चुनावभन्दा रोपाईंको रौनक

kisanकाठमाडौं/असार १४ : पहिलो चरणको चुनावको तुलनामा दोस्रो चरणको चुनावले आम मतदातालाई अझ विकर्षण गरेको छ । संसदीय राजनीतिलाई आफ्नो आदर्श बनाएका घरानाका संचार र बहुराष्ट्रिय निगमको चारामा बाँचेकाहरूले नै ‘चुनावमा भन्दा रोपाईंमा व्यस्त’ भन्ने प्रकृतिका समाचार संप्रेषण गर्न वाध्य भए । संसदीय व्यवस्थाको स्थानीय तहको दोस्रो चरणको चुनाव घोषणा भएलगत्तै सो चुनावको विपक्षमा खारेजी अभियान चलाइरहेको नेकपाले सो अभियानलाई अझै सशक्त बनायो । चुनाव बहिष्कारको क्रममा नागरिकको ज्यानसमेत गइसकेको, दर्जनौं घाइते भएको र करोडौंको सम्पत्तिमा क्षति पुगेको छ । त्यसप्रकारका घटनाहरूलाई आधार बनाएर सरकारले नेकपाका सयौं नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । त्यसमध्ये कयौंलाई झुठा मुद्दा लगाएको छ । आशंकाकै भरमा वा नेकपाप्रति समर्थन गरेकै भरमा सामान्य समर्थक र जनताको ठूलो पङ्क्तिलाई गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

अर्कोतिर मधेसकेन्द्रित दल राजपा दोस्रो चरणको चुनावमा सहभागी भएन । उसलाई फुटाउन गलाउन र कमजोर पार्न सफल भए पनि सरकारले मधेसको असन्तुष्ट पक्षलाई चुनावमा ल्याउन सकेन । संसदीय व्यवस्थाभित्रकै शक्तिलाई समेत अलग थलग गरेर–पारेर भएको चुनावले जनतालाई थप निराशा र आक्रोशित बनाएको छ । यो निराशा र आक्रोश कुनै पनि समय विद्रोहका रूपमा सल्कन सक्ने समाज विज्ञानका विश्लेषकहरूको अनुमान र चिन्ता रहेको छ । त्यसैगरी पहिलो चरणको चुनावमा जितिएका भनिएका प्रतिनिधिहरूको भ्रष्टाचार सुरु गरिसकेका छन् । त्यसले जनता ‘जुन जोगी आए’नि कानै चिरेका’ भन्ने उखानको स्मरण गराएको छ । र, संसदीय लुटेराहरूमध्ये जुन आएपनि देश र जनता लुट्ने र विदेशी दलाली गर्ने त हुन् भन्ने परेको छ । त्यसकारण जनतामा दोस्रो चरणको चुनावप्रति थप निराशा पैदा भएको अवस्था छ ।

‘कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैँ मध्य मनसुन पारेर चुनाव घोषणा गरिएको थियो । जेठ २७ गतेबाट नेपालमा मनसुन सुरु हुन्छ भन्ने थाहा हुँदाहुँदै जल तथा मौसम पूर्वानुमान शाखालाई समेत झूठो बक्न लगाएर असार १४ गते वर्षा नहुने प्रचार गर्दै चुनाव घोषणा गरिएको थियो । प्राविधक विषय र सरकारी कर्मचारीहरूलाई समेत चुनावी स्वार्थमा दुरूपयोग गरेर बदनाम गरिएको थियो । यसले सम्पूर्ण सरकारी कर्मचारीप्रति नै अविश्वास पैदा भएको छ । दल तथा मौसम पूर्वानुमान शाखाले असार १४ गते कतिपय स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरेको छ । घरमा लाश भएपनि पन्छाएर खेतीपातीमा लाग्नुपर्छ भन्ने समय हो किसानका लागि । ‘मानो खाएर मुरी उब्जाउने’ समय हो यो । सारा किसानहरू रोपाईमा व्यस्त भएका छन् । ग्रामीण भेगमा दिनभरि मान्छे घरमा होइन, खेत पाखामा हुन्छन् । रातीमात्र मान्छेहरू घ गाउँमा आइपुग्छन् । असार १४ को चुनाव जनताका लागि मानसिक दबाबको विषय समेत बन्न गएको छ । त्यसैले ग्रामीण भेगमा चुनावको भन्दा रोपाइको रौनक देखिन्छ । रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :