नेकपाद्वारा दैलेख ठाँटीकाँध गाउँपालिका अध्यक्ष शाही गिरफ्तार

पार्टीमाथिको प्रतिबन्ध, हत्या, गिरफ्तारी र दमन तत्काल बन्द गर्न चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर हत्या, गिरफ्तारी, दमन, राष्ट्रघात बढाएकोा भन्दै दैलेख जिल्ला ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई पुस ५ गते गिरफ्तार गरेको जनाएको छ । पार्टीका भेरी–कर्णाली इन्चार्ज रविले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन् ।

इन्चार्ज रविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रान्तिबाट स्थापित भएको संशोधनवादको प्रतिवाद गर्दै नेपालमा अधुरो क्रान्तिलाई पूरा गर्ने वैज्ञानिक समाजवादको स्थापनार्थ गठन भएको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि राष्ट्रघात, भ्रष्टाचारी र कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । केपी वलीको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टी स्थापना भएदेखि निरन्तर दमन, हत्या, आतङ्क, गिरफ्तार गर्दै पार्टी र जनतामाथि राज्यआतङ्कको राज गर्दै आएको सर्वविदितै छ ।’

गिरफ्तारी पुष्टि गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो केवल आफ्नो असफलतामा पर्दा हाल्नेबाहेक अरू केही होइन । एकीकृत जनक्रान्तिको विकास दलालहरूको दमन जनघाती प्रतिरोधको चक्रक्रम बढिरहेकै अवस्थामा पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता, कार्यकर्ता र जनताको बिनासर्त रिहाइ, हत्या, जनआतङ्क र दमनको प्रतिरोधस्वरूप हाम्रो पार्टीले दैलेख जिल्ला ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई हिजो पुस ५ गते गिरफ्तार गरेको छ ।’

शाहीले गरेको अपराधबारे विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिसन खाएको व्यापक जनगुनासो र पार्टीविरोधी गतिविधि गरेकाले पार्टीको निर्देशनमा जनमुक्ति सेनाको नेतृत्वमा नियन्त्रणमा लिई आवश्यक छानबिनसहित सकुशल राखिएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘शाहीद्वारा गरिएको भ्रष्टाचारको असुली गराउन र बिनासर्त देशव्यापी हाम्रो पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न जोडदार माग गर्दछौंँ । हाम्रो मागलाई बेवास्ता गरी फेरि दमन र गिरफ्तारी गर्न खोजेमा सामाजिक फासिवादी केपी सरकारका विरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :