महिला सङ्गठनको आगामी कार्यभार

महिला सिर्जना र सभ्यताका वाहक हुन् । आधा आकाश, आधा धर्ती ओगट्ने ममताकी खानी र सृष्टिकर्ता हुन् । महिलाबिना एउटा घर अन्धकार बन्छ, एउटा बालक टुहुरो बन्छ । सिङ्गो समाज अपूरो बन्छ हामी कल्पना गरौँ महिलाहरूले बच्चा जन्माउन मात्र मनाही गरे भने के होला ? यसो भनौँ– महिलाबिना सिङ्गो सृष्टि नै वन्द हुन्छ । परन्तु महिलाहरूलाई आज शोषण–दमनको जालोमा कैद गरिएको छ । धार्मिक अतिवादीहरूले महिलाहरूको कमजोर चेतनाको फाइदा उठाएर घुम्टो र बुर्काहरूमा छोपेर पिँजडाको चराजस्तै कैद गरेका छन् । पुँजीवादी सत्ताले विश्वभरिका महिलाहरूलाई विश्वबजारमा नङ्ग्याएर खुलमखुला मोलतोल गरिरहेको छ । वैधानिक रूपमै वेश्यालयहरू खोलेर पुँजीवादले महिलाहरूलाई विशालबजारको मालजस्तै रूपान्तरण गरेको छ । मूल्य तोकिएको छ । किनबेच चलिरहेको छ । नेपालमा सामाजिक दलाल फासिवादी सरकारले महिलाहरूलाई राजनीतिक, आर्थिक र सामाजिक उत्पीडन लादेको छ जसका कारण समाजले पनि महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छ र त्यहीअनुसारको व्यवहार गरेर महिलाहरूलाई अझ कमजोर बनाउने काम गरिरहेको छ । त्यही कमजोर चेतनाको फाइदा उठाएर मानवतस्करहरूले खाडी मुलुकहरूमा सस्तो श्रममा बेचिरहेका छन् । दिन–प्रतिदिन महिलाहरूको यातना, बलात्कार, हत्या भएका खबरहरू आइरहेका छन् । यतिसम्मको क्रूर, बर्बर, जङ्गली यातनाद्वारा हत्या गरेका छन् । शिर छेदन गरिएको हुन्छ । हातखुट्टा अलग पारिएको हुन्छ । स्तन काटिएको हुन्छ । हेर्दा पनि मनै जिरिङ्ग हुने यी सबै घटनामा सरकार मूकदर्शकजस्तो छ । कही वोल्दैन, बरु म्यानपावरका नाममा जथाभाबी खोलिएका मानवतस्करहरूलाई संरक्षण गर्दछ ।

नेपालमा जनयुद्ध चलिरहेको बेला महिलाको यति बिचल्ली थिएन । महिलाहरू धमाधम पूर्णकालीन कार्यकर्ता भएका थिए । जनसेनामा भर्ती भएका थिए । समाजमा महिला हिंसाका घटनाहरू पनि समाप्तजस्तै भएको थियो । जब मुख्य नेतृत्वमा आएको विचलनले क्रान्तिमा प्रतिक्रान्ति भयो त्यसको सबैभन्दा बढी असर महिलाहरूमा पर्न गयो । जब हाम्रो पार्टीको पुनर्गठन भयो प्रतिक्रान्तिका असरहरू बिस्तारै हल हुँदै गएका छन् । फेरि महिलाहरूमा नयाँ उत्साह पैदा भएको छ । एकीकृत जनक्रान्तिमा महिलाहरूको सहभागिता हेर्दा निराशाबाट आशावादी बनाएको छ । सेना, सत्ता, जवस र पार्टीमा भएको उत्साहजनक महिला सहभागिताले हामी सबैलाई नयाँ जोस भरिदिएको छ । नेपाली मौलिकता र विशेषताअनुसारको नयाँ क्रान्तिको बाटो एकीकृत जनक्रान्तिको कार्यदिशा हाम्रो हातमा परेको छ । यसलाई पूर्णता दिन हामी सम्पूर्ण उत्पीडित वर्गको प्रमुख जिम्मेवारी भइसकेको छ । महिलाहरूका यी तमाम समस्याको समाधान सानोतिनो आन्दोलनले होइन, ठूलै क्रान्ति आवश्यक छ । नेपालमा एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापनासँग हाम्रो मुक्ति जोडिएकाले आगामी दिनमा हाम्रा भूमिका र क्रियाशीलताहरूलाई नयाँ उचाइमा उठाउन जरुरी छ । यो लेखमा महिला सङ्गठनको आगामी कार्यभारका बारेमा चर्चा गरिएको छ ।

पहिलो कार्यभार भनेको देशैभर उत्पीडनमा परेका महिलाहरूलाई सङ्गठित गर्नु हो । कुनै पनि कार्य गर्नका लागि सङ्गठित शक्ति चाहिन्छ । अझ अधिकार र महिलाको मुक्तिका लागि सफलता प्राप्त गर्न सङ्गठन अनिवार्यजस्तै हुन्छ । सही कार्यदिशा, शासनव्यवस्था, नेतृत्व र विचार मात्र भएर हुँदैन, कार्यदिशालाई कार्यान्वयन गरी व्यवस्था स्थापना गर्न र सही नेतृत्व गरेर विचारलाई भौतिक तागतमा रूपान्तरण गर्न पनि सबल र सक्षम सङ्गठन चाहिन्छ । महिलाहरूमा भएको उत्पीडन हटाउन सबैले सक्दैनन् किनकि तिनीहरूसँग खराबीका विरुद्ध जमेर लड्ने सक्षम सङ्गठन छैन । पछिल्लोपटक हाम्रो सङ्गठनका अध्यक्ष र महासचिवलाई नै दलाल सरकारले गिरफ्तार गरेर जेलमा हालेकाले सङ्गठनात्मक कामको योजनामा केही अवरोध भए पनि अहिले त्यो समस्या हल भैसकेको छ र केन्द्रदेखि स्थानीय स्तरसम्म सङ्गठनको कामलाई अझ सशक्त पार्न जरुरी भैसकेको छ ।

दोस्रो कार्यभार भनेको देशैभर सङ्गठित महिलाहरूलाई वैचारिक प्रशिक्षण दिएर वैचारिक क्षमताको विकास गर्नु हो । वर्ग के हो ? उत्पीडनको अन्त्य कसरी हुन्छ ? एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद, माक्र्सवादी विचार, अर्थशास्त्रका बारेमा निपुणता प्राप्त गर्नु पर्दछ । वास्तवमा विचारबिनाको सङ्गठन प्राणबिनाको शरीरजस्तो हुन्छ भने सङ्गठनबिनाको विचार सफल हुँदैन । हामीले देशैभर महिला सङ्गठन विस्तार गर्यौँ तर वैचारिक प्रशिक्षण दिन सकेका छैनौँ जसका कारण महिलाहरू सङ्गठनभन्दा व्यक्तिगत काममा बढी सक्रिय देखिने, सम्पर्कविहीन हुने, सङ्गठनबाट पलायन हुने, विभिन्न बहानाबाजी गर्ने समस्याहरू प्रशिक्षणकै कमीले हो । सङ्गठन विस्तारसँगै वैचारिक प्रशिक्षणलाई तीव्र पार्न जरुरी छ ।

तेस्रो कार्यभार भनेको केन्द्रदेखि स्थानीय स्तरसम्म सङ्घर्ष सञ्चान गर्नु हो । सङ्गठनलाई गतिशील बनाउन सङ्घर्ष सञ्चालन गर्न जरुरी हुन्छ । नेपालमा महिलाहरू मूलतः राजनीतिक, आर्थिक र सामाजिक उत्पीडनमा परेका छन् । राजनीतिक रूपमा दलाल फासिवादी सत्ताले अनेकौँ तर्कहरू गरे पनि महिलाहरूलाई विलासिता र मनोरञ्जनको साधनका रूपमा व्यवहार गरिरहेको छ । राजनीतिक रूपमा आएको यो प्रवृत्तिविरुद्ध हाम्रो सङ्गठनले सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । दलाल सत्ताले हालसम्म महिलाहरूलाई आर्थिक अधिकार दिएको छैन । सामान्य श्रममा समेत पुरुषको भन्दा कम ज्याला दिइन्छ । पैतृक सम्पत्तिमाथि अधिकार छैन । आर्थिक सङ्कटको फाइदा उठाएर देहव्यापारमा लगाउने, घरेलु हिंसा गर्ने, अन्धविश्वास, बोक्सीको आरोपमा कुटपिट गर्ने, बलात्कारदेखि हत्यासम्म गर्ने कामले सिङ्गो मानवसमाजमा लज्जा र घृणाको विषय बनेको छ । यसका विरुद्ध पनि सङ्गठनले सङ्घर्ष सञ्चालन गर्न जरुरी छ ।

महिलामाथि सामाजिक उत्पीडन पनि चलिरहेको छ । समाजमा महिलाहरूलाई पुरुषसमान व्यावहार गर्न तयार नहुने, दोस्रो दर्जाको नागरिक ठान्ने मानसिकता अझै छ । पूरै अन्धविश्वासमा आधारित बोक्सीको आरोपमा सामाजिक रूपमै कुटपिट गर्ने प्रचलन अझै छ । सामूहिक बलात्कार गर्दा वा सामाजिक रूपमै पारिवारिक हिंसा हुँदासमेत कुनै अपराध नठान्ने संस्कार यहाँको समाजमा छ । यसका विरुद्ध पनि हाम्रो सङ्गठनले सङ्घर्ष सञ्चालन गर्न जरुरी छ ।

चौथो र अन्तिम कार्यभार भनेको पार्टीले थालेको एकीकृत जनक्रान्तिमा महिलाहरूलाई उच्च मनोबलका साथ सहभागी गराउनु हो । सेना, जवस, जनसत्ता र पार्टीको मुख्य जिम्मेवारीमा रहेर महिलाहरू साहसका साथ सहभागी बन्न तयार हुनुपर्छ । केन्द्रदेखि स्थानीय स्तरसम्म महिलाहरूलाई जिम्मेवारी दिन र लिन कुनै कन्जुस्याइँ गर्नु हुँदैन । महिला कार्यकर्ता आफैँले मुख्य जिम्मेवारी निर्वाह गर्न सकिँदैन कि भन्ने कमजोर मानसिकता त्यागेर लाग्न जरुरी छ । महिला नेताहरूले एकपटक आफैँतिर फर्केर आफैँलाई रूपान्तरण गर्दै आफू र सङ्गठनलाई नयाँ उचाइमा पु¥याउन सक्यौँ भने हामीले नेपालमा क्रान्तिलाई पूर्णता प्रदान गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सक्छाैँ । वैज्ञानिक समाजवादी व्यवस्थाले नै आमउत्पीडित महिलाहरूलाई मु्क्त पार्न सक्छ । जनयुद्धमा पनि हाम्रो महिला सङ्गठनको अधिक पहलमा महिलाहरूलाई क्रान्तिमा बढीभन्दा बढी सहभागी गराएका थियौँ । एकीकृत जनक्रान्तिमा पनि बढीभन्दा बढी महिलाहरू सहभागी गराउन हाम्रो महिला सङ्गठनले बढी मेहनत गर्न जरुरी छ । यो मुख्य कार्यभार हाम्रो सङ्गठनले पूरा गर्नुपर्छ

अन्त्यमा वास्तवमै यो सत्ता दलाल फासिवादी सत्ता हो । यो सत्ताले महिला, श्रमिक वर्गको मुक्ति गर्दैन । त्यसैले उत्पीडित वर्गको विरोधी यो दलाल फासिवादी व्यवस्थालाई मिल्काउन सबै महिला फेरि एकपटक जाग्न जरुरी छ । महिलाहरूको वास्तविक मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था जरुरी छ । वैज्ञानिक समाजवादमा महिला–पुरुषबीच समान अधिकार हुन्छ । महिलाहरूलाई बुद्धि, क्षमता, श्रम चेतनाको अवसर प्रदान गर्दछ । सामाजिक, राजनितिक, आर्थिक रूपमा समान अधिकार कायम गर्दछ । दासत्व र घरेलु हिंसाबाट महिलालाई मुक्त मात्र गर्दैन, स्वतन्त्र र स्वावलम्बी बनाउँछ । समाजमा विद्यमान महिलाविरोधी दाइजोप्रथा, कुरीति र कुसंस्कार जरैदेखि उखेल्छ । सम्पत्तिमा समान हक प्रदान गर्छ । सम्बन्ध कायम राख्ने वा विच्छेद गर्ने सम्पूर्ण अधिकार महिलालाई प्रदान गर्दछ । लैङ्गिक भिन्नताबाहेक अरू सबैमा पुरुषसरह अधिकार प्रदान गरी महिलाहरूलाई सबल र सक्षम नागरिकका रूपमा स्थापित गर्दछ । एकीकृत जनक्रान्तिबिना वैज्ञानिक समाजवाद सम्भव छैन । वैज्ञानिक समाजवादबिना महिलाको मुक्ति सम्भव छैन । त्यसैले वैज्ञानिक समाजवाद प्राप्तिका लागि गाउँ र सहरका सवै महिलाहरूलाई एकीकृत जनक्रान्तिमा सहभागी गराउन सबैले आआफ्नो तह र तप्काबाट मेहनत गर्नुपर्दछ । सबै महिलाहरूलाई क्रान्तिले माग गरेको त्याग, समर्पण र बलिदानका लागि तयार पार्न जरुरी छ । यो आवश्यकता पूर्ति गर्नु हाम्रो सङ्गठनको आगामी कार्यभार हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :