अदालतको आदेश लत्याउँदै लक्ष्मण पौडेल पुनः गिरफ्तार


काठमाडौँ : नेकपाका सुनसरी जिल्ला इन्चार्ज रहेका लक्ष्मण पौडेललाई सर्वोच्चको आदेश लत्याउँदै प्रहरीले सोमबार पुनः गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । जिल्ला अदालतले रिहा आदेश दिएपछि अदालतबाट निस्कनै लाग्दा पौडेललाई प्रहरीले ‘एसपी वीरबहादुर बुढामगरले भेट्न बोलाउनुभएको छ’ भन्दै पुनः गिरफ्तार गरेको प्राप्त समाचारमा जनाइएको छ ।

मेची–कोसी ब्युरोका सदस्यसमेत रहेका पौडेलले अदालतबाट बाहिरिने क्रममा राजनीतिक आस्थाका आधारमा केपी वली सरकारले दुःख दिइरहेको बताएका छन् । उनले राजनीतिक स्वतन्त्रतालाई सरकारले उल्लङ्ंघन गर्दै पञ्चायती शैली अपनाएको पनि बताएका छन् । गिरफ्तारीपछि उनलाई उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता पु¥याएको र सीमास्थलबाट उनलाई मुद्दा दर्ता भएको सिराहा जिल्ला लगिएको उनीसँगै गएकी श्रीमती रीता ढुंगानाले बताएकी छिन् ।

पौडेलमाथि सरकारले बम विस्फोट, सार्वजनिक यातायात आवागमनमा अवरोध र व्यक्तिको घरमा बम राखेको तीनवटा नक्कली घटना खडा गरी मुद्दा लगाएको छ । पौडेललाई अदालतले दुई मुद्दामा धरौटीमा रिहा गर्नु र एक मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नू भन्ने आदेश दिएको थियो । त्यसपछि पौडेल उक्त निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए ।

अदालतको रिट निवेदक पौडेलको हकमा विनोद श्रेष्ठले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनअनुसार सर्वोच्चले फागुन ८ मा थुनामुक्त गर्न भन्दै जिल्ला कारागार उदयपुरलाई परिपत्र गरेको थियो । रिटमा ०७६ असोज ७ गते सुनसरी जिल्लामा गिरफ्तारीमा परेका पौडेललाई दुई महिनासम्म हिरासतमा राखी सुनसरी अदालतबाट २५ हजार धरौटीमा रिहा भएलगत्तै सोही दिन गिरफ्तार गरी पुनः झापा लगिएको बताइएको छ । झापा अदालतले पनि एक लाख धरौटीमा रिहा गरेलगत्तै पुनः सवारी आवागमनमा अवरोध पु¥याएको भन्दै झापामै गिरफ्तार गरी राखिएकामा अदालतले २५ हजार धरौटीमा रिहा गरेपछि पुनः सुनसरी प्रहरीले गिरफ्तार गरेको उल्लेख छ ।

सुनसरीबाट साधारण तारेखमा रिहा भएका पौडेललाई उदयपुर ल्याइएको रिटमा उल्लेख छ । ‘यसरी जिल्लाबाट धरौटी, तारेख वा साधारण तारेखमा रिहा हुँदासमेत पटकपटक पक्राउ गरी राख्ने, थुन्ने मनसायबाट बदनियतपूर्वक पवृत्ति भावनाबाट ग्रसित भएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ (क) र (ख) बमोजिम थुनामुक्त गरिदिनू’ भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ ।

सर्वोच्चको आदेश पाएको ६ दिनपछि कारागारले पौडेललाई जिल्ला अदालतमा उपस्थित गराई रिहा गरेको थियो । पौडेलकी श्रीमती रीताले भने सर्वोच्चले प्रस्ट व्याख्या गरेकाले सिराहा जिल्ला अदालतबाट चाँडै रिहा हुनेमा आफू आशावादी रहेको बताइन् । पौडेल गम्भीर रूपमा अस्वस्थ छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :