फुटेका हुन् कि मेरो गर्धन चिलाएको हो, यो रूख त बाङ्गै छ ।’ आज नेपाली जनताले फेरि कालो शासन र सत्ताका झूटलाई कालो र झूट भन्ने हिम्मत गरेका छन् । यही हिम्मतका कारण एकीकृत जनक्रान्तिका क्रममा १२ जनाले बलिदान गरिसकेका छन् भने कयौँ नेता–कार्यकर्ता सत्य बोलेको र सही काम गरेको अभियोगमा जेल र हिरासतको चिसो छिँडीमा कैद बन्न मन्जुर छन् । सहिद सप्ताहले संसारभरका क्रान्तिकारी, मालेमावादीहरूलाई नयाँ हौसला र थप ऊर्जा प्रदान गरेको छ ।

महासचिव विप्लव भन्नुहुन्छ, पुँजीवादी सत्ताको अन्त्य हुँदै जाने क्रममा महान् सहिद तथा बेपत्ता योद्धाहरूको इतिहास अझै चम्किलो बन्दै जानेछ । नयाँ, सत्य, सभ्यताको खोज यसै पनि चुनौतीपूर्ण हुन्छ । त्यसमा पनि मान्छेलाई बदल्ने, परिवारलाई बदल्ने, समाजलाई रूपान्तरण गर्ने कार्य असल हुँदाहुँदै पनि निकै चुनौतीपूर्ण हुन्छ । असल कामको सफलता र चुनौतीहरूलाई सामना गर्नका लागि मेहनत र बलिदानको आवश्यकता हुन्छ । सहादत र सहिद तथा बेपत्ता योद्धाहरू त्यसैका अभिव्यक्ति हुन् । सहिद सप्ताहले जनविद्रोह, जनयुद्ध, जनक्रान्ति र सबैखाले आन्दोलन र सङ्घर्षमा बलिदान गर्ने सहिदका परिवारलाई पनि निरन्तर क्रान्तिमा लामबद्ध भइरहन प्रेरणा प्रदान गरेको छ ।

यथार्थ र सत्य हो, आज पनि सहिद तथा बेपत्ता योद्धाहरूका सपनामाथि हमला र घात भएको छ । महासचिवकै शब्दमा सहिदका सपनाहरू आकाशमा चम्किने ताराजस्तै हुन् जसलाई कसैले पनि छोप्न सक्दैन । पुँजीवादी दुनियाँको समाप्तिसँगै सहिदहरूका सपनाहरू मानवजीवनमा परिणत हुनेछन् । महान् सहिदहरूका यिनै सुन्दर, ऊर्जाशील सपनाहरूलाई जीवन्त राख्न र ती सपनाहरूलाई जीवनव्यवहार बनाउन पनि सहिद सप्ताहले राम्रो सन्देश दिएको छ । महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरूले देखाएको बाटोमा अविचलित रूपमा प्रतिबद्ध भएर लागिरहने शपथ खानु हामी बाँचेकाहरूको कर्तव्य हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :