राष्ट्रियता जोगाउन सेती–महाकाली मुक्ति मञ्च नेपालको आह्वान

काठमाडौँ : सेती–महाकाली मुक्ति मञ्च नेपालका संयोजक देवीदत्त पाण्डेयले अपिल प्रकाशित गर्दै राष्ट्रियताको आन्दोलनमा सामेल हुन आह्वान गरेका छन् । मञ्चले शान्ति, समृद्धि, सुशासन, पहिचान र स्वाधीनताका पक्षमा जागरण अभियान सञ्चालन गर्ने र यसले सेती–महाकालीका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताएका छन् ।

निकट भविष्यमा नै एउटा राष्ट्रिय भेला आयोजना गरी आफ्नो घोषणापत्र जारी गरेर कानुनी वैधानिकतासमेत पूरा गर्ने उनले जनाएका छन् । उक्त मञ्चमा सेती–महाकालीलगायत देशको सर्वाङ्गीण विकास र प्रगति चाहने शक्ति र व्यक्तिहरूलाई सामेल हुन उनले हार्दिक आह्वान पनि गरेका छन् ।

पाण्डेयले आफू जीवनको लामो समय नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण भूमिकामा रहँदै आएको, महान् जनयुद्धमा सुरुदेखि अन्त्यसम्म क्रियाशील रहिआएको र अन्त्यमा त्यसको मूल नेतृत्वबाट जनयुद्धको लक्ष्य र उद्देश्यमाथि धोका र गद्दारी भएपछि विप्लवले नेतृत्व गरेको पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा रहिआएको स्मरण पनि गराएका छन् । आफू हाल नेकपाको कुनै पनि जिम्मेवारीमा नरहेको अवगत गराउँदै आफू भारतमा रहेको समयमा नेपालमा झूट्टा मुद्दा लगाइएको र उक्त झूट्टा मुद्दामा वैधानिक तवरले उपस्थिति पनि जनाइसकेको प्रस्ट पारेका छन् । आफू अहिले कुनै पनि पार्टीको भूमिकामा नरहे पनि देश र जनताप्रतिको उत्तरदायित्वबाट भने पछि हटेको छैन र जीवन रहुन्जेलसम्म पछि नहट्ने प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :