कैलालीमा उत्सवका रूपमा मनाइयो २५ औँ जनयुद्ध दिवस

कैलालीको काठमाडौँमा जनयुद्ध दिवस


कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले जिल्लाका विभिन्न स्थानमा २५ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । कैलालीका बर्दगोरिया, गौरीगङ्गा र धनगढी नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाइएको हो । जनयुद्धको २५ औँ वार्षिकोत्सवका अवसरमा टीका लगाएर शुभकामना आदानप्रदान गर्दै मिठाइ वितरण गरिएको धनगढी नगर इन्चार्ज अनमोलले बताए । नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गाउँ समिति र घोडाघोडी नगर समितिले सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा लगी पारित गरेर कार्यान्वयनमा ल्याउन लागेको विरोधमा प्रदर्शन गरेको छ । नेपालको सङ्घीय संसद्बाट एमसीसी पारित गरेर नेपाललाई अमेरिकी सेनाको क्रीडास्थल बनाउन खोजेको भन्दै विरोध गरिएको नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गाउँ समितिका इन्चार्ज अनमोल रावलले बताए ।

अमेरिकी साम्राज्यवादले हिन्द प्रशान्त रणनीतिअन्तर्गत नेपाललाई हिन्द–प्रशान्त सैन्य गठबन्धनमा राखेर अमेरिकी सेनाको परेडस्थल बनाउन खोजेकाले आफ्नो पार्टीले कदापि साम्राज्यवादी षड्यन्त्र सफल हुन नदिने नेकपाले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै विरोध गर्दै आएको छ । उक्त परियोजना राष्ट्रघाती भएको भन्दै देशव्यापी विरोध प्रदर्शन कार्यक्रमअन्तर्गत बर्दगोरियामा समेत विरोध कार्यक्रम गरिएको उक्त पार्टीले जनाएको छ ।


नेपाल कम्युनिस्ट पार्टी कैलालीको पूर्वी काठमाडौँमा पनि २५ औँ जनयुद्ध दिवस मनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला इन्चार्ज प्रशान्तले जनयुद्ध आरम्भ भएको दिन नेपाली श्रमजीवी जनताका निम्ति एक ऐतिहासिक दिन रहेको स्मरण गर्दै फासिस्ट सामाजिक दलाल पुँजीवादी संसदीय व्यवस्थाले एमसीसी पारित गर्ने नाममा गर्न खोजेको राष्ट्रघाती सम्झौता, सिमाना अतिक्रमण, भ्रष्टाचारलगायत विकृतिको अन्त्य एकीकृत जनक्रान्तिले मात्र गर्ने भएकाले यसमा लामबद्ध हुने आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :