नेकपा निकट युवा संगठनद्वारा देशभरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपालले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मङ्गलबार देशका विभिन्न ठाउँमा ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

दाङ जिल्लामा युवा संगठनका केन्द्रीय सदस्य विरेन्द्रको अध्यक्षतामा भएको अन्तरक्रिया नेकपाका दाङ जिल्ला सेक्रेटरी भगवानदासको प्रमुख आतिथ्य तथा युवा संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज अनिलको विशेष आतिथ्यमा भएको कार्यक्रममा विभिन्न राजनीतिक संगठन र सामाजिक संगठनहरूका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ने.वि.संघका राप्ती बबई क्याम्पसका कमल खत्री, अनेरास्ववियु दाङ जिल्ला सदस्य सि. एम. विश्वकर्मा, राष्ट्रिय प्रशिक्षक सन्दीप भुसाल, अन्तर्राष्ट्रिय रोल्पाली समाजका अध्यक्ष सन्दीप थापा, लायन्स क्लब तुलसीपुरका सचिव भागवत घिमिरे लगायत स्थानीय समाजसेवी तथा युवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रियतामाथिको वैदेशिक हस्तक्षेप र राज्यको गलत र जनविरोधी गतिविधिको विरुद्धमा सबै सचेत युवाहरू कार्यगत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । वक्ताहरूले तत्काल देखिएको राष्ट्रिय समस्या सिमा अतिक्रमण र एमसिसिको चर्को विरोध गर्दै खारेजीको लागि संघर्ष गर्न एकताबद्ध हुने समेत बताएका थिए । कार्यक्रमको सञ्चालन युवा संगठन दाङका अध्यक्ष विराटले गरेका थिए ।

त्यसैगरी युवा संगठन नेपाल कैलालीले पनि केन्द्रीय कार्यक्रम अनुसार ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख वक्ताका रुपमा सेती–महाकाली ब्युरो सदस्य तर्कराजले देशको विभिन्न भागमा भइरहेको सिमा अतिक्रमण भारतीय हस्तक्षेप, एमसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्नेमा जोड दिए ।

युवा संगठन नेपालका कैलाली जिल्ला अध्यक्ष महेन्द्रले नेपाली राष्ट्रियमाथि साम्राज्यवादी शक्तिलगायत विदेशी तत्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउदै गइरहेको र यस्ता क्रियाकलापहरु रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन युवाहरुले भूमिका खेल्नु पर्ने समय आएको बताए ।

त्यसैगरी युवा संगठन नेपाल कञ्चनपुरले बेदकोट नगर क्षेत्रमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रियता, स्वाभिमान रक्षाकालागि युवाको भूमिका प्रमुख हुने बताएका छन् । ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले राष्ट्रियता रक्षाकालागि युवाको अहम भूमिका हुने बताएका हुन् ।

कार्यक्रममा सहभागी युवा, विद्यार्थी, बुद्धिजीवि, नेताहरुले कालापानीसहित देशका विभिन्न भागमा भइरहेको सिमा अतिक्रमण भारतीय हस्तक्षेप, एमसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधिनतासँग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्ने बताए ।

प्रमुख अथितिसमेत रहेका नेकपा कञ्चनपुरका सचिवालय सदस्य विक्रमले राष्ट्रियताका लागि युवाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहनु पर्नेमा जोड दिए । युवा संगठन कञ्चनपुरका अध्यक्ष मनमोहन जोशीले नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी शक्ति लगायतका विदेशी तत्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउने विषय अघि सारेकाले त्यसमा युवा चनाखो हुनुपर्ने उल्लेख गरे ।

त्यसैगरी युवा संगठन, नेपाल राैतहट  जिल्लाले पनि विभिन्न राजनीतिक संगठन र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथितिमा ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ ।

त्यसैगरी युवा संगठन, नेपाल अछामले पनि केन्द्रीय कार्यक्रम अनुसार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख वक्ताका रुपमा संगठनका केन्द्रीय सदस्य विजय तथा कालिका माविका प्राचार्य धर्म साउँद, स्वास्थ्य विभाग इन्चार्ज बलबहादुर बुढा थिए ।

त्यसैगरी युवा संगठन नेपाल बाँकेले पनि अन्तरक्रिया सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष दिपेशको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख वक्ता दीप, नेकपाका बाँके सचिव सुनिल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका केन्द्रीय महामन्त्री विजय काफ्ले, समाजवादी विद्यार्थी युनियनका ५ नं. प्रदेश संयोजक संगम पोख्रेल, सत्तारुढ नेकपाका प्रतिनिधि वाशु शर्माको आतिथ्यता रहेको थियो ।
सहभागी वक्ताहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको भारतीय अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सम्पूर्ण युवा विद्यार्थीहरु एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी भेरी–कणाली ब्युरो अन्तर्गत विशेष जिल्लाले पनि ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संगठन नेपाल जाजरकोटले पनि ‘नेपाली राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्य व्यवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम नलगाड नगरपालिकाको वडा नम्बर –५ सिर्केमा गरेको छ ।

देशैभरीको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक संगठन र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :