कैलालीमा माघी मिलन तथा अन्तरक्रिया कार्यक्रम

कैलाली : राष्ट्रिय थारू मुक्तिमोर्चा केन्द्रीय समितिको आयोजनामा कैलालीको घोडाघोडीमा माघी मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पश्चिम कञ्चनपुरदेखि चितवनसम्मका थारू नेताहरू जमघट भएर समसामयिक राजनीतिक परिस्थिति, थारू चाडपर्व, संस्कृतिको जगेर्ना र थारू नेताहरूको नेतृत्व विकास र रक्षाका विषयमा छलफल भएको थियो ।

राष्ट्रिय थारू मुक्तिमोर्चाका अध्यक्ष सङ्घप्रसाद थारूको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरोका इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरूले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनीहरुले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान पनि गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले एकीकृत जनक्रान्तिमार्फत ल्याइने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र समानता, आत्मसम्मान र स्वाभिमानसहितको थारूहरूको पहिचानलाई स्थापित गर्ने बताए ।

उनले भने, ‘सामन्तवादले थारूहरूलाई शोषण र उत्पीडन गर्यो । पुँजीवादले विभेद र व्यापार गर्दैछ तर समाजवादले समानता, आत्मसम्मान र स्वाभिमानसहितको सङ्घीयता लागू गर्नेछ ।’

अहिलेका राज्य सञ्चालकहरूको कमजोरीको फाइदा उठाउँदै नेपालमा हरेक ठाउँमा विदेशी हस्तक्षेप बढिरहेको र त्यसैको उदाहरण पछिल्लो एमसीसी आएको उनले बताए । एउटा सैन्य हस्तक्षेप गर्ने, अर्को प्राकृतिक स्रोतको दोहन गर्ने उद्देश्यले आएको एमसीसी सदनबाट पारित भएमा औपचारिक रूपमै अमेरिकाको सैन्य हस्तक्षेप हटाउन नसकिने धारणा उनले राखे ।

राष्ट्रिय थारू मुक्ति मोर्चाका अध्यक्ष सङ्घप्रसाद थारूले थारू मुक्ति र प्रगतिका लागि सबै थारूहरू एकजुट भएर आफ्नो पहिचान र स्वायत्त शासन प्राप्तिका लागि निरन्तर सङ्घर्षमा भाग लिई अगाडि बढ्नुपर्नेबताए । वैज्ञानिक समाजवादमा मात्रै उत्पीडित जाति, उत्पीडित क्षेत्र, वर्ग र लिङ्गको समस्या सम्बोधन भएको हुनाले नेकपाले अगाडि सारेको बाटोमा काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

थारूवान स्वायत्त प्रदेशका मुख्यमन्त्री रामबहादुर चौधरीले सङ्घीयतासहितको स्वायत्त शासनका लागि आफूहरुसँगसँगै पार्टी पनि स्पष्ट हुनुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीबाट विभिन्न जिल्लामा सेक्रेटरी रहेका थारू नेताहरू, मोर्चाका केन्द्रीय पदाधिकारीहरू, थारू बुद्धिजीवीलगायतले आआफ्नो जिल्लाको रिपोर्ट राखेका थिए ।

माघी पर्वका अवसरमा स्थानीय संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमका साथै मघौटा नाच, सख्या नाच र मुङ्ग्रौवा नाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :