अखिल (क्रान्तिकारी)द्वारा पत्रकार सम्मेलन : नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले देशभरबाट गिरफ्तार संगठनका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी संगठनमाथि लगाइएको अघोषित प्रतिबन्ध खारेज गर्न माग गर्दै जेल तथा हिरासतमा अमानविय यातना दिने कार्य तत्काल बन्द गरी आफ्ना विचारहरु राख्ने, भेला सम्मेलन गर्न पाउँने आधारभुत अधिकारको रक्षा गर्न माग गरेको हो ।

सरकारी दमनको घोर भत्र्सना गर्दै संगठनले विद्यार्थीहरुको हक अधिकारकालागि कलम र कपी बोकेर हिड्ने नेता कार्यकर्तालाई राजनैतिक आस्थाकै आधारमा गैरन्यायीक गिरफ्तार गर्ने, चरम यातना दिने, झुठा मुद्दा लगाउने कार्य तत्काल अन्त्य गर्न भनेको छ ।

पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा संगठनमाथिको प्रतिवन्ध तत्काल अन्त्य गरी शान्तिपूर्ण रुपमा स्ववियू निर्वाचनमा देशव्यापी रुपमा भाग लिने वातावरणको सृजना गर्न पनि माग गरिएको छ । यस्तै विगत केही समयदेखि चन्दा संकलन गरेको भन्ने भ्रामक र षड्यन्त्रमुलक समाचारहरुप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन यी समाचार र भ्रमहरुको खारेजी र खण्डन गर्दछ । हाम्रो संगठनको कोही कसैसँग चन्दा लिने नीति नभएको पनि स्पष्ट पार्न चाहन्छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरन्जीवी ढकालले अखिल (क्रान्तिकारी) संगठन विद्यार्थीको हक अधिकारका लागि लड्ने संगठन भएको भन्दै आफुहरुमाथि लगाइएको अघोषित प्रतिवन्ध तथा सरकारको दमनको बिरोध गरेका थिए । उनले भने, ‘अखिल क्रान्तिकारी बम, बन्दुक बोकेर हिड्ने संगठन हैन । हामी कपी र कलम बोकेर बिद्यालय, विश्वबिद्यालयहरुमा नेपालको शिक्षा क्षेत्रमा रहेका बिकृति र बिसङगतिबिरुद्ध शान्तिपूर्ण रुपमा सडकमा आवाज उठाउने जुझारु युवाहरुको संगठन हो, यसमा कोही पनि भ्रममा नपर्न आग्रह गर्दछौ।’

सरकारले गरेको दमनबाट आफुहरु नआत्तिने भन्दै संगठनका नेता कार्यकर्ताहरु भूमिगत भएर भागेको भन्ने आरोप लगाएकोप्रति खण्डन गर्दै भने, हामी तपाईहरु माझमा छौ, सरकारले हामीमाथि चरम दमन गरेको छ तर हामी कही लुकेका छैनौ, हामीलाई खोज्न प्रहरी प्रशासन हिड्न पर्दैन । हामीलाई बोलाउनुस् हामी आउछौं । संगठनले गरेका कामको खुलमखुल्ला जिम्मेवारी लिन तयार रहेको भन्दै शैक्षिक क्षेत्रको बिकृति विसंगतिको बिरुद्ध र विद्यार्थीका अधिकारकालागि शान्तिपूर्ण तरिकाबाट संघर्ष गर्दा दमन गरे त्यसको सामना र प्रतिवाद गर्न तयार रहेको पनि उनले बताए ।

यस्तै संगठनका कोषाध्यक्ष नरेन्द्र विकले हिरासतमा आफुमाथि चरम शारिरिक र मानसिक यातना दिएको बताए । आफुलाई करेन्ट लगाएर यातना दिएको समेत उनले खुलासा गरे । पत्रकार सम्मेलनमा बोल्दै भने, ‘मलाई फागुन ५ गते बिहान ११ बजे पक्राउ गरी बिभिन्न ठाउँमा घुमाएर राती मात्रै टेकु पुर्याइयो, मलाई पक्राउ गरेर चरम यातना दिइयो, इलेन्ट्रिक सर्ट लगाउने कार्य भयो ।’

उनले, हाल हिरासतमा रहेका कतिपय विद्यार्थी नेता कार्यकर्ताहरुमाथि पनि कुटपिट तथा यातना दिने कार्य भएको भन्दै यस्तो हर्कत नगर्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गर्दै विद्यार्थी तथा उनीहरुका नेता कार्यकर्तालाई अघोषित प्रतिबन्ध लगाएर चरम यातना दिंदै झुठा मुद्दामा फसाउने, दमन गर्ने कार्यले सरकार पतनको बाटोतर्फ लागेको प्रष्ट भएको पनि बताए ।

संगठनका अध्यक्ष ढकाललाई जिल्ला प्रसासन कार्यालय काठमाडौँले मंगलबार धरौटीमा रिहा गरेको थियो भने, कोषाध्यक्ष विकलाई बुधबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाईपछि रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :