सङ्गठन निर्माण र सञ्चालन

पार्टी भनेको मूलतः विचार हो । विचारको प्रश्न समाधान गरेपछि अर्को महत्वपूर्ण प्रश्न भनेको सङ्गठनको विषय हो । विचार जनताका बीचमा गएपछि भौतिक शक्तिमा बदलिन्छ । त्यसैले सिद्धान्त र विचारलाई सङ्गठनले भौतिक शक्तिमा बदल्छ । कार्यदिशाको प्रश्न समाधान भएपछि सङ्गठनात्मक विषय प्राथमिक विषय बन्छ । कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको अग्रदस्ता हो । त्यसैले कम्युनिस्ट पार्टीलाई नेताहरुको पार्टी भन्ने गरिन्छ । विचारअनुसारको सङ्गठन भन्नाले हामी कुन वर्ग, कुन समुदाय, कुन भूगोल, कस्तो सङ्गठन भन्ने प्रश्नहरु आउँछन् । हामीले मध्यम वर्गलाई क्रान्तिको अग्रमोर्चामा सहभागी गराउने नीति पारित गरेका छौँ । अब प्रश्न उठ्छ, मध्यम वर्ग को हो ? त्यसका समस्याहरु केके हुन् ? मध्यमवर्गलाई अग्रभागमा ल्याउँदा आउन सक्ने समस्याहरु र फाइदाहरु केके हुन् ? यी तमाम प्रश्नको समाधान गर्नुपर्छ । यो कार्लमाक्र्सले भनेझैँ संसार बुझ्ने र बदल्ने प्रश्न हो । स्थानीय नेताहरुमा यी कुराको सफा चित्र भएन भने मध्यम वर्गलाई समेट्ने कुनै सङ्गठनात्मक योजना बन्दैन । वर्गसङ्घर्षको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । कसका पक्षमा किन लड्ने ? अन्तरविरोध बुझ्ने, प्रधान र सहायक अन्तरविरोध छुट्ट्याउने वर्गविश्लेषण गरेर सङ्गठन निर्माण गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सङ्गठनमा सङ्कीर्णता र अकर्मण्यता आउँछ । सहयोगी घेरा साँघुरो हुने र दुस्मनले एक्ल्याउँदै लग्छ । त्यसैले सङ्गठनको विषय दुई विश्वदृष्टिकोण बहसमा माक्र्सवादी अथवा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई समाजमा लागू गर्ने प्रश्न हो । त्यसैले सङ्गठनको प्रश्नलाई लेनिनले ‘विचारको प्रश्न समाधान भएपछिको आधारभूत प्रश्न’ भन्नुभएको छ । सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) मा सङ्गठनात्मक बहसकै क्रममा मेन्सेभिक र बोल्सेभिकको चर्चित विश्वव्यापी बहस भएको थियो । हामी यहाँ त्यही सङ्गठनका विषयमा सङ्क्षेपमा छलफल गर्नेछौँ ।

(क) आवश्यकता र महत्व

सङ्गठन धेरै महत्वपूर्ण विषय हो । सङ्गठनको आवश्यकता र महत्वबोध गर्नुपर्छ । सङ्गठनका सन्दर्भमा लेनिन भन्नुहुन्छ, ‘वैचारिक शक्तिलाई भौतिक शक्तिमा परिणत गर्ने साधनलाई सङ्गठन भनिन्छ ।’ सङ्गठनको आवश्यक्ता र महत्वलाई सामान्यीकरण र सरलीकृत गरेर बुझ्नु हुन्न । पार्टी सङ्गठनको आवश्यकता र महत्व कति छ भन्ने कुरा पेरिस कम्युनपछि कार्ल माक्र्स र एङ्गेल्सले निकालेको निष्कर्षले पनि स्पष्ट पार्छ । माक्र्स, एङ्गेल्स भन्नुहुन्छ, ‘सम्पन्नशाली वर्गले निर्माण गरेका पुराना पार्टीहरुभन्दा भिन्न र तिनका विरुद्ध आफ्नै राजनीतिक पार्टी निर्माण नगरी श्रमजीवी वर्गले सामूहिक सत्ताका विरुद्ध धावा बोल्न सक्दैन ।’

(दार्शनिक साङ्गठनिक सिद्धान्त, चाइना टेक्ट बुक, इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृष्ठ ११४) ।

त्यसैले क्रान्तिकारी पार्टी निर्माण अनिवार्य र आवश्यक छ । हाम्रो पार्टी निर्माणको छोटो समयमा पनि हाम्रा विभिन्न तहका सङ्गठनहरु निर्माण भइरहेका छन् । सङ्गठन निर्माण हुनुका साथै सङ्गठन निर्माणको प्रसस्त आधार बनिरहेका छन् । तर जति सम्भावना देखापरेका छन् त्यसलाई सङ्गठनमा आबद्ध गर्न सकिएको छैन । यतिबेला नेपालमा दलाल पुँजीवादी सत्ता र जनताबीचको अन्तरविरोध प्रधान रहेको निष्कर्षसहित पार्टीले दलालहरुविरुद्ध मुख्य निशाना लगाउन थालेपछि उत्पीडित जनता, राष्ट्रवादी शक्ति, बुद्धिजीवी, मध्यमवर्गका जनता हाम्रो पार्टीप्रति आकर्षित भइरहेका छन् । जनता आशावादी भएका छन् । फलतः सङ्गठन निर्माणका लागि मार्गप्रसस्त भएको छ ।

हाम्रा अगाडि एकातिर निर्माण गरिएका सङ्गठनलाई अझै सशक्त र बलियो बनाउनुपर्ने जिम्मेवारी छ । त्यस्तै आवश्यकता र क्षमताबीचमा देखापर्ने अन्तरलाई हटाउँदै सङ्गठन निर्माणकार्यलाई अगाडि बढाउनुपर्नेछ । लाल र निपुणको समायोजन गर्नेमा अझै ध्यान दिनुपर्ने छ भने अर्कोतिर हाम्रा समर्थक जनतालाई सम्पूर्ण रूपमा सङ्गठनमा आबद्ध गर्नुपर्ने जिम्मेवारी पनि छ । सङ्गठनको आवश्यकता र महत्वलाई हामीले अझ बढी आत्मसात गर्नु पर्छ । सङ्गठन जति बनेका छन् सामन्यतया ठिकै भए पनि हामीले सङ्गठनलाई अझै बलियो र सशक्त बनाउन सकिन्थ्यो । तर हाम्राबीचमा सङ्गठनको महत्व र आवश्यकतालाई बोध गर्ने सन्दर्भमा केही कमी देखिएको छ जसलाई व्यवहारमा बुझ्न र स्पष्ट देख्न सकिन्छ । जस्तो कि पहिलो, सधैँ हामी त्यहीँ गाउँमा गइरहेका हुन्छौँ, हामीलाई जनताले सधैँ खानबस्न दिन्छन् । हाम्रा हरेक कार्यक्रममा जनताहरु सहभागी भइरहेका हुन्छन् । जनताहरुले हरेक कार्यक्रमलाई सहयोग गरिरहेका हुन्छन् । अनि त्यति भएपछि हामी ठान्छौँ, सबै जनता हाम्रा हुन् । तर त्यहाँका जनता सङ्गठित हुँदैनन् । सङ्गठित गर्नुपर्छ भन्ने हामी ठान्दैनौँ । हामी असङ्गठित जनताहरुमा नै भर पर्न पुग्छौँ ।

दोस्रो, सङ्गठन निर्माण त भएका छन् तर सङ्गठन परिचालनमा ध्यान दिँदैनौँ । त्यसका नियमित बैठक नहुँदा, नियमित प्रशिक्षित नगर्दा र काम नदिँदा निर्माण भएका सङ्गठन सक्रिय हुँदैनन् । क्रियाशील नहुनु भनेको सङ्गठनको मृत्यु हुनु हो । हामी पार्टीका नेता–कार्यकर्ताहरु सङ्गठन निर्माण गरेको केही वर्षपछि सङ्गठनसम्म जान्छौँ । त्यसबेलासम्म निर्माण गरेका समितिहरु हुँदैनन् । हामी फेरि शून्यबाट सुरु गर्छौं । हामीलाई फेरि सङ्गठन निर्माण गर्नुपर्ने बाध्यता हुन्छ । सङ्गठनको आवश्यकता र महत्वलाई नबुझ्दा र गम्भीरतापूर्वक नलिँदा यस्तो परिणाम आउँछ । माओले भनेझैँ सङ्गठित जनता नै फलामे किल्ला हो । त्यसैले हामीले सङ्गठित जनतामा भर पर्नुपर्छ । असङ्गठित जनताले अप्ठ्यारोमा साथ दिँदैनन् । त्यो त सजिलो अवस्थामा मात्र काम लाग्छ । त्यसैले सङ्गठनको आवश्यकता र महत्वलाई बोध गर्नसके मात्र हाम्रो उद्देश्यलाई सहयोग गर्न सक्ने सङ्गठन निर्माण गर्न सकिन्छ । अनि सङ्गठनलाई सही तरिकाले परिचालन गर्न सकिन्छ ।

(ख) कार्यदिशाको सहीपना

पार्टीको कार्यदिशा महत्वपूर्ण विषय हो । कार्यदिशा सही हुँदा सही सङ्गठन बन्छ साथै सञ्चालन पनि सही तरिकाले हुने गर्दछ । अरू सबै राम्रो भएर पनि कार्यदिशा नै गलत छ भने गलत परिणाम आउँछ । त्यसैकारण माओ भन्नुहुन्छ— कार्यदिशा सही हुँदा नभएका सबै चीज प्राप्त हुन्छन् तर कार्यदिशा गलत हुँदा भएका पनि सबै चीज गुम्दछन् । त्यसैले कार्यदिशा महत्वपूर्ण र मुख्य विषय बन्दछ । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक कार्यदिशा निर्माण गरेको छ । सोही कारण एकीकृत जनक्रान्तिको कार्यदिशा सही र वस्तुवादी निर्माण भएको छ भन्ने पार्टीको निष्कर्ष रहेको छ । कार्यदिशा निर्माण गर्दा कयौँ पक्षहरुलाई ध्यान दिँदै मुख्य गरी मालेमावादी मान्यतमा आधारित रहेर नेपालको विशेषतामा जोड गरिएको छ । सारमा भन्दा नेपालको माटो सुहाउँदो कार्यदिशा निर्माण भएको छ । एकीकृत जनक्रान्ति कार्यदिशा दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको विकसित रूप हो । कार्यदिशा सही छ । त्यसैले सङ्गठन निर्माण गर्न सकिन्छ । सङ्गठनहरु पनि गुणयुक्त बन्छन् । कार्यदिशा जालको डोरी हो । यसलाई जनताको बीचमा बिछ्याउनु पर्छ । जाल बिछ्याएपछि माछा जसरी जालमा पर्छ त्यसैगरी हाम्रो विचार, हाम्रो कार्यदिशावरिपरि सम्पूर्ण जनता सङ्गठित हुन आइपुग्छन् । सङ्गठन बन्छ कि बन्दैन भन्ने कुरा कार्यदिशा सही छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । माओ भन्नुहुन्छ– क्रान्तिलाई विजयसम्म पु¥याउनका निम्ति आफ्नै कार्यदिशाको सहीपना र त्यसैअनुरूप बन्ने सङ्गठनको खँदिलोपनामा भर पर्नुपर्छ ।

(दार्शनिक साङ्गठनिक सिद्धान्त, चाइना टेक्ट बुक, इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृष्ठ ८८) ।

नेपालको सन्दर्भमा निर्माण भएको कार्यदिशा वैज्ञानिक र वस्तुवादी बनेको छ र पुष्टि हुँदै गइरहेको छ । यसको परिणामस्वरूप जनता सङ्गठनमा आबद्ध भइरहेका छन् । कार्यदिशाको सहीपनाको कारण नै यो सम्भव हुँदै गएको हो । कार्यदिशा सही भएर मात्र सङ्गठन बन्न सक्छ । निर्माण भएका सङ्गठनहरुले आन्दोलनको नेतृत्व गर्न सक्छन् ।

(ग) विचारअनुरूपको सङ्गठन

सङ्गठन मालेमावादी विचारद्वारा निर्देशित हुने गर्दछ । विचार मुख्य र महत्वपूर्ण विषय हो । सङ्गठन साधन हो, साध्य होइन । विचार सही भएर मात्र हुँदैन, विचारलाई जनताको बीचमा लाने माध्यम भनेको नै सङ्गठन हो । त्यसैले सङ्गठनको पनि महत्वपूर्ण भूमिका रहने गर्छ । विचारको पक्ष र सङ्गठनको पक्ष दुवै महत्वपूर्ण छन् । दुवै महत्वपूर्ण हुँदाहुँदै पनि ध्यान दिनुपर्ने विषयचाहिँ विचार कस्तो निर्माण भएको छ, सङ्गठन कुन आधारमा निर्माण गर्ने, कुन आधारमा सञ्चालन गर्ने, विचारका आधारमा सङ्गठन निर्माण भएको छ कि छैन, विचारअनुरूपको सङ्गठन सञ्चालन भएको छ कि छैन भन्ने हो । यसको मुख्य पक्ष भनेको हामीले विचारअनुरूपको सङ्गठन निर्माण गर्नु पर्छ किनकि विचार नयाँ छ तर सङ्गठन पुरानै छ भने नयाँ विचारलाई पुरानो सङ्गठनले खाइदिन्छ । सङ्गठन निर्माण हुन सक्दैन । सङ्गठन निर्माण भए पनि कामकाजी र गुणयुक्त बन्न सक्दैनन् । जस्तो भए पनि जसरी भए पनि सङ्गठन निर्माण भए पुग्छ भन्ने मान्यतालाई त्याग्नुपर्छ । सङ्गठन बन्नुपर्छ तर विचारअनुरूपको हुनुपर्छ भन्ने मान्यतालाई दरोसँग पकड्नु पर्छ ।

हाम्रो पार्टी विचारअनुरूपको सङ्गठन निर्माण गर्दै अगाडि बढिरहेको छ । फेरि पनि हामीले जोड दिने विषय माक्र्सवाद विज्ञान हो । त्यसको विकास हुन्छ भन्ने हो । त्यसै कारणले त हाम्रो पार्टीले मालेमावादी विचारको विकासको विषयलाई मुख्य ठानेको छ । हामीले सङ्गठन निर्माण गर्दा मालेमावादी विचारलाई आत्मसात गर्नु पर्छ । सङ्गठनका क्षेत्रमा मालेमावादी सङ्गठनात्मक मान्यतालाई आत्मसात गर्नु पर्छ र बदलिँदो परिस्थिति र नेपाली विशेषताका आधारमा निर्माण गरिएको धरान बैठकको सङ्गठनात्मक निर्णयलाई प्रमुखताका साथ आत्मसात गर्नुका साथै व्यवहारमा लागू गर्नु पर्छ । तब मात्र क्रान्तिकारी विचार र हाम्रो कार्यदिशाअनुरूपको सङ्गठन निर्माण गर्न सकिन्छ ।

(घ) जनवादी केन्द्रीयताको अभ्यास

हरेक सङ्गठन जनवाद र केन्द्रीयताको सिद्धान्तका आधारमा सञ्चालन गर्नु पर्छ । जनवाद र केन्द्रीयता सङ्गठनको हरेक क्रियाकलापको आत्मा हुनु पर्छ । जनवाद र केन्द्रीयतालाई अलग र अन्तरविरोधी रूपमा बुझ्नु हुँदैन । जनवाद र केन्द्रीयता अलग र अन्तरविरोधी नभई एकअर्कामा अन्तरसम्बन्धित रहेका हुन्छन् । जनवाद र केन्द्रीयताको सही अभ्यास नहुँदा कहिले अति जनवाद हुने अनि सङ्गठनमा अराजकता देखापर्ने गर्दछ । त्यस्तै कहिले अति केन्द्रीयता हुँदा सङ्गठनमा नोकरशाही प्रवृत्तिको समस्या देखा पर्छ । यी दुवै प्रवृत्तिले सङ्गठनमा समस्या पैदा गर्दछ । जनवाद र केन्द्रीयताको सही अभ्यास भनेको उच्च जनवादका आधारमा उच्च केन्द्रीयता पैदा गर्नु हो । उच्च स्तरको जनवादबिना उच्चस्तरको केन्द्रीयता पैदा हुन सक्दैन । उच्च स्तरको केन्द्रीयताबिना न त जनवाद नै हुनसक्छ । तब मात्र लेनिनले भन्नुभएको मर्मअनुसारको सङ्गठन बन्दछ । लेनिन भन्नुहुन्छ ‘सर्वहारा वर्गको पूर्ण केन्द्रीकरण र कडा अनुशासन पुँजीपतिमाथिको विजयका निम्ति एउटा आधारभूत सर्त हो ।’ जनवाद र केन्द्रीयताको सही अभ्यासले मात्र अनुशासित र केन्द्रीकृत पार्टी निर्माण गर्न सकिन्छ । जनवाद र केन्द्रीयताको सही अभ्यास गर्ने कुरामा ध्यान दिँदै सङ्गठन सञ्चालनमा लेनिनवादी तरिका लागू गर्नु पर्छ जुन निम्नअनुसार रहेको छ :

व्यक्ति समितिको अल्पमत बहुमतको, तल्ला समितिहरु माथिल्लो समितिको, सम्पूर्ण व्यक्ति तथा समितिहरु माथिल्लो समितिको मातहतमा हुन्छन् । केन्द्रीय समिति महाधिवेशनको मातहतमा हुन्छ ।

(ङ) अन्तरविरोधको पहिचान र परिचालन

सङ्गठनको जीवन होस् अर्थात् बाह्य समाजमा होस्, अन्तरविरोधहरु हुने गर्दछन् । अन्तरविरोध हुनु भनेको गति हुनु हो, विकास हुनु हो र जीवन हुनु हो । तर अन्तरविरोधको सही पहिचान, सञ्चालन र हल गर्न सक्नु पर्छ । त्यसो हुन सके सङ्गठनमा गति पैदा हुन्छ, जीवन रहन्छ र विकास हुन्छ । तर अन्तरविरोधहरु धेरै प्रकारका हुने गर्दछन् । एउटै र एकै प्रकारको मात्र हुँदैन । माओ भन्नुहुन्छ— दुई वा दुईभन्दा बढी अन्तरविरोधहरु भएका जटिल प्रक्रियाको अध्ययन गर्दा हामीले प्रधान अन्तरविरोधलाई पत्ता लगाउने कुरामा पूरा प्रयास गर्नु पर्छ । प्रधान अन्तरविरोधलाई पक्डिएपछि सबै समस्या छिट्टै समाधान गर्न सकिन्छ ।

(दार्शनिक साङ्गठनिक सिद्धान्त, चाइना टेक्ट बुक, इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृष्ठ १२१) ।

अन्तरविरोध हुन्छ तर प्रधान र सहायक छुट्ट्याउनु पर्छ । पार्टीभित्र रहने अन्तरविरोध र बाह्य जनताबीचमा रहेको अन्तरविरोध फरक हुन्छ । त्यसैगरी जनता र प्रतिक्रियावादी सत्ताको बीचमा, जनतार जनताकै बीचमा अन्तरविरोध हुन्छ । फरक अन्तरविरोधको समाधान पनि फरक हुन्छ । बाह्य समाजमा रहेको अन्तरविरोधको प्रतिबिम्बन पार्टीभित्र पर्छ जसकारण पार्टीभित्र अन्तरविरोध पैदा हुन्छ र अन्तरसङ्घर्ष चल्न पुग्छ ।

एउटा जीवित पार्टीमा अन्तरविरोध हुने गर्दछ साथै सङ्घर्ष चल्ने गर्दछ । यो अस्वाभाविक होइन । यो अनिवार्य र स्वाभाविक नियम हो । तर सङ्गठनभित्र देखापरेका र जनताबीच रहेका अन्तरविरोधलाई एउटै ढङ्गले बुझ्ने र हल गर्ने गल्ती गर्नु हुँदैन । यी दुईवटालाई फरकफरक ढङ्गले बुझ्ने र फरक ढङ्गले हल गर्न सिपालु हुनु पर्छ । अन्तरविरोध हुनु गति प्राप्त गर्नु र जीवन प्राप्त गर्नु हो भने अन्तरविरोधलाई सही ढङ्गले नबुझ्दा, गलत तरिका अपनाउँदा गति अवरोध हुनुका साथै सङ्गठनको मृत्यु हुन्छ । त्यसैले सङ्गठन निर्माण र सञ्चालन गर्दा यो कुरालाई मुख्य ध्यान दिन जरुरी छ । अन्तरविरोधको पहिचान र परिचालनमा सिपालु हुनु भनेको सङ्गठन निर्माण हुनुका साथै सुदृढ हुनु हो ।

(च) आलोचना र आत्मालोचना

हरेक सङ्गठनमा आलोचना र आत्मालोचना पद्धतिलाई प्राथमिकताका साथ लागू गर्नुपर्छ । माओ भन्नुहुन्छ, ‘ अन्तरपार्टी आलोचना पार्टी सङ्गठनलाई बलियो बनाउने र यसको लड्ने क्षमता वृद्धि गर्ने हतियार हो । एउटा जीवित पार्टीभित्र समस्याहरु हुन्छन् । ऐँजेरुहरु पलाउँछन् । तर ती गलत विचारहरु, समस्याहरुलाई हल गर्ने तरिका वैज्ञानिक हुनु पर्छ, सही हुनु पर्छ । कम्युनिस्ट क्रान्तिकारीहरुले प्रयोग गर्दै आएको तरिका भनेको आलोचना र आत्मालोचना हो । अध्यक्ष माओ भन्नुहुन्छ– आलोचना तथ्यमा आधारित हुनुपर्छ । आलोचना राजनीतिमा केन्द्रित हुनु पर्छ ।’

(दार्शनिक साङ्गठनिक सिद्धान्त, चाइना टेक्ट बुक, इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृष्ठ १५९)

यो रोगीलाई मार्ने होइन, रोगीलाई उपचार गरेर बचाउने तरिका हो । एकता गर्ने उद्देश्य राखेर सङ्घर्ष गर्ने, एकता–सङ्घर्ष–एकताको मान्यतामा अगाडि बढ्छ । आलोचना र आत्मालोचना गर्दा तथ्यमा, राजनीतिमा केन्द्रित भएर गर्नुपर्छ, मान्छेको चरित्रहत्या, अनावश्यक टीकाटिप्पणीहरु गर्नु हुँदैन । जे मन लाग्यो त्यही भन्नु हुँदैन । आलोचना र आत्मालोचनाको पद्धतिमार्फत अगाडि बढ्दा सही र गलत स्पष्ट ढङ्गले छुट्ट्याउनु पर्छ र छुट्टिन्छ । आलोचना र आत्मालोचनाको मर्मलाई बुझ्नु पर्छ । आफ्नो समस्याको आफैँ पहिचान गर्ने र आत्मसात गर्ने संस्कार बसाल्नु पर्छ । साथै अरूले गरेको आलोचनालाई सकारात्मक ढङ्गले लिने र आफूलाई सच्याउनेमा जोड गर्नुपर्छ । प्रशंसामा रमाउने, आलोचनामा दुःखी हुने, आग्रही र पूर्वाग्रही हुनु हुँदैन । प्रशंसा खोज्ने, रमाउने, आलोचना र सुझावमा दुःखी हुनु भनेको कम्युनिस्ट नहुनु हो । आलोचना र आत्मालोचना पद्धति लागू गर्ने दुईवटा प्रवृत्ति देखा पर्छन् : पहिलो, समस्याहरु देख्दा पनि, गलत हो भन्ने लाग्दा पनि सङ्घर्ष गर्न नचाहने, एकता खल्बलिन्छ कि भनेर बुझ्ने अथवा एकता मात्र चाहने, कतै नराम्रो भइन्छ कि भनेर बुझ्ने गलत प्रवृत्ति । दोस्रो, समस्याहरु देखेपछि एउटा जीवित पार्टीमा समस्याहरु आउँछन् । ती समस्यालाई सङ्घर्षको माध्यमबाट हल गर्नुपर्छ । एकता–सङ्घर्ष रूपान्तरणको विधिमार्फत अगाडि बढ्नेभन्दा पनि एकता गर्नै नचाहने प्रवृत्ति देखा पर्छ । यी दुवै प्रवृत्ति सङ्गठनका लागि घातक छन् । यी प्रवृत्तिबाट मुक्त हुन, पार्टीलाई राम्रो बनाउन आलोचना, आत्मालोचनाको पद्धति लागू गर्नुपर्छ ।

(छ) क्रान्तिकारी कार्यशैली

कार्यशैली भन्नासाथ काम गर्ने तरिका भनेर बुझिन्छ । क्रान्ति भनेको विज्ञान मात्र होइन, कला पनि हो । क्रान्ति गर्ने कला कार्यशैलीमा अभिव्यक्त हुन्छ । क्रान्ति विज्ञान हुँदाहुँदै पनि लागू गर्दा कलात्मक शैली भएन भने क्रान्ति अघि बढ्दैन । कार्यशैली चिन्तनसँग जोडिएको हुन्छ । हामीले कसरी सोच्छौँ भन्ने कुराले कार्यशैली निर्धारण गर्दछ । त्यसैगरी व्यवहारमा व्यक्त हुने गर्दछ । त्यसैले कार्यशैली ठीक हुन सोच्ने तरिका सही बनाउनु पर्छ, सही हुनु पर्छ । कार्यशैलीको सन्दर्भमा अध्यक्ष माओ भन्नु हुन्छ, “कम्युनिस्ट पार्टीलाई चाहिने जनवाद मात्र होइन केन्द्रीयता अझबढी चाहिन्छ ।”

(दार्शनिक साङ्गठनिक सिद्धान्त, चाइना टेक्ट बुक, इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृष्ठ १३७) ।

सही विचार कहाँबाट आउँछ भन्ने लेखमा माओले भन्नुभएको छ— सही विचार उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ । साथै कार्यशैलीका विषयमा माओ भन्नुहुन्छ सिद्धान्तलाई व्यवहारमा जोड्ने कार्यशैली अपनाउनु पर्छ किनकि सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ । व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ । दोस्रो, जनतासँग घनिष्ट सम्बन्ध बनाउने कार्यशैली अपनाउनु पर्छ । माओ भन्नुहुन्छ— जनता र केवल जनता विश्वइतिहासका चालक शक्ति हुन् । जनतासँग घनिष्ठ सम्बन्ध बनाउन हामीहरु जनता नै असली नायक हुन् भन्ने विचारले सुसज्जित हुनै पर्छ ।

जनताको साथ र सहयोगबिना कुनै पनि क्रान्ति सफल हुन सक्दैन । विश्वका ठूलाठूला तानाशाहहरुले पनि जनताका अगाडि घुँडा टेकेका छन् । जनतासँग घनिष्ठ हुने भनेको जनतासँग सिक्ने हो । जनताबाट हामीले धेरै कुरा सिक्नु पर्छ । जनताको बीचमा जाँदा नम्र, इमानदार र विवेकी हुनु पर्छ जसले गर्दा जनतामा भिज्न सकिन्छ । जनताको मन जित्न सकिन्छ । अनि सङ्गठनमा आबद्ध गर्न सकिन्छ । तेस्रोमा, आत्मालोचना र आलोचनाको कार्यशैली अपनाउनु पर्छ । आलोचना र आत्मालोचनाले पार्टीलाई बलियो र भरपर्दो बनाउँछ, अनुशासित तुल्याउँछ । सङ्गठनमा देखापरेका गलत प्रवृत्तिहरुलाई दुरुत्साहित गर्दछ । माओको चिनियाँ कम्युनिस्ट पार्टीको विधानको प्रस्तावनामा उल्लेख गरिएको सिद्धान्तलाई व्यवहारमा जोड्ने कार्यशैली जनतासँग घनिष्ठ सम्बन्ध बनाउने कार्यशैली, आलोचना र आत्मालोचनाको कार्यशैलीको आज पनि उत्तिकै महत्व छ । हामीले त्यसलाई आत्मसात गर्न जरुरी छ । कार्यशैली सही हुनु पर्छ अनि सङ्गठन निर्माण र सञ्चालन सही बन्दछ । हामीले सही कार्यशैली बनाएका छौँ, अझै बनाउँदै जानुपर्छ । यो विषयलाई गम्भीरतापूर्वक लिनु पर्छ ।

२०७६ कार्तिक २६ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :