एकातिर घिनलाग्दो आत्मसमर्पण अर्कातिर रहरलाग्दो दृढता

आन्दोलन, विद्रोह, युद्ध र क्रान्तिहरूमा स्वाभाविकै रूपमा क्रान्तिकारी केन्द्रीकरणसँगै पलायन–आत्मसमर्पणको क्रम पनि चलिरहेको हुन्छ । क्रान्तिभित्रै प्रतिक्रान्ति हुर्किरहेको हुन्छ वा क्रान्तिकारी शक्तिभित्रै अवसरवादी र विलचनकारी प्रवृत्ति पनि मौलाइरहेको हुन्छ भन्ने कुरा द्वन्द्ववादको नियम हो र हाम्रो सन्दर्भमा पनि शाश्वत् सत्य हो । नेपालका मात्र होइन, संसारकै क्रान्तिकारी आन्दोलनहरूमा एकातिर विद्रोह, युद्ध र क्रान्तिको रहरलाग्दो उभार आइरहेको हुन्छ भने केही आत्मसमर्पणवादीहरू विभिन्न बहाना बनाएर भागिरहेका हुन्छन् । क्रान्तिमाथि जब प्रतिक्रियावादी शासकहरूको क्रूरता बढिरहेको हुन्छ त्यतिबेला आत्मरक्षाका कारण कैयौँ मै हुँ भन्ने व्यक्ति र नेताहरू पनि पलायनको बाटो रोज्न थाल्छन् । सतिसाल मात्र जस्तोसुकै हावाहुरी र हुन्डरीहरूलाई पचाएर ठिङ्ग उभिन सक्छ । ससाना झारपातहरू त हावाका ससाना झोक्कामै ढल्न थाल्छन् र सोत्राम्मे हुन्छन् । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पनि यस्तो प्रवृत्ति देखिन्छ । क्रान्ति जब विजयको मुखतिर अघि बढ्छ त्यतिबेला हिजो भागेकाहरू पनि विभिन्न बहाना बनाउँदै नजिक हुन थाल्छन् । क्रान्तिको आँधीबेहरीले फोहोर, कसिङ्गर र सुकेका झारपातहरूलाई डढाउँदै अघि बढेपछि त्यसको प्रवाह, गति, राप र ताप कसैले रोक्न सक्तैन ।

यतिबेला नेपालको राजनीतिक आन्दोलनमा पनि त्यस्तै भएको छ । प्रचण्ड–बाबुराम– बादललगायत जनयुद्धका केही नेताहरूले अवसरवाद, संशोधानवाद, पलायन, दलाली, गद्दारी र वैचारिक/राष्ट्रिय आत्मसमर्पणको बाटो रोजेपछि कैयौँ आत्मरक्षावादीहरू क्रान्तिकारी आशावादमाथि तुसारो पार्ने षड्यन्त्र गर्दै दलाल सत्ताको टाङमुनि छिर्न पुगे र क्रान्तिकारी आन्दोलनलाई हिजो जहानियाँ राणातन्त्रले, सामन्ती राजतन्त्रले, राजतन्त्रका पछुवाहरूले, काङ्ग्रेसले र एमालेले भनेजस्तै अराजकता, आतङ्क भन्न थाले । प्रचण्ड–बाबुरामहरूको पलायनपछि नेकपाले गरेको विद्रोह र उसले सञ्चालन गरेको एकीकृत जनक्रान्तिबाट तर्सिएर यतिबेला प्रचण्डहरू केपी वलीहरूसँग मिलेर नेकपामाथि प्रतिबन्ध लगाइरहेका छन् र क्रान्तिकारीहरूलाई गोली हानेर हत्या गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाको माग गर्दै भ्रष्टाचारीहरूका विरुद्ध सङ्घर्ष गर्ने पार्टीका योद्धाहरूलाई अनाहक झूट्टा मुद्दा लगाएर गिरफ्तार गर्ने, जेल हाल्ने, हिरासतमा यातना दिने प्रतिगामी कार्य गरिरहेका छन् । हिरासत र जेलमा राखिएका नेता–कार्यकर्तालाई यातना दिने, तर्साउने, धम्क्याउने, प्रलोभन दिनेजस्ता अराजनीतिक र घृणित कार्य गरिरहेका छन् । कयौँ कमजोर पात्रहरूलाई किनेर र केही बुख्याँचाहरूलाई क्रान्तिको ज्वारभाटाविरुद्ध बकबक गर्न लगाएर उनीहरू बेकारको तुष्टि लिइरहेका छन् । केही पात्रहरूको पलायन, आत्मसमर्पण, दलाली, गद्दारीलाई बहाना बनाएर प्रचण्ड नामका आत्मसमर्पणकारीहरू अब क्रान्तिकारीहरू पनि क्रमशः यही पलायनको बाटोमा आउनेछन् भनेर हदैसम्मको कलाविहीन नाटक र निम्नकोटीको प्रहसन गरिरहेका छन् । उनीहरूको यस्तो हर्कत देख्दा लाग्छ, इतिहासले यतिबेला फेरि कति भद्दा प्रहसन गरिरहेको छ !

माओले एक सन्दर्भमा भन्नुभएको थियो– प्रतिक्रियावादीहरू आफू नसकिउन्जेलसम्म गल्ती दोहो¥याइरहन्छन् । हुन पनि इतिहासले यो साबित गरिसकेको छ । हिजो सामन्ती राजतन्त्रले जनयुद्ध लडिरहेका माओवादी नेताहरूको टाउकाको मूल्य तोकेको थियो र काङ्ग्रेस नामका दलाल पुँजीवादी र सामन्तवादका अनयुयायीहरू झोलाभरि नेकपा (माओवादी) का नेताहरूको टाउको ल्याउन र झोलाभरि नै पैसा लैजान ऐलान गरिरहेका थिए । त्यतिबेला केही सामान्य, कमजोर आत्मबल भएका र भगौडाहरूलाई देखाएर तत्कालीन शासकहरू भन्थे– लौ हेर, अब माओवादी आतङ्ककारीहरूले आत्मसमर्पण गर्न थाले । जनयुद्ध केही दिनमै सकिन्छ र प्रचण्ड–बाबुरामहरूले पनि आत्मसमर्पण गर्छन्…आदि । त्यतिबेलासम्म प्रचण्ड–बाबुरामहरूले मालेमावाद छोडेका थिएनन् । उनीहरूको मनमा दलाली, गद्दारी र पलायनले घर गरिसकेको थिएन । त्यसैले उनीहरूले तत्कालीन सत्ताको ऐलानलाई दुत्कारे । जनयुद्धले जनताको अपार माया पाइरह्यो र युद्ध अघि बढिरह्यो ।

दुःख र विडम्बनाको कुरा, हिजोको सत्ताले टाउकाको मोल तोकेका तिनै प्रचण्ड र बादलहरू आज प्रतिगामी, दलाल सत्तामा बिकेका छन्, त्यसको संरक्षक बनेका छन् र नेकपाका केही आत्मरक्षावादी, पलायनवादी, घुसपैठिया तत्वहरूलाई किनेर, प्रलोभन दिएर बुख्याँचा बनाएर उभ्याउँछन् र हिजोकै शैलीमा भन्छन्– अब नेकपा सकिन लाग्यो । यसका मुख्य नेतृत्व पनि यहीँ आउँछन्… । नेपाली समाजमा एउटा महिला र अझ विशेषगरी एकल महिलाविरोधी उखान वा भनाइ चलनचल्तीमा छ– बिधुवाले अरूलाई आशीष दिँदा मनमनले मजस्तै भएस् भन्छन् रे । यतिबेला प्रचण्डहरूको वैचारिक, राजनीतिक पतन भइसकेको छ । उनीहरूको हाल समाजले चरम हपहेलना गरेकी समाजकी एकल महिला वा बिधुवाको जस्तो छ । महिलालाई समाजले दोस्रो दर्जामा राखेर जानीजानी हपहेलना गरेको थियो । प्रचण्ड–बाबुरामहरूले हिजो प्रतिक्रियावादी घोषणा गरेका तत्वभित्रै आत्मसमर्पण गरेकाले सहिद, बेपत्ता योद्धा परिवार र जनताका दृष्टिमा उनीहरू अत्यन्त घृणित छन् । जुन विचार, सत्ता र व्यवस्थालाई ढाल्न भनेर हिजो उनीहरूले जनयुद्धको नेतृत्व गरेका थिए, हजारौँ योद्धाको बलिदान भएको थियो आज त्यही विचार, सत्ता र व्यवस्थामा अर्थात् दलाल पुँजीवादी सत्ताको रछ्यानमा फोहोरी कीराझैँ भुनभुनाइरहेका छन् । वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मात्र होइन, उनीहरूको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रले मुलुकको अस्तित्व नै कतिबेला समाप्त हुने हो भन्ने खतरा उत्पन्न भइरहेको छ । यस्तो समयमा नेपालमा नेकपा एउटा मात्र त्यस्तो शक्ति हो जसले सञ्चालन गरेको राष्ट्रियता, जनतन्त्र र जनीविकाको रक्षा र भ्रष्टाचार, दलाली, आत्मसमर्पणका विरुद्धको सङ्घर्ष अर्थात् वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गर्ने एकीकृत जनक्रान्ति हेरेर र लामबद्ध भएर जनता र क्रान्तिकारी शक्तिले आशाको पल बिताइरहेका छन् र सुख र शान्तिको सास फेर्न सकिरहेका छन् । यस्तो अवस्थामा प्रचण्डहरूले केही भगौडाहरूलाई किनेर, लोभ्याएर र त्रास देखाएर नेकपाविरुद्ध बोल्न लगाउनु र आत्मसमर्पण गर्न लगाउनु अनि नेकपा पनि आखिर यही बाटोमा आउनुपर्छ, आउँछ भन्नुजस्तो भद्दा प्रहसन र घिनलाग्दो हर्कत अरू के हुनसक्छ ? यो राजनीतिक बेइमानी मात्र होइन, निन्दनीय, खेदजन्य र प्रतिकारयोग्य कदम हो । नेपाली जनता र क्रान्तिकारी शक्तिले यसको राम्रो जबाफ एकीकृत जनक्रान्तिको माध्यमबाट दिइरहेका छन् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :