नेता दीपेश र सुरेन्द्रलाई बेपत्ता बनाएकोमा नेकपाको गम्भीर चेतावनी

‘नेता–कार्यकर्ताको घर खानतलासी गरी आतङ्कित बनाउने कार्य बन्द गर’


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले पार्टीका नेता दीपेश र सगरमाथा ब्युरो सदस्य एवम् उदयपुर जिल्ला पार्टी सेक्रेटरी सुरेन्द्र थापालाई उदयपुर कटारी नगरपालिकाको वडा नं. ७ रिस्कुबाट गैरन्यायिक तरिकाले गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै सरकारलाई चेतावनी दिएको छ । ब्युरो इन्चार्ज अनुभव क्रान्तिले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा यतिबेला केपी–प्रचण्डको दलाल संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताको सार्वभौमिकता र समृद्धिको बाधकका रूपमा अगुवाइ गरिरहेको छ । जनताको अग्रगामी शक्तिका रूपमा रहेको जनताको जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनपक्षीय एजेन्डाहरूसहित लडिरहेको सर्वविदितै छ । जनपक्षीय एजेन्डाहरूबाट अत्तालिएको सामाजिक दलाल पुँजीवादी सत्ता गिरफ्तारी, धरपकड, हत्या–आतङ्क र बलात्कारसम्म पुगेर जनताको न्यायपूर्ण आवाजलाई बन्देज गर्ने दुस्साहस गरिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा हाम्रो पार्टीको साङ्गठनिक कामको सिलसिलामा खटिरहँदा मिति २०७६ पुस १ गते बिहान हाम्रो पार्टीका नेता कमरेड दीपेश र सगरमाथा ब्युरो सदस्य एवम् उदयपुर जिल्ला पार्टी सेक्रेटरी कमरेड सुरेन्द्र थापालाई उदयपुर कटारी नगरपालिकाको वडा नं. ७ रिस्कुबाट गैरन्यायिक तरिकाले गिरफ्तार गरी बेपत्ता बनाएको घटनाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनतालाई भ्रम छरेर विभिन्न बहानामा हाम्रो पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तक जनताको घर खानतलासी गरी आतङ्कित बनाउने कार्यले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ । सरकारको उक्त रबैयाको सगरमाथा ब्युरो घोर भत्र्सना गर्दछ र जनतामा थोपरिएको श्वेतआतङ्क तत्काल बन्द गर्नसमेत अनुरोध गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश र जनताको प्रगतिको बाधक नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति नभई दलाल पुँजीवादी संसदीय व्यवस्था हो । अहिले जनता र हाम्रो लडाइँ तिनै दलालहरूसँग हो । दलालहरूको संरक्षण गरी आफ्नो वर्गका विरुद्ध नजान सम्पूर्ण सुरक्षा निकायका मित्रहरूलाई अपिल गर्दै बिनाकारण गैरन्यायिक गिरफ्तार गरेर बेपत्ता बनाइएका नेता–कार्यकर्ताहरूलाई सार्वजनिक गरी सम्पूर्ण बन्दीहरूलाई बिनासर्त रिहा गर्न अनुरोधका साथ देशलाई थप झडप र हिंसातिर जान नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मा लिन यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :