जनकारबाही भोग्न तयार होऊ

दलाल पुँजीवादले जे भन्छ, त्यो गर्दैन र जे भन्दैन त्यो गर्छ अर्थात् एउटा नराम्रो काम गर्नका लागि राम्रो आवरण तयार पार्छ, भ्रम फिँजाउँछ र अपराध गर्छ । यस कुराको एक राम्रो उदाहरण केपी वली सरकारले छर्लङ्ग देखाएको छ । राष्ट्रियताको कुरा गर्दै राष्ट्रवादको जामा पहिरेर राष्ट्रघात गर्नु, जनतन्त्र वा लोकतन्त्रको नारा लगाएर जनहत्यामा कीर्तिमान कायम गर्नु र जनजीविकाको ब्यानरमा जनतालाई चरम अभाव, महँगी लाद्दै भोक, पीडा र अभावमा मर्नु न बाँच्नुको अवस्थामा पुर्याउनु दलाल पुँजीवाद अर्थात् केपी वली सरकारको विशेषता नै बनेको छ । ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने’, ‘घरघरमा सिंहदरबार पुर्याउने’, ‘सुखी नेपाली र समृद्ध नेपाल पार्ने’ लगायत लोकप्रिय नारा र भुलभुलैया बाँडेर देश, जनता र दुनियाँलाई ढाँटिरहेका प्रधानमन्त्री केपी शर्मा वलीको किचेन क्याबिनेटका अत्यन्त निकट, विश्वासपात्र एवम् सरकारी प्रवक्तासमेत रहेका मन्त्री गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरण एवम् राजीनामाकाण्डले के प्रमाणित गरेको छ भने यो व्यवस्था, यो सरकार र यसका सम्पूर्ण संरचना एवम् अवयवहरूको मेरुदण्ड भनेको भ्रष्टाचार, लूट, बेइमानी, षड्यन्त्र मात्र हो र अरू सबै बकबास वा हात्तीका देखाउने दाँत मात्र हुन् । नेपाली जनता अब यस किसिमका षड्यन्त्रबाट वाक्कदिक्क भइसकेका छन् । त्यसैले केपी वलीले आफ्नो संरक्षण, रेखदेख, योजना र षड्यन्त्रमा गरेका यस किसिमका राष्ट्रघाती, जनघाती हर्कतहरूका कारण बहिर्गमनको बाटो रोज्नुपर्छ ।

नेपालीमा एउटा सहज उखान छ– लातको भूत बातले मान्दैन । संसारकै फासिस्ट शासकहरू तामझाम गरेर षड्यन्त्रको बाटो हुँदै सत्तामा आउँछन् । पोलहरू खुलेर नाङ्गेझार भएपछि जनताको प्रतिरोधको निशाना बन्छन् र बाहिरिन्छन् । नेपाल र नेपाली जनताको आशाको केन्द्रबिन्दु र एक मात्र भरोसा रहेको नेपाल कम्युनिस्ट पार्टीले देश र जनताविरुद्ध वली सरकारका सम्पूर्ण हर्कतहरूको भण्डाफोर गर्दै एक जिम्मेवार राजनीतिक पार्टीको हिसाबले जिम्मेवार अभिव्यक्ति दिँदै सेक्युरिटी मेसिन खरि दसम्बन्धी काण्डमा केपी वलीकै संलग्नता रहेकाले उनको बहिर्गमन र कारबाही तत्कालको आवश्यकता रहेको प्रस्ट पारेको छ । पार्टी महासचिव कमरेड विप्लवले भन्नुभएको छ– केपी वली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।… यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ ।

नेकपा यतिबेला राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर एकीकृत जनक्रान्तिमा होमएिको छ । राष्ट्रघात–जनघात– फासिवाद भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गर्नु नेकपाको पर्यायवाची नाम नै भएको छ । यसकै लागि सङ्घर्ष गर्दा नेकपाले प्रतिबन्धित हुनुपरेको छ भने नेकपाका १२ जना योद्धाहरूले देश, जनता र श्रमिक वर्गका पक्षमा बोल्दा बलिवेदीमा चढ्नुपरेको छ । देशको रक्षा र श्रमिक जनताको मुक्तिको माग गर्दै देश लुट्नेहरूमाथि कारबाहीको माग गरेको अभियोगमा नेकपाका सयौँ नेता–कार्यकर्ताले जेल–हिरासतको चिसो छिँडी, यातना र कहरको सामना गर्नुपरेको छ ।

यसरी एकातिर नेकपाको नेतृत्वमा देश, जनता र श्रमिक वर्गको मुक्तिका लागि नेकपाको नेतृत्वमा क्रान्ति जारी छ, उता देश र जनताका पक्षमा लड्ने र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेहरूलाई राजद्रोही करार गर्दै केपी सरकार भ्रष्टाचार, राष्ट्रघात–जनघातमा चुर्लुम्म डुबेको केपीका प्रियपात्र रहेका निवर्तमान मन्त्री बास्कोटाले प्रमाणित गरिदिएका छन् । देश र जनताका विरुद्ध काण्डैकाण्डले जर्जर र बदनाम भइसकेको केपी वली सरकारको अब छेकेर ढाकिने कुनै अङ्ग बाँकी छैन । वली सरकार भ्रष्टाचार, राष्ट्रघात, जनघात र आपराधिक काण्डैकाण्डको पर्याय बनिसकेको छ । दर्जनौँ काण्डको नायक केपी सरकार तत्काल विघटनको भागीदार त छँदैछ, यी अपराध र काण्डका लागि कारबाहीको पनि भागीदार छ । त्यो कारबाही भने यो दलाल फासिवादी व्यवस्थाले गर्न सक्तैन । यसका लागि उत्पीडित जनताको आक्रोश, पीडा र जारी एकीकृत जनक्रान्ति पर्याप्त छन् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :