पत्रकार चापागाईंको गिरफ्तारी जनआवाजमाथि सुनियोजित आक्रमण

केपी वली सरकार र रामबहादुर थापा गृह प्रशासनले रातो खबर प्रकाशन गृहमाथि पुनः आक्रमण गर्दै रातो खबर साप्ताहिकका प्रबन्धनिर्देशक एवम् पत्रकार भीमप्रसाद चापागाईंलाई बिनाकारण गिरफ्तार गरेर यही व्यवस्था र सरकारले सुनिश्चित गरेको भनिएको प्रेस स्वतन्त्रता वा वाक् स्वतन्त्रताको प्रावधानको खिल्ली उडाएको छ । रातो खबर प्रकाशन गृह र रातो खबर साप्ताहिक सरकारको यस किसिमको निरङ्कुश, स्वेच्छाचारी, निन्दनीय हर्कतको तीव्र निन्दा, घृणा र आक्रोश व्यक्त गर्दै अविलम्ब, बिनासर्त चापागाईंको रिहाइको माग गर्दछन् र सरकारलाई आत्मालोचना गर्न सुझाव दिन्छन् ।

रातो खबर प्रकाशन गृह, रातो खबर साप्ताहिक र गृहका अन्य प्रकाशन– प्रसारणमाध्यमहरू यही सरकारले ‘समाजवाद उन्मुख’ भनेको संविधानअनुसार दर्ता भएर सञ्चालन हुँदै आएका संस्था र सञ्चारमाध्यम हुन् । कथित लोकतन्त्रवादीहरूले जनताका असहमतिका स्वरहरूलाई स्थान दिइने बताउँदै आएका छन् तर उनीहरूका देखाउने र लुकाउने दाँत भिन्नाभिन्नै हुन्छन् भन्ने पछिल्लो उदाहरण आइतबार बिनाकारण गरिएको चापागाईंको गिरफ्तारी हो । चापागाईंलाई आस्थाकै आधारमा गिरफ्तार गरिएको छ र कथित अभद्र व्यवहारको पुर्जी थमाइएको छ । देश र जनताको आवाज बोल्दा ‘अभद्र व्यवहार’ हुने र हिरासत पुर्याइने यो निन्दनीय कार्यको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ ।

नेकपामाथि प्रतिबन्ध लगाइएपछिका ११ महिनामा आस्थामाथि गरिएको यो पहिलो आक्रमण भने होइन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आवाज उठाएकै आरोपमा नेकपामाथि प्रतिबन्ध लगाइएको छ भने नेकपाका हजारौँ नेता– कार्यकर्ता जेल र हिरासतमा बन्दी छन् । रातो खबर प्रकाशन गृहले देश, जनता र श्रमिक वर्गको सच्चा प्रतिनिधि सञ्चारमाध्यमका रूपमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई प्रमुख स्थान दिएको छ र सरकारले जति दमन गरे पनि दिई नै रहनेछ । यो हाम्रो आस्था, निष्ठा र प्रतिबद्धता हो । हाम्रो यही प्रतिबद्धताको फलस्वरूप आज केपी वली–पुष्पकमल दाहाल–रामबहादुर गृहप्रशासनले देश र श्रमिक जनताको ‘मुखपत्र’ र आस्थाको केन्द्र रातो खबरमाथि आक्रमण गरेको छ र जनताको मुख बन्द गर्ने धृष्टता गरेको छ । दलाल र तानाशाही सत्ताका यस्तैखाले चरित्रबारे सम्बोधन गर्दै स्रष्टा सहिद इच्छुकले जनयुद्धताका एउटा कवितामा लेखेका थिए :

मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए ! मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनका विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार गर्न किन नपाउनू ?

संसद्को विकास तथा प्रविधि समितिले व्यापक जनविरोधलाई उपेक्षा गर्दै यसै साता सूचना प्रविधिसम्बन्धी विधेयक पारित गरेको छ । शासकहरूलाई आफूमाथि आलोचना र व्यङ्ग्य गरिएको लाग्नेबित्तिक्कै प्रहार गर्न सजिलो हुने गरी यो निरङ्कुश विधेयक पारित गरिएको हो । उता संसद्को समितिले यस्तो निरङ्कुश विधेयक पारित गर्नु र यता जनताको आवाज रातो खबरमाथि प्रहार र आक्रमण हुनु संयोग मात्र होइन, सरकारको फासिवादी चरित्रको द्योतक हो । बहुमतको फोस्रो दम्भ र आडम्बरमा सरकारले सबै प्रतिपक्षी र विरोधीहरूको मुख थुन्ने धृष्टता गरेको छ । यो अत्यन्त खेदजनक छ । अब अभिव्यक्ति स्वतन्त्रतामाथि सत्तारूपी काल पल्केको छ । यसले क्रमशः सबै विपक्षी र विरोधीहरूलाई निल्नेछ । यसको कडा रूपमा प्रतिवाद हुनु जरुरी छ । सत्ताको यस्तै फासिवादी चरित्र र अवस्थालाई चित्रण गर्दै कुनै समयमा कवि मार्टिन निमोरले लेखेका थिए :

पहिले उनीहरू समाजवादीलाई लिन आए
म बोलिनँ
किनकि
म समाजवादी थिइनँ
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिनँ
किनकि
म ट्रेड युनियनकर्मी थिइनँ
उनीहरू जुजलाई लिन आए
म बोलिनँ
किनकि
म जुज थिइनँ
जब उनीहरू मलाई लिन आए
मेरा लागि बोल्न बाँकी कोही थिएन ।

वली सरकारले विभिन्न बहानामा सञ्चार जगत्को तेजोबध गर्ने र विद्रोहका आवाजहरूलाई समाप्त पार्ने तानाशाही कदम चालेर देश र जनतामाथि गम्भीर षड्यन्त्र गरिरहेको छ । निरङ्कुश तथा जहानिया शासन राणाकालमा सत्ताप्रति आलोचना र व्यङ्ग्य गरेको आरोपमा मकैको खेती पुस्तकका लेखक सुब्बा कृष्णलाल अधिकारीलाई चन्द्रशमशेरले जेल हालेका थिए । शाह खान्दानले सञ्चालन गरेको राजतन्त्र नामको निरङ्कुश शासनमा त अभिव्यक्ति स्वतन्त्रता कुन चराको नाउँ हो, जनताले महसुस गर्नै पाएनन् । राजाको प्रत्यक्ष नेतृत्व रहेको पञ्चायतकाल अभिव्यक्ति स्वतन्त्रतालगायत सबै क्षेत्रका लागि कालरात्री नै थियो । जनयुद्धकालमा राजतन्त्र, संसदीय शासक र शाही शासकहरूले विद्रोहको स्वर उराल्नेहरूमाथि अराष्ट्रिय तत्व र आतङ्कवादीको बिल्ला नै भिराएर दमन गरे । जनयुद्धकालमा जनादेश, जनदिशालगायत सबै विद्रोही सञ्चारमाध्यमको मुख मात्र बन्द गरिएन, कयौँ पत्रकारको हत्या गरियो, कयौँलाई बेपत्ता पारियो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :