गिरफ्तारीविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष

काठमाडौँ :आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशैभर चरणबद्ध सङ्घर्ष गरेको छ । असोज ३० गते प्रहरीले दाङबाट नेकपाका नेता वीरजङ्गसहित २१ कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेकपाले प्रधानमन्त्री केपी वलीको पुतलादहन गर्नेदेखि चक्काजामसम्मका कार्यक्रम गरेको हो ।

राजनीतिक गतिविधि गरिरहेका नेता–कार्यकर्ताको गिरफ्तारीका विरुद्ध देशभर व्यापक जनसहभागितामा विरोध एवम् ¥यालीसहित मशाल जुलुस र चक्काजाम गरिएको नेकपाले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशका विभिन्न जिल्लामा गिरफ्तारी तथा झूट्टा मुद्दाको विरोधमा मशाल जुलुस, कोणसभा, चक्काजामलगायत कार्यक्रमहरु सम्पन्न गरिएको हो । सेती, महाकाली, कर्णाली, राप्ती, लुम्बिनी, गण्डकी, उपत्यका, जनकपुर, मेची, कोसी ब्युरोअन्तर्गतका विभिन्न जिल्लामा यस्ता कार्यक्रम सम्पन्न गरिएको छ । सङ्घर्षका कार्यक्रमअन्तर्गत नेकपाले देशका विभिन्न ठाउँमा सडकमा टायर बालेर १ एक घन्टा सडकमा चक्काजामसमेत गरेको छ ।

यसैक्रममा बर्दियाको बासगढीस्थित महेन्द्र राजमार्ग १ घण्टा अवरुद्ध भएको थियो । बर्दिया जिल्लाको पूर्व–पश्चिम राजमार्गमा नेकपाका कार्यकर्ताले सडकभर टायर बालेर एक घण्टा सवारीसाधन अवरुद्ध गरेका थिए ।

कात्तिक ३ गते जुलुस र प्रदर्शनबाट सङ्घर्ष सुरु गरेको नेकपाले कात्तिक ५ गते देशभर कोणसभा र पिँढीसभा आयोजना गरेको थियो भने कात्तिक ७ गते देशभर प्रधानमन्त्री केपी वलीको पुतला दहन गरिएको थियो । यस्तै कात्तिक ९ गते विरोध प्रदर्शन गरिएको थियो भने कात्तिक १५ गते बेलुका देशैभरि मशाल जुलुस गरिएको थियो । ‘दलाल फासिवादी सरकार मुर्दावाद, हत्यारो केपी मुर्दावाद, बिनाकारण गिरफ्तार गरिएका नेताहरू रिहा गर’ लगायत नारा लेखिएका प्लेकार्डहरू बोकेर नेकपाका कार्यकर्ता सडकमा ओर्लिएका थिए । यस्तै कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म ठाउँठाउँमा चक्काजाम गरिएको थियो ।

यसअघि नेकपाका महासचिव विप्लवले सामाजिक फासिवादी केपी–पीके सरकारको हतियारधारी सुरक्षा फौजले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सङ्कटकाललाई बिर्साउने गरी दुई दर्जन नेता तथा कार्यकर्तालाई रातको २ बजे गिरफ्तार गरेको भन्दै घोर आपत्ति व्यक्त गरेका थिए । उनले तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनीसमेत दिएका थिए ।

असोज ३० गते दाङको राजपुरबाट नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा सङ्गठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदीप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्रलगायत २१ जना नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :