आत्मसमर्पणविरुद्ध कारबाही

हामीले पार्टी शुद्धीकरणकै बीचमा हिरासतमा पर्ने र पर्नेबित्तिकै आत्मसमर्पण गर्ने कार्यकर्तालाई न्यूनतम् ६ महिनाको कारबाही गर्ने र आत्मसमर्पणको प्रकृति हेरी त्योभन्दा बढी पनि कारबाही गर्ने निर्णय गर्यौँ । यसबाट धेरै साथीहरू रुष्ट भएको देखापर्छ । सामाजिक दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने नेकपाको सरकारले गिरफ्तार परेका कार्यकर्ता र नेताहरूलाई आत्मसमर्पण गराउने र नैतिक पतन गराउने अनैतिक र फासिस्ट नीति अवलम्बन गर्यो । यद्यपि सरकारी नीति मानिसको नैतिकता, विचार र आदर्शमाथिको हत्या गर्ने रहेको प्रस्टै छ तथापि पलायनको बाटो समात्ने कतिपय नेता र कार्यकताहरूले त्यसको प्रतिवाद गर्न नसक्नु परिस्थितिको सामना गर्न असमर्थ हुनु हो । कुनै पनि समाजको हरेक नागरिककालागि आफ्नो समाज राम्रो हुनु पर्छ, विकशित हुनु पर्छ र त्यसकालागि उपर्युक्त प्रकारको राजनीतिक व्यवस्था हुनु पर्छ, र त्यस प्रकारको व्यवस्थाकालागि क्रियाशील हुनु पर्छ भन्ने नैसर्गिक अधिकार सुनिश्चित हुनु पर्छ र हुन्छ पनि । र समाजवाद जस्तो मानव जातिकालागि सबै भन्दा उन्नत समाज निर्माणकालागि अभियानमा रहेका नेता कार्यकर्ताको गिरफ्तार, नियन्त्रण र जेल फासिवादी शाशकहरूबाट हुने हर्कत हुन । जहाँ फासीवादी सासन चलेको हुन्छ त्यहाँ यस प्रकारको विचारहरूको बन्ध्याकरण गरिन्छ र जनताका यि नैसर्गिक अधिकारहरूको हत्या गरिन्छ, ।

देशको राष्ट्रियताको रक्षा गर, सत्तामा बसेर रक्षा गर्न सक्दैनौ भने सत्ता छाड भन्न पाउनु सम्पूर्ण नेपालीको नैसर्गिक अधिकार हो । देशमा भ्रष्टाचार, महँगी, चेली बेचबिखन, मिटर ब्याज गरी घरबास उजाड गर्ने काम बन्द गर, नसके सत्ता छाड भन्ने अधिकार सबै नेपालीको नैसर्गिक अधिकार हो । देशमा राष्ट्रको सम्पत्तिमाथि खेलबाड गर्ने, माथिल्लो कर्णाली, अरुण तीन, मस्र्याङ्दी, बूढीगण्डकीजस्ता देशका प्राकृतिक स्रोतहरूको बिक्री बन्द गर, त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर, जनताको आर्थिक उन्नतिको मेरुदण्ड बनाऊ, नसके सत्ता छाड भन्ने हरेक नागरिकको नैसर्गिक अधिकार हो । राज्यलाई कर तिर्नुपर्ने एनसेलजस्ता विदेशी माफियाहरूको घूस खाएर कर मिनाहा नगर, लाभअनुसारको कर असुल गर, सत्तामा बसेर यो काम गर्न नसक्ने हो भने सत्ता छाड भन्ने हरेक नागरिकको नैसर्गिक अधिकार हो । यसप्रकारको अधिकार के किसान, के मजदुर, के स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थी, के कर्मचारी, के सेना, के प्रहरी के राजनीतिक पार्टीका नेता–कार्यकर्ता, के अमीर, के भिखारी सबैको नैसर्गिक अधिकार हो र यसबारे सङ्घर्ष गर्नु सबैको समान जिम्मेवारी पनि हो । यसप्रकारका नाराहरू लगाउँदा, बोल्दा, राजनीतिक सभा–सङ्गठन गर्दा सरकारले गिरफ्तार गर्ने र जेलमा हाल्ने मात्र गरेन, विकृत समाजका सत्यहरू उजागर गरेबापत ५ लाखसम्म धरौटीको माग गरियो । अबआइन्दा यसप्रकारको काम गर्नेछैन भन्ने कबुलनामा बनाउने काम गरियो । यो मानिसको संवेदना, विचारमाथिको हत्या हो । अहिलेको सामाजिक दलाल पुँजीवादी पार्टी सबैभन्दा ठूलो हत्याराका रूपमा बदनाम भएको छ । यसप्रकारको सत्तासँग जब विचारको राजनीतिले काम गर्न छाड्छ, तब हतियार वा युद्धको राजनीति अगाडि आउँछ र फासिवादका आवश्यक ठेगानाहरूमाथि बम विस्फोट हुन पुग्छन् । यो पनि जनताको नैसर्गिक अधिकार हो ।

तर कम्युनिस्ट कार्यकर्ताहरूमा यो नैसर्गिक अधिकार प्राप्ति र स्थापित गर्नका लागि दृढतापूर्वक सङ्घर्ष गर्नेभन्दा पनि आत्मसमर्पण गर्ने, कागज गर्ने र निस्कने रुझान देखापर्यो । यो प्रवृत्तिलाई सबै कमरेडहरूले सच्याउन आवश्यक हुन्छ ।

अब प्रश्न आउँछ, बाहिर हुँदा क्रियाशील रहने कमरेडले सत्ताले गिरफ्तार गर्ने र हिरासतमा पुग्नेबित्तिकै किन आत्मसमर्पण गर्छ ? त्यसका पछाडिका कारणहरू यस्ता हुन सक्छन् : त्यसपछिको पहिलो कारण कार्यकर्ता र नेताहरू पनि माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक एवम् सैद्धान्तिक हतियारबाट सुसज्जित हुन नसक्नु हो । शुद्धीकरणको एउटा अभिप्राय कमरेडहरूलाई सैद्धान्तिक हतियारबाट सुसज्जित गर्नु हो । दोस्रो कारण हो– अवसरवाद । अवसरवादको कुरा के हो भने पार्टीको प्रतिष्ठा र ओज बेचेर कमाउ धन्दामा लाग्ने र गिरफ्तारीमा पर्नेबित्तिकै आत्मसमर्पण गरेर निस्कने । अनि जब पार्टीले अनुशासनको कारबाही गर्छ तब पार्टी छाडेर भागिहाल्ने किनकि उसका लागि अब पार्टी उपयोग गर्नका लागि एक कौडीको मूल्यबराबरको रहन्न । शुद्धीकरणको अर्को अभिप्राय यसप्रकारका कचरा पार्टीबाट हटाउनु र पार्टीलाई सफा र चुस्त गर्नु हो ।

आत्मसमर्पण गर्ने प्रवृत्ति बन्द गर्नुपर्छ । जसले त्यसप्रकारको कमजोरी गरेको छ उसले अनुशासनको पालना गर्नुपर्छ र उसले समाज र जनताको सुन्दर भविष्य निर्माण गर्ने अभियानमा समाहित हुनुपर्छ ।

पलायनको प्रभाव

खास–खास परिघटनाहरूले खासखास समयमा मानिसलाई भावनात्मक चोट पुर्याउने हुन्छन् । पछिल्लो समयमा पार्टीको जिम्मेवारपूर्ण पोलिटब्युरोमा पुगेका कमरेड जीवन्त र कमरेड गम्भीरले पार्टीबाट स्वतन्त्र भएको वक्तव्य सार्वजनिक गर्नुले एकप्रकारको चोट पुर्यायो । त्यस्तैगरी अन्य तमाम कमरेडहरूले पलायन हुने प्रवृत्ति देखाउनुले पनि चोट पुर्याउनु स्वाभाविक थियो । आमरूपमा हेर्ने हो भने पार्टीको नीति, क्रान्तिको उत्कृष्ट उद्देश्य, नेतृत्वको दृढता र जनताको सहभागितासहित यिनै नेता र कार्यकर्ताहरूको क्रान्तिप्रतिको प्रतिबद्धता देखेर पनि एकीकृत जनक्रान्तिको कार्यदिशामा करिब एक दर्जन योद्धाहरूको रगत बगेको छ । अहिलेसम्म हजारको वरपर कार्यकर्ताहरू गिरफ्तार भएका छन्, अहिले पनि अढाइ सयभन्दा बढी योद्धाहरू वीरतापूर्वक सङ्घर्ष गर्दै सरकारको हिरासत र बन्दी अवस्थामा छन् । दुस्मनका हरेक षड्यन्त्र र क्रान्ति निस्तेज गर्ने दलालहरूको योजना निष्फल गर्न, जेल र हिरासतका मोर्चाहरूमा तमाम नेता र कार्यकर्ताहरूले दृढताका साथ मुकाबिला गर्नुभएको छ । त्यो त्याग र बलिदानपूर्ण सङ्घर्षका अगाडि कमरेडहरूले स्वतन्त्र भएको जिकिर गर्नुभएको छ ।

जीवन्त र गम्भीरजस्ता कमरेडहरू भर्खर आन्दोलनमा लागेका होइनन्, सामान्य परिघटनाबाट प्रोत्साहित र दुरुत्साहित हुने स्तरका पनि होइनन् । कसैले कन्भिन्स गरेर एकीकृत जनक्रान्तिमा ल्याएका वा कुनै प्रलोभनमा परेर डोलायमान हुने पनि होइनन् । प्रचण्डसँगको भीषण वैचारिक सङ्घर्ष, किरणसँगको सम्बन्धविच्छेद हुँदै पार्टीको विकास र सङ्घर्षमा योगदान गरेका कमरेडहरूले एकाएक स्वतन्त्र हुने कुरा गर्नु ऐतिहासिक जिम्मेवारीप्रति गम्भीर नहुनु हो । हामीलाई आश्चर्य लाग्ने कुरा त के छ भने कतिपय कमरेडहरू क्रान्तिकारी काममा रहँदासम्म सामान्य रूपमा भए पनि क्रान्तिकारी काममा नै लागिरहने तर एमालेमा पतन भैसकेपछि एनजीओ र आईएनजीओको झोला बोकेर हिँड्ने गरेका छन् । उनीहरूले पार्टीमा रहँदा एनजीओ– आईएनजीओको साम्राज्यवादी ढाँचाको विरोध गरेका थिए र निश्चित रूपले आफ्नो कार्यक्षेत्रमा रहँदा सङ्घर्ष पनि गरेका थिए । तर जब उनीहरू एमालेमा पतन भए, उनीहरूले कुन सिद्धान्त, कुन राजनीति, कुन नैतिकतले पुनः त्यही साम्राज्यवादी संरचनाको झोला बोक्न सके ? यो अनैतिकता, अवसरवाद र वैचारिक पतनको पराकाष्टा देख्दा उदेक लाग्छ । क्रान्ति हारेको समयको मूल्याङ्कन गर्दै लेनिनले विश्लेषण गर्नुभएको थियो– रुसी राजनीतिमा नेताहरूको राजनीतिक कामलाई वेश्यावृत्तिले विस्थापित गरेको थियो । अहिले केही कमरेडहरूमा त्यही समस्या देखिएको त होइन भन्ने आभास हुन्छ ।

हुनत हामीलाई महान् जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षतविक्षत हुने कुराले निश्चय पनि मर्माहत बनाएकै छ । जीवनभरको रगत र पसिना, बुद्धि र वर्गत प्रचण्ड, किरण, बाबुराम, बादलजस्ता नेताहरूसँग क्रान्तिकारी सहयात्रामा टिमबद्ध भएर खर्च गरियो । देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र पनि ल्याइयो तर शान्तिप्रक्रियाको षड्यन्त्रबाट उनीहरूको संसद्वादमा भएको पलायन र जनवादी गणतन्त्रको जन्मलाई तुहाउने हर्कतले अहिले पनि मर्माहत बनाएकै हुन्छ । युद्धका बङ्करबाट असहज समयमा सूचना प्रवाह गर्ने प्रभाकर, युद्धमोर्चामा कहिल्यै नडग्ने पासाङजस्ता कमरेडहरू प्रतिक्रान्तिकारी तुफानमा बढारिएर संसद्वादको रसातलमा पुग्ने घटनाले पनि हामीलाई मर्माहत बनाएकै छ । तर उनीहरूको पतनको प्रश्न विचार र राजनीतिको विषय भएका कारण भीषण प्रकारको बहस भयो । पार्टीलाई एकताबद्ध गर्ने प्रयत्न पनि अत्यधिक भयो तर विचार र राजनीतिमा जतिसुकै नजिक र प्रिय नेताहरू भए पनि सम्झौता गर्न सकिँदैनथ्यो र भएन पनि । किनभने वर्गसङ्घर्ष र वैचारिक सङ्घर्षलाई अन्तरसम्बन्धित रूपमा हेर्नु र त्यसअनुसार व्यवहार गर्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हो । यसबाट प्रचण्ड, बाबुरामसहितका नेताहरूको संसद्वादमा भएको पलायनले नेपाली कम्युनिस्ट आन्दोलन र विश्व–कम्युनिस्ट आन्दोलनलाई जतिसुकै नोक्सान पुगे पनि त्यसको सामना गर्ने कुरा हुन्थ्यो र त्यो भई नै रहेको छ किनभने यो एउटा राजनीतिक डिस्कोर्स, राजनीतिक चुनौती र ऐतिहासिक चुनौती थियो ।

तर यो भीषण सङ्घर्षबाट आएका कमरेडहरूले एकाएक स्वतन्त्र हुने घोषणा गर्नु एकप्रकारले अनौठो, पीडादायक र जटिल विषय हो किनभने मानिसको प्रतिबद्धता परिस्थितिको अगाडि कसरी विसर्जित हुन्छ भन्ने उदाहरण यसले देखाउँछ र यसले यो पनि पुष्टि गर्छ– क्रान्तिकारी आन्दोलनको विकास गर्ने बाटोको महानता क्रान्तिबाहेक कहीँ पनि तुलना गर्न सकिँदैन । पार्टीमा क्रियाशील रहँदासम्म यिनै कमरेडहरूले आफ्नो बुताले भ्याएसम्म वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सांस्कृतिक क्षेत्रमा सङ्घर्ष गरेका हुन् । उनीहरूले पनि अनेक प्रकारका षड्न्त्रहरू चिर्दै, अनेक प्रकारका प्रलोभनहरू पन्छाउँदै देश र जनताको मुक्तिका लागि मृत्युवरण गर्नुपरे पनि तयार हुने प्रतिबद्धता गरेका पनि हुन् तर स्वतन्त्र हुने घोषणासँगै दक्षिणपन्थी संसदीय बाटो समाउने निष्कर्ष भयो भने स्थिति निश्चित रूपमा त्यही विकास हुनेछ जस्तो प्रचण्ड र बाबुरामहरूसँगको भयो ।

तर यहाँ पुनः त्यही प्रश्न आउँछ– के कुनै व्यक्ति पूर्ण रूपले स्वतन्त्र रहन सक्छ ? वर्गसमाजभित्र वा भविष्यमा बन्ने साम्यवादमा पनि कोही व्यक्ति स्वतन्त्र रहन सक्छ ? यसका विषयमा माथि नै चर्चा भैसकेको छ । कोही पनि मानिस स्वतन्त्र रहन सक्दैन । कोही पनि मानिस असंलग्न रहन सक्दैन । कि त कमरेडहरूले क्रान्तिकारी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक जिम्मेवारीमा समाहित हुनुपर्छ वा नेपालको दलाल पुँजीवादी सत्ताको सिकार बन्नु पर्नेछ । योभन्दा बाहिर स्वतन्त्रता हुन सक्दैन । विषयलाई यहाँ फेरि दोहोर्याउँदा त्यसप्रकारको स्वतन्त्रता केवल निर्जीव वस्तुमा मात्र सम्भव छ जो प्राकृतिक नियमअनुसार परिवर्तन र रूपान्तरण भैरहेको हुन्छ । मानिसले निरपेक्ष स्वतन्त्रता मृत्युवरण गरेपछि मात्र प्राप्त गर्न सक्छ । मानिस जीवित रहँदासम्म सामाजिक, दायित्व, राजनीतिक कार्य, इतिहासप्रतिको जिम्मेवारीबाट कहिल्यै स्वतन्त्र रहन सक्दैन । के कमरेडहरूले आफूलाई स्वतन्त्र भएको घोषणा गर्दा यी सैद्धान्तिक विषयमा ध्यान दिनुभएको छ ? हाम्रा क्रान्तिकारीहरूले स्वतन्त्र भएको घोषणा गर्दा दलाल पुँजीपतिहरू खुसीले गदगद हुन पुग्छन् किनकि स्वतन्त्र हुनु भनेको क्रान्तिकारीले एकप्रकारले राजनीतिक मृत्युवरण गर्नु हो । कमरेडहरूले यस विषयमा गम्भीर ध्यान दिनुहुनेछ । क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :