साम्राज्यवादी हस्तक्षेपविरुद्ध नेकपाद्वारा मशाल जुलुस

सेना र प्रहरीलाई सीमासुरक्षामा खटाउन अपिल

काठमाडौँ : भारतीय हस्तक्षेपविरुद्ध नेकपाले देशभर मशाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । नेकपाका नेताहरुले साम्रज्यवादी हस्तक्षेप रोक्न सेना र प्रहरीलाई सीमासुरक्षामा खटाउनसमेत अपिल गरेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोका अधिकांश जिल्लामा भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध मशाल जुलुस निकालिएको समाचार प्राप्त भएको छ ।

पार्टी स्रोतका अनुसार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, लमजुङ, स्याङ्जा, कास्की, कपिलवस्तु, कैलाली, र कञ्चनपुरलगायत जिल्लामा नेकपाका कार्यकर्ताले स्थानीय बासिन्दाको सक्रियतामा मशाल जुलुस निकालेका हुन् ।

भारतीय साम्राज्यवादले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग अतिक्रमण गरी नक्सा सार्वजनिक गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको सङ्घर्षका कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको हो ।

मशाल जुलुसमा ‘भारतीय साम्राज्यवाद मुर्दावाद ! दलाल सामाजिक फासिवादी संसदीय व्यवस्था मुर्दावाद !!, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !!’ लगायत नारा लगाउँदै जुलुस निकालिएको पूर्वबाट प्राप्त समाचारमा जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी भारतको उक्त कदम नेपालमाथिको अतिक्रमणकारी रबैया र हमला भन्दै साताव्यापी बृहत् सङ्घर्ष घोषणा गरेका थिए । सोही कार्यक्रमअनुरूप बुधबार साँझ देशभर मशाल जुलुस निकालिएको थियो ।

मशाल जुलुसपछि आयोजित कोणसभामा अधिकांश नेताले सरकारको तीव्र आलोचना गर्दै हिम्मत भए सरकारलाई देशका सेना र प्रहरीलाई आफूहरूविरुद्ध नभएर सीमारक्षाका लागि खटाउन चेतावनी दिएका छन् ।

महासचिव विप्लवले जारी गरेको सङ्घर्षको कार्यक्रममा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ । विज्ञप्तिमा कात्तिक २१ गते मशाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुतला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमा विरोधपत्र दिने उल्लेख छ ।

महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रबैया नेपालमाथिको हमला हो । नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

महासचिव विप्लवले भारतलाई तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधीनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा छ, ‘यो मुक्ति र स्वाधीनताको सङ्घर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

२०७६ कार्तिक २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :