२५ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्व र आह्वानमा महान् जनयुद्ध आरम्भ भएको २४ वर्ष पुगेर २५ वर्ष लागेको छ भने जनयुद्धको मुख्य नेतृत्वले युद्धमैदान छाडेर भागेको औपचारिक घोषणा गरेको पनि १४ वर्ष भइसकेको छ । भगौडाहरूले अलपत्र छाडेका सपना र सहिदको रगत लतपतिएको झन्डासहित क्रान्तिको नयाँ क्षितिज खुलेको छ वर्ष भएको छ । महान् त्याग, समर्पण, उत्सर्ग र बलिदानका यी गौरवशाली समय, पात्र र घटनाहरूप्रति हामी गौरव गर्छौं र हार्दिक अभिनन्दन गर्दै त्यही गौरवशाली मुक्तियात्रामा लामबद्ध भइरहने प्रण गर्दछौँ । भगौडा, पलायनवादी, दलाल र गद्दारहरूलाई हामीले मात्र होइन, सिङ्गो समयले नै दुत्कारिरहेको छ, थुकिरहेको छ । एकीकृत जनक्रान्तिको सफलतासँगै श्रमिक जनताका सपनाहरू साकार हुनेछन् ।

जनयुद्ध समाजमा विद्यमान सबैखाले शोषण, दमन, अत्याचार, अनाचार, व्यभिचार, राष्ट्रघातका विरुद्ध, वैज्ञानिक समाजवाद– साम्यवाद निर्माणका लागि आरम्भ भएको महान् लडाइँ थियो । जनयुद्धले श्रमिक जनताको मुक्तिलाई केन्द्रमा राखेको थियो र त्यो वर्गका जनताको व्यापक सहभागिता र समर्थन थियो । मुलुकको दुई तिहाइ भूभाग व्यभिचारी सत्ताबाट मुक्त र स्वतन्त्र भएर जनसत्ताको अभ्यास गरिरहेको अवस्था थियो । जनताको आफ्नै सेना, आफ्नै न्यायालय, आफ्नै सत्ता, आफ्नै सरकार हुनु र मुलुकको दुई तिहाइभन्दा बढी भूभाग मुक्त र स्वतन्त्र हुनु कुनै पनि प्रतिक्रियावादी शक्ति, पुँजीवादी तथा साम्राज्यवादी तत्वहरूलाई सह्य र प्रिय हुने कुरा थिएन । मुख्य नेतृत्वलाई नेतृत्व मात्र नभएर दैवीकरण हुँदै गरेको सीमाबाट फाइदा उठाएर अपार सफलतातर्फ लम्किरहेको महान् जनयुद्धका मुख्य नेतृत्वहरूभित्र प्रतिक्रियावादीहरू र साम्राज्यवादी घुसपैठ भयो । महान् जनयुद्ध रोकिएन मात्र, पूरै विघटनको सँघारमा पुर्याइयो । बर्लिनको पर्खालको आवाजभन्दा ठूलो आवाज निकाल्दै जनसत्ताहरू ढालियो । सोभियत सङ्घ विघटनको भन्दा बीभत्स चित्कार निकाल्दै सनसेनाहरू समाप्त पारियो, हतियारहरू बुझाइयो । हेर्दाहेर्दै भीषण बाढीले बिमाख पारेको बस्तीजस्तै सर्वहारा–श्रमिक वर्गको रगत–पसिनाबाट निर्मित सत्ता र सपना गल्र्यामगुर्लुम ढालियो । मुख्य नेतृत्व नै दलाल र गद्दार बनेर दुस्मन क्याम्पमा मुन्टो घुसार्न पुगेपछि क्रान्तिकारीहरूलाई बौरिन, थिग्रिन, सङ्लिन, समालिन, पुनर्सङ्गठित हुन र क्रान्ति अघि बढाउन केही समय लाग्यो । फलतः जनयुद्धकै निरन्तरतामा, जनयुद्धले उठान गरेका देश र श्रमिक–सर्वहारावर्गको मुक्तिका सपना साकार पार्न नेपाल कम्युनिस्ट पार्टी गठन भएर एकीकृत जनक्रान्ति सञ्चालन भइरहेको छ । यसले संसारकै सर्वहारावर्गको मनमा फेरि हर्षको लदाबदी र प्रतिक्रियावादी, पलायनवादी र साम्राज्यवाद तथा उसका चाकरहरूको हृदयमा भय र त्रासको ढ्याङ्ग्रो बजाएको छ । नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध, कयौँ योद्धाहरूको हत्या, सयौँ नेता–कार्यकार्ताको गिरफ्तारी, झूट्टा मुद्दा, यातना, जेल, नेल यसैको परिणाम हो ।

एकीकृत जनक्रान्तिमाथि सत्ताको दमन सत्तामा आएको सङ्कट र भयको पराकाष्टा हो । मालेमावादी क्रान्तिकारीहरूलाई जनघात, राष्ट्रघात, व्यभिचार, बलात्कार, हत्या, भ्रष्टाचार, बेथिति, दमनका विरुद्ध बोल्नसमेत नदिनु र बोल्नेलाई गोली हानेर मार्ने, प्रतिबन्ध लगाउने, थुन्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने काम फासिवाद हो । मालेमावादीहरू सत्ताका कुनै पनि किसिमका अत्याचार, दमन, शोषण र नृशंशताबाट भयभीत हुँदैनन्छै/नन् । उनीहरू सत्ता दमन र फासिवादी हर्कतहरूलाई चिर्दै निरन्तर मुक्तियात्रामा लामबद्ध भइरहन्छन्छ/न् । नेकपाले मालेमावाद र जनयुद्धको असली उत्तराधिकारीका रूपमा आफूलाई निरन्तर अघि बढाइरहेको छ र दलाल पुँजीवादी सत्ताको फासिवादी दमन र हर्कतको सामना गरिरहेको छ । फलस्वरूप आज पुनः नेपाली धर्तीबाट अर्को विद्रोहको राँको सल्किएको छ र अन्तर्राष्ट्रिय श्रमिक वर्गको हृदयको ढुकढुकी बन्न सफल भएको छ । २०५२ साल फगुन १ गतेबाट आरम्भ भएको महान् जनयुद्धलाई खिसीट्युरी गर्दै एकाध महिनामै समाप्त पारिदिन्छौँ भन्ने तानाशाह र बुख्याँचाहरू इतिहासको गर्भमा विलीन भएको ताजा इतिहास हाम्रासामु टड्कारो छ । एकीकृत जनक्रान्तिलाई पनि केही दिनमै समाप्त पारिदिन्छौँ भनेर स्यालहुइँया गर्ने शासकहरूको दुरवस्था हिजोको भन्दा कारुणिक बन्दै गएको छ । हिजोको जनयुद्धका नायकहरूसमेत आज प्रतिक्रियावादी सत्ताको लगाम समातेर विद्रोह दबाउने षड्यन्त्र कार्यान्वयन छन् । तिनले जनक्रान्ति समाप्त पार्न हत्याअिभयान नै सञ्चालन गरे तर जनप्रतिरोध र योद्धाहरूको त्याग, समर्पण र बलिदानका कारण तिनको फासिवादी दमन हावा खुस्केको बेलुनजस्तो बनेको छ । तिनले नेकपा र मूलतः जनक्रान्तिमाथि लगाएको प्रतिबन्ध टिठलाग्दो बन्दै निष्प्रभावी भएर गएको छ । आज देशभर सयौँ स्थानमा महान् जनयुद्ध दिवस भव्यतापूर्वक मनाइँदैछ र लाखौँ जनसमुदाय, जनमुक्ति सेना, जनसत्ता एकीकृत जनक्रान्ति सफल पार्न र नेपालको भूमिबाट वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाका लागि चट्टानी दृढता, प्रतिबद्धता, समर्पण, त्याग र बलिदानको स्पिरिटसहित मैदानमा खडा छन् । त्यसैले देश, जनता, श्रमिक वर्ग र क्रान्तिकारी, मालेमावादीहरूका लागि २५ औँ जनयुद्ध दिवस भव्य उत्सव बनेको छ भने कायर, दलाल, संशोधनवादी, साम्राज्यवादीहरूका लागि मुटुको शूल बनेको छ । इतिहासका तिनै महान् विद्रोह, क्रान्ति, जनयुद्धहरूको भग्नावशेषबाट आज नेपाल कम्युनिस्ट पार्टी जन्मिएको छ र एकीकृत जनक्रान्ति सञ्चालन गर्दै देशभर र विदेशमा पनि २५ औँ जनयुद्ध दिवस मनाइरहेको छ । जनयुद्ध दिवस मनाइरहँदा सबै श्रमिक वर्गले नयाँ क्रान्तिलाई अँगाल्न र आत्मसात गर्न जरुरी छ । जनता र राष्ट्रलाई सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न जरुरी छ । २५ औँ जनयुद्ध दिवस र जनयुद्धको उत्तराधिकारी एकीकृत जनक्रान्ति लालसलाम ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :