कैलालीमा नेकपाले फेरि गर्यो जग्गा कब्जाको घोषणा


धनगढी : जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले कब्जा गरेको कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ को १३ बिघा जग्गा भूमाफियाले बिक्रीवितरण गरेको पाइएपछि नेपाल कम्युनिस्ट पार्टीले फेरि कब्जामा लिइएको घोषणा गरेको छ ।

युद्धकालमा सामन्त ठहर गर्दै मखन राईको ६० बिघा जग्गामध्ये १३ बिघा जग्गा तत्कालीन ने.क.पा.(माओवादी) ले कब्जा गरेको थियो । उक्त जग्गालाई बर्दगोरिया गाउँपालिकाका बौनिया निवासी कर्ण कुँवर भनिने भूमाफियाले स्थानीय कुमार थापालाई बिक्री गरेको जानकारी ने.क.पा. कैलालीले गराएको छ ।

उक्त जग्गा नेकपा कैलालीले फेरि आफ्नो कब्जामा लिएको घोषणा गर्दै बिक्रीवितरणमा रोक लगाइएको घोषणा गरेको छ । नेकपा कैलाली र युवा सङ्गठन नेपाल कैलालीको नेतृत्वमा उक्त जग्गा सोमबार साँझ पार्टीको झन्डा र सङ्गठनको झन्डा तथा कालो ब्यानर राखेर कब्जामा लिइएको नेकपाले जनाएको छ ।

उक्त अवसरमा नेकपा कैलाली जिल्ला सेक्रेटरी करणले यो जग्गा किनबेच गरेमा भूमाफियालाई भौतिक कारबाही गर्ने चेतावनी दिएका थिए । कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल कैलालीका संयोजक प्रतिरोधले गरेका थिए ।

२०७६ मंसिर १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :