नेकपा कार्यकर्ताले तोडे प्रहरीको घेरा


झापा : नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् दमक नगर सेक्रेटरी सुवास राई र युवा सङ्गठनका जिल्ला सदस्य पुकार लामा प्रहरीको घेरा तोड्दै मुक्त भएका छन् ।

झापा जिल्ला अदालतको आदेशमा प्रतिव्यक्ति तीस हजारका दरले धरौटी बुझाएर निस्कने क्रममा बिहीबार उनीहरुलाई प्रहरीले पुनः गिरफ्तार गर्न खोजेको थियो तर व्यापक जनसमर्थनका कारण नेकपाका नेताहरु घेरा तोड्न सफल भएको जानकारी आफन्तले दिएका छन् ।

प्रहरीले देशभर नेकपाका कार्यकर्तालाई छुट्नेबित्तिकै अन्य मुद्दा लगाएर पुनः गिरफ्तार गर्ने गरेको छ तर झापामा भने नेकपाका दुवैजना कार्यकर्ता एकैपटक घेरा तोड्न सफल भएका छन् ।

गत साउन २० गते झापाको दमकस्थित बेलडाँगीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो। साउन १४ र १५ गते झापाका दमक, भद्रपुर, अर्जुनधारा, कमल गाउँपालिकालगायत स्थानमा एनसेलको टावरमाथि भएको आक्रमणमा संलग्न भएको झूट्टा आरोप लगाउँदै नेकपाका कार्यकर्तालाई तीव्र रूपमा खोजी गरेर प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो । उनीहरुलाई एनसेल टावरमा बम विस्फोट गराएको आरोप लगाउँदै प्रहरीले मुद्दा चलाएर कारागार पठाएको थियो ।

एनसेलले राज्यलाई तिर्नुपर्ने सत्तरी अर्बभन्दा बढी कर नतिरेको भन्दै नेकपाले देशैभर एनसेल टावरमा कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :