सरकारले युद्धमा धकेल्न खोजेको दलित मुक्ति मोर्चाको निष्कर्ष

‘गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध’


काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले सरकारले आफ्नो मोर्चाका नेता–कार्यकर्ता र नेकपाका नेता–कार्यकर्तालाई हत्या, गिरफ्तार र झूट्टा मुद्दा लगाएर देशलाई युद्धमा धकेल्न खोजेको निष्कर्ष निकालेको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै मोर्चाका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् ।

विश्वकर्माको विज्ञप्तिमा गिरफ्तारीको जानकारी दिँदै भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सगरमाथा क्षेत्रीय संयोजक त्रिलोचन विश्वकर्मालगायत युवा सङ्गठनका नेताहरूलाई यही पुस ६ गते काठमाडौँबाट सङ्गठनको कामको सिलसिलामा यो सामाजिक फासिवादी केपी–पीके सरकारले गिरफ्तार गरेको छ । यसैगरी पुस ७ गते मोर्चाका केन्द्रीय सदस्य एवम् सेती–महाकाली क्षेत्रीय संयोजक टेकबहादुर विकलाई कैलाली जिल्ला घोडाघोडी नगरपालिका ८ बाट गिरफ्तार गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केपी–बादल प्रशासनले हाम्रो पार्टी र जवस मोर्चाका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, हत्या गर्ने, गोली हान्नुका साथै राजनीतिक आस्थाकै आधारमा मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासका पक्षमा नरहेर जबर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई प्रोत्साहन दिन लागेको स्पष्टै छ । केपी सरकारको यस्तो रबैयाको हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ र उहाँहरूलाई तत्काल ससम्मान रिहा गर्न जोडदार माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दलाली, भ्रष्टाचार, महँगी एवम् बालुवाटार, यती समूह जग्गाकाण्डजस्ता काण्डैकाण्डबाट बदनाम केपी सरकार नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्धले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपले नाङ्गिएर चौतर्फी घेराबन्दीमा परेको छ । सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी र जनपक्षीय शक्तिहरूलाई वली सरकारको यस्तो देश र जनताविरोधी रबैयाका विरुद्ध एकजुट भै प्रतिरोधमा उत्रिन हामी हार्दिक आह्वान गर्दछौँ । यो सरकारले हाम्रा मोर्चाका नेता त्रिलोचन विश्वकर्मा, टेकबहादुर विकलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई बिनासर्त ससम्मान रिहा नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् यो सरकार हुनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :