चुनाव विरुद्ध देशव्यापी जनकार्वाही तीव्र/दर्जनौं ठाउँमा बम विष्फोट/सयौँ पक्राउ

GROUP PIC

अम्बिका चन्द/काठमाडौं/असार १५ : स्थानीय निकायको निर्वाचन बहिस्कार तथा खारेजी अभियानमा रहेकाहरूले देशव्यापी रूपमा राज्यलाई चेतावनीस्वरूप जनकार्वाहीहरू सम्पन्न गरेका छन् र बम विष्फोटहरू गराएका छन्; जसबाट देशभरि दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । निर्वाचनको मुखैमा कपिलवस्तुमा ९ जना घाइते हुनेगरी बम विष्फोट भएको घटना सेलाउन नपाउँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–३, सोमनाथ पुलमा शक्तिशाली बम विष्फोट भयो । विष्फोटमा परी माओवादी केन्द्रका ५ कार्यकर्ता घाइते भए । कांग्रेस, एमाले र माओवादी गरी तीन ठूला दलको चुनावी ¥याली भइरहेको बेला उक्त विष्फोट भएको थियो । तीन दलले छुट्टाछुट्टै चुनावी ¥याली निकालेको बेला माओवादी कार्यकर्ता चढेको बस लक्षित विष्फोट भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ३ बजेतिर गराइएको बम विष्फोटनपछि सुनवल क्षेत्रको जनजीवन निकै त्रसित बनेको थियो भने केहीबेर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । दिउँसो बम विष्फोटको घटना भएपछि प्रहरीले राती सुनवल क्षेत्रमा अप्रेसन गरेको छ । जिल्लाको मध्यविन्दुबाट पुस्तक पसले दुर्गा बस्याललाई पक्राउ गरेको छ । भुमही सहकारी चोकमा रहेको भएको छैन । आफ्नै पसलबाट वस्याललाई पक्राउ गरेको हो । त्यस्तै सिद्धिमान खडका र धनबहादुर कुमाललाई पनि खड्काको घरबाट पक्राउ गरेको छ । उता शनिबार कैलालीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको स्थान नजिकै बम विष्फोट भएको थियो । माओवादी केन्द्रकै नेता लेखराज भट्टको अत्तरियास्थित घरमा प्रचण्ड बसिरहेको बेला सोही पार्टीका गोदावरी नगरपालिकाका मेयर पदका उम्मेद्वार तथा ठेकेदार गोकर्ण भट्टको घरमा बम विष्फोट भएको हो । विष्फोटको कारण भट्टको घरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको कैलाली प्रहरीले बताएको छ । माओवादी केन्द्रका नेता उनै लेखराज भट्टका भाइसमेत रहेका गोकर्ण भट्ट ठेकेदारीसँगसँगै विभिन्न खालका धन्दा र तस्करीमा संलग्न रहेकोले चुनाव खारेजीको निशानामा परेको हुनसक्ने अनुमान गरिएको छ । जनयुद्धकालमा सुरक्षित हुन माओवादीबाट एमालेमा प्रवेश गरेका भट्ट त्यहाँका ठूला धनाढ्य पनि हुन् ।

स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेद्वार बनेकाहरू पनि चुनाव खारेजीको निशानामा परेका छन् । आइतबार बिहान कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेद्वार गोपाल हमालको घरमा चुनाव खारेजी अभियानमा रहेकाहरूले कालो झन्डा गाडेको बताइएको छ । उद्योग बाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेका कुख्यात व्यापारी हमालले जनताका विरुद्ध प्रतिगमनकारी गतिविधि गरेकोले कार्वाहीस्वरूप घरमा कालो झन्डा गाडिएको नेकपा स्रोतले बताएको छ । आइतबार बिहान कञ्चनपुरमा एमाले उम्मेद्वार कर्ण हमालको घर लक्षित बम विष्फोट भएको छ । कृष्णनगर नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार बनेका हमालको ४ नं वडास्थित घर छेउमा उक्त विष्फोट भएको हो । यस्तै, शुक्लाफाँटा नगरपालिकाका उम्मेद्वारको घरमा बम फेला परेको छ । बम कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार बनेका दिलबहादुर ऐरको घरमा भेटिएको हो ।  सुदूरपश्चिमको बैतडीमा आइतबार नै उम्मेद्वार हरूका घरहरूमा कालो झन्डा गाडिए । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेद्वारका घरमा कालो झन्डा गाडिएका हुन् ।

पूर्व मेचीको झापामा नेपाली कांग्रेसका उम्मेद्वार स्थानीयको लखेटाइमा परेका छन् । पाथामारी गाउँपालिकाका मेयर पदका उम्मेद्वार कालेन्द्र राजवंशीले गाउँमा मतदातालाई पैसा बाँडिरहेको बेला स्थानीय जनताको अगुवाईमा नेकपा समर्थित युवाहरूले लखेटेका हुन् । चुनावी आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गरी पैसा बाँडेकोले लखेट्नुपरेको क्रान्तिकारी जनपरिषद् झापाले जनाएको छ । राप्तीको दाङमा चुनाव खारेजी अभियानमा रहेका युवा र स्थानीय जनताले तीन ठूला पार्टीका चुनाव प्रचारमा प्रयोग गरिएका गाडीहरू तोडफोड गरिएका छन् । जिल्लाको व्यापारिक केन्द्र तुलसीपुरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रयोग गरेका गाडीहरूमा तोडफोड गरेका हुन् । तोडफोडको कारण तीनवटा गाडी क्षतिग्रस्त बनेका छन् । चुनाव खारेजी अभियानमा रहेका स्थानीय युवाहरूले गाडीमा तोडफोड गरेको हुन सक्ने नेकपा, दाङले जनाएको छ ।

शनिबार बाराको सिमरा उपमहानगरपालिका थापाचोकमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्ट्रक्सनको बा १ ख ७१३४ नम्बरको ट्रिपरमा आगजनी गरिएको छ । निर्माण व्यावसायीको ठूलो रकम हिनामिना गरेकोले आगजनी गरिएको बताइएको छ । लगत्तै आइतबार पर्सा, वीरगन्ज पावरहाउसस्थित चौधरी गु्रपको मेघा उलन कारखाना परिसरको मोटर ग्यारेजमा गरिएको आगजनीबाट चार करोडभन्दा बढीको क्षति भएको छ । यस्तै मोरङको बुढीगंगा १, टङ्केसिनवारीस्थित भारतीय लगानीको कारखाना आरती इन्टरनेसनल लिमिटेडमा बम विष्फोट भएको छ भने आइतबार विराटनगरमा रहेको निर्वाचन कार्यालयमा बम विष्फोट भएको छ । विष्फोटबाट कार्यालयको भवनमा क्षति पुगेको छ । विराटनगरमै डिग्री साइन्स क्याम्पस नजिक शक्तिशाली बम विष्फोट भएको छ । कानेपोखरी गाउँपालिकाका एमालेका अध्यक्ष पदका उम्मेद्वार ताराप्रसाद काफ्लेको घरमा बम भेटिएको छ भने उर्लाबारीमा मेयरपदका खड्कप्रसाद फागूको घरमा बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।

देशव्यापी गिरफ्तारी
चुनाव खारेजी अभियानको नीति लिएको नेकपा र उसका विभिन्न जनवर्गीय संगठनका कार्यकर्तालाई शान्तिसुरक्षामा वाधा पुग्ने भन्दै देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । धेरैजसोलाई आफ्नै घरमा बसिरहेको र व्यक्तिगत काममा हिँडिरहेको बेला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । यसैबीच अनेम संघ (क्रान्तिकारी)की केन्द्रीय सचिव इन्दिरा मिश्र ‘रचना’ लाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मोरङबाट मिश्रसँगै नेकपाका जिल्ला सदस्य दीपक राईलाई पनि पक्राउ गरिएको छ । पक्राउको विरोधमा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द र महासचिव धिरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ले संयुक्त विज्ञप्ति जारी गर्दै बिनाशर्त रिहाइको माग गर्नुभएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम् महाकाली संयोजक विष्णुप्रसाद उपाध्यायलाई गिरफ्तार गरिएको छ । आइतबार बिहान कञ्चनपुरको शुक्लाफाँटा र दैजीको बीचमा पर्ने अर्जुनी ब्यारेकस्थित नेपाली सेनाको इन्ट्री– पोस्टले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । व्यक्तिगत कामको सिलसिलामा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा उपाध्यायलाई पक्राउ गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

झापा जनपरिषद् प्रमुख सुमनसिंह पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई सोमबार बिहान जिल्लाको विर्तामोडबाट पक्राउ गरेको हो । व्यक्तिगत काममा हिँडिरहेको बेला निर्वाचन विरोधी पोस्टर टाँसेको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ । यसअघि पनि नेकपाका झापा इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ लगायतहरूलाई पक्राउ गरी हिरासतमा राखेको छ । नेकपाका सेती ब्युरो सदस्य विवेक कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । डोटी जिल्ला इन्चार्जसमेत रहेका कुमाललाई पार्टी काममा हिँडिरहेको बेला बीपीनगरबाट पक्राउ गरिएको नेकपा, डोटीले जनाएको छ । 

पाँचथरबाट नेकपाका ५ जना जिल्लास्तरका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विजय नेम्वाङ, कविराज लिम्बु, जितबहादुर लिम्बु, अमर परियार र विशाल लिम्बु रहेका छन् । उनीहरू सबैजनालाई प्रहरीले घर–घरमा पुगेर पक्राउ गरेको हो । आफ्ना नेता–कार्यकर्तालाई बिनाकारण पक्राउ गरेको भन्दै नेकपा, पाँचथरले बिनाशर्त रिहाइको माग गरेको छ ।  महाकाली ब्युरो सदस्य एवम् दार्चुला सेक्रेटरी रमेश नेपाली ‘जीवन’ लाई कांग्रेसका ठेकेदारको सुराकीमा प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । पार्टीका महाकाली इन्चार्ज सम्झना घर्तीले एक विज्ञप्ति जारी गर्दै बैतडीमा नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका मेयर पदका उम्मेद्वार इन्द्रबहादुर ऐरले मजदुरको ज्यालाको विषयमा कुरा गर्नु छ भनी फोन गरेर बोलाई नेपालीलाई गिरफ्तार गर्न लगाएको बताउनुभएको छ । ठेकेदार तथा निर्माण व्यवसायीसमेत रहेका ऐरले कञ्चनपुर घर भएका नेपालीलाई असार ५ गते बैतडीको सतबाँझबाट गिरफ्तार गर्न लगाएको नेकपा महाकाली ब्युरोको आरोप छ ।

भेरीको बर्दियामा नेकपाका जिल्ला सदस्य चन्द्रवीर विक र अर्का समर्थक खुमलाल गिरी पक्राउ परेका छन् । शुक्रबार बिहान आफ्नै घरमा बसिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेकपा बर्दियाले जनाएको छ । बर्दिया सेक्रेटरी युद्धले एक विज्ञप्ति जारी गरी प्रहरीले बिना–कारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाइको माग गर्नुभएको छ । स्मरणीय छ, यसअघि पनि बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारीसहितको टोलीलाई प्रक्राउ गरी हिरासतमा राखिएको छ ।
यस्तै, कञ्चनपुरबाट अखिल (क्रान्तिकारी)का जिल्ला स–सचिव गौरव धामीलाई प्रहरीले पक्राउ गरेको छ । धामीलाई शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका बजारबाट पक्राउ गरिएको हो । व्यक्तिगत कामले बजारमा हिँडिरहेको बेला प्रहरीले बिनाकारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी)ले बिनाशर्त रिहाइको माग गरेको छ ।  

ताप्लेजुङ जनपरिषद् प्रमुख विजय लिम्बु र फेम्बु लिम्बुलाई पक्राउ गरिएको छ । दुवैजनालाई घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउको विषयलाई लिएर जिल्ला इन्चार्ज आशीषले विज्ञप्ति जारी गर्दै बिनाशर्त रिहाइको माग गर्नुभएको छ ।  यसैगरी मंगलबार अपरान्ह नेकपा, मकवानपुर इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ र सोमबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच मंगलबार अपरान्ह नारायणी व्यूरो इञ्चार्ज चिरन पुनले एक विज्ञप्ति जारी गर्दै विरबहादुर घलान ‘ ज्वाला’ को रिहाईको माग गर्नुभएको छ । यता धनगढीबाट प्राप्त समाचारअनुसार १२ गते राती १० बजे बेवारिसे वस्तु पन्छाउन खोज्दा अचानक विष्फोट भई नेकपा कञ्चनपुरका जिल्ला नेता चन्द्रबहादुर सेन ‘सनराइज’ को दुःखद निधन भएको खबर प्राप्त भएको छ । सेती–महाकाली ब्युरोले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँलाई सहिद घोषणा गरेको छ ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :