प्रचण्डलाई जुत्ता प्रहार गर्ने सहिदपुत्र नै हुन्, सहिदको अपमान हामीलाई सैह्य छैन : युवा सङ्गठन


काठमाडौँ : युवा सङ्गठन नेपाल भेरी–कर्णाली ब्युरोले प्रेस वक्तव्य प्रकाशित गरी प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाका बुबा सहिद मुन तिरुवा भएको तर सरकारी नेकपाले उक्त तथ्य बङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

ब्युरो इन्चार्ज दीपले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हिजो राष्ट्रिय सभागृहमा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सहिदपुत्र रतन तिरुवाबाट भएको जुत्ता प्रहारपछि उक्त पार्टीको जुम्ला जिल्ला समितिले सहिदहरूको अपमान हुने गरी निज रतन तिरुवाका बुबा सहिद होइनन् भन्नेखालको नैतिकहीन र हलुका वक्तव्य बाहिर ल्यायो । २०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिँडिरहेका बेलामा बेपत्ता पारेर मारिएका सहिद क. मुन तिरुवालाई हाल आएर डबल नेकपाले सहिद होइन भनेर भन्नु सम्पूर्ण बेपत्ता तथा सहिदहरूप्रतिको अपमान मात्र नभएर सिङ्गो महान् जनयुद्धप्रतिको पनि अपमान हो । मुन तिरुवाको परिवारले राज्यबाट १० लाख रुपैयाँ राहतमा पाइसक्नुभएको हो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘प्रचण्डहरूले पार्टीलाई एमालेमा लगेर विसर्जन गरे पनि जनयुद्धको विरासत हामीसँग छ । हामी जनयुद्धको उद्देश्य एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने प्रक्रियामा छौँ । सहिदविरुद्ध सामान्य राजनीतिक संस्कार र नैतिकता गुमाएर निकालिएको भगौडाहरूको वक्तव्य सरासर झूटको पुलिन्दाशिवाय केही होइन । निज रतन तिरुवा परिवर्तन चाहने, देशको माया गर्ने, माक्र्सवादलाई अध्ययन र अनुसन्धान गर्ने र गलतविरुद्ध आगो ओकल्ने एक युवा हुनुहुन्छ । उहाँ काठमाडौँमा लोकसेवा अध्ययनका लागि जानुभएको हो । आज जोसुकैले पनि राष्ट्रघात, जनघात र राज्यले गर्ने हरेक गलत कामविरुद्ध आफ्नो मत प्रकट गर्दा विप्लवको कार्यकर्ता भन्ने र गिरफ्तार गर्ने फासिवादी रबैया दिनानुदिन बढ्दै गएको छ । यसको हामी देशभक्त र क्रान्तिकारी युवाहरू प्रतिवाद गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘हामी सहिद सप्ताह उत्सवका क्रममा जनयुद्ध र एकीकृत जनक्रान्तिका सम्पूर्ण सहिदहरू र बेपत्ताहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै केपी–पीके गिरोहको जुम्ला पार्टीले सहिद क. मुनलाई सहिद होइन भन्ने वक्तव्यप्रति हामी खेद प्रकट गर्दछौँ र यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :