दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं सागको भव्य उद्घाटन

काठमाडौँ : दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने हिमाल, पहाड, तराई लगायत दक्षिण एशियाकै संस्कृती र पहिचान झल्कीने विभिन्न प्रस्तुति देखाइएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी र परेड प्रदर्शन गरिएको छ ।
मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक जितेका भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा ४ पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्रा्ष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।
उदघाटन समारोहमा सहभागी देशका झण्डा सहित १५ सय जनाको मास क्यालिस्थेनिक प्रदर्शनी र रंगशालाको आकाशमा गरिएको आतिसबाजी मुख्य आकर्षण थियो । समारोहमा गायक दीपक बज्राचार्य, कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।
१० दिनसम्म चल्ने १३ औं सागमा ७ देशका झण्डै ३ हजार खेलाडी सहभागि हुँदै छन् । १९८४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण १९९९ नेपालमै भएको थियो र २०१९ मा गरी तेस्रो पटक नेपालले साग गेम आयोजना गरेको हो । सागमा समावेश गरिएका २६ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य गरी १ हजार १ सय १५ पदकका लागि भिडन्त हुँदैछ । थ्री बाई थ्री बास्केटबल र बिच भलिबल अनअफिसियल खेल हुन् । १३ औं साग अन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :