देशैभर २५ औँ जनयुद्ध दिवस मनाउँदै नेकपा, काठमाडौँमा विशाल जनसभा गर्ने तयारी

काठमाडौँ : फरक राजनीतिक विचार र कार्यदिशा अघि सारैकै कारण राज्यको प्रतिबन्ध बेहोरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ ।

जनयुद्ध दिवसका अवसरमा देशैभर खुला कार्यक्रम र काठमाडौँमा केन्द्रित ठूलो जनसभा आयोजना गरिने भएको छ । नेकपाका नेताहरू खुला सार्वजनिक कार्यक्रममा सहभागी नभइरहेको अवस्थामा नेकपाले काठमाडाैँमा खुला जनसभा गर्ने र उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

नेपाली जनताले भोगेको सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्ति पाउनका लागि तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएर सशस्त्र जनयुद्ध सञ्चालन गरेको २४ वर्ष पूरा भएर २५ वर्ष लागेको अवसरमा २५ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपाले २५ औँ जनयुद्ध दिवस मनाउन लागिएको नेकपा स्रोतले जनाएको हो । जनयुद्ध लडेर आएको माओवादीको एउटा धोकेबाज नेतृत्व महान् सहिदहरूको रगत लतपतिएको रक्तरञ्जित झन्डा फालेर संसद्वादमा पतन भएपछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अघि सार्दै पृथक् रूपमा जनयुद्ध जारी राखेको भन्दै हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

नेकपाका नेताहरूले दुनियाँ बदल्ने महान् जनयुद्ध सर्वहारा वर्गको रगतले लेखिएको गौरवपूर्ण इतिहास भएको बताउँदै यसलाई एकीकृत जनक्रान्तिसँग जोडेर विजयको इतिहास कायम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनयुद्धको तयारीस्वरूप २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले देशका मुख्य ३ ठाउँमा फौजी आक्रमण गरी जनयुद्धको विधिवत् आरम्भ गरेको थियो । त्यसमध्ये रुकुम आठबीसकोट प्रहरीचौकी आक्रमण र कब्जाको नेतृत्व हाल विप्लव नेतृत्वको नेकपाका नेता सुदर्शन र गणेशमान पुनले गरेका थिए । उक्त चौकी आक्रमणका योजनाकार तथा कमिसार सुदर्शन हाल राजद्रोहको मुद्दामा नख्खु काराकागारमा बन्दी छन् । यस्तै रोल्पाको होलेरीमा नन्दबहादुर पुन ‘पासाङ’ र वर्षमान पुन ‘अनन्त’ को नेतृत्वमा आक्रमण गरिएको थियो । यस्तै हाल सरकारी नेकपाका नेता हरिबोल गजुरेल ‘शीतलकुमार’ नेतृत्वको छापामार दस्ताले सिन्धुलीको सिन्धुलीगढीमा रहेको चौकी कब्जा गरेको थियो । यी तीन प्रहरी चौकी आक्रमण गरेर तत्कालीन माओवादीले सशस्त्र जनयुद्धको सुरुआत गरेको थियो । जनयुद्ध दिवसका अवसरमा नेकपाले सहिद परिवार भेटघाट, अभिनन्दन, सहिद सप्ताहलगायत कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :