साम्राज्यवादी हस्तक्षेपविरुद्ध सङ्घर्षमा उत्रिएका नेता–कार्यकर्ता रिहा नगरे कडा सङ्घर्ष गर्छौं : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका र पर्चा, पम्प्लेट टाँस्दै गरेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको भन्दै तत्काल बिनासर्त रिहा नगरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

इन्चार्ज र सेक्रेटरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी विगत लामो समयदेखि जनताका आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार) को पूर्ण ग्यारेन्टी गर्ने उद्देश्यका साथ कठिन तथा चुनौतीपूर्ण सङ्घर्षमा होमिइरहेको यहाँहरू सबैलाई अवगत नै भइरहेको छ । भ्रष्ट, दलाल केपी–पीके गिरोहको कम्पनी सरकारले राष्ट्रघात, जनघात, दलाली र भ्रष्टाचारका विरुद्ध शान्तिपूर्ण सङ्घर्ष गर्दै गर्दा विगत नौ महिनादेखि हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाई सयौँ नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकसमेतलाई गिरफ्तार गरी झूट्टामुद्दा लगाएर जेल र हिरासतमा राखी मानसिक यातनासमेत दिने गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सोही सिलसिलामा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतको ३७२ वर्गकिलोमिटर भूमि भारतीय साम्राज्यवादले अतिक्रमण गरी नक्साङ्कन गरेको विरोधमा यही मङ्सिर ७ गते बेलुका पम्प्लेट र पर्चा टाँसेको आरोपमा भूपेन्द्र र सन्दीप खड्का, मङ्सिर ८ गते बिहान लक्ष्मण सिंह र १० गते दार्चुलाको खलङ्गाबाट विद्यार्थी सङ्गठनका केन्द्रीय नेता तिलक कुँवरलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएकोप्रति हाम्रो पार्टी घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा चेतावनी दिँदै भनिएको छ, ‘गिरफ्तार गरिएका सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकको निःसर्त रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो पार्टी थप सङ्घर्षमा उत्रिने चेतावनी दिन चाहन्छौँ । सङ्घर्षबाट उत्पन्न परिणामको जिम्मेवार दलाल केपी–पीके सरकार र रामबहादुर गृह प्रशासन नै हुनुपर्ने जानकारी देशभक्त, राष्ट्रवादी, बुद्धिजीवीलगायत आमसर्वसाधारण सबैलाई यसै विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :