स्कुलको बार्दली भत्किएको घटनाबारे क्रान्तिकारीद्धारा विद्यालय प्रशासनलाई कारवाहीको माग

काठमाडौँ :अखिल क्रान्तिकारीले बुधबार विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किएर भएको घटनाबारेप्रति दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित उक्त विद्यालयमा ४२ जना विद्यार्थी घाइते हुनेगरी भएको घटनामा विद्यालय प्रशासन दोषी रहेको बताएका छन् ।
बिहीबार विज्ञप्ति जारी गरेर बिकले विद्यार्थीसँग चर्को शूल्क असुल्ने तर कमजोर तथा काम चलाउ भौतिक संचरना निर्माण गर्ने विद्यालय प्रशासन घटनाको मुख्य दोषी रहेको भन्दै कारवाहीको माग समेत गरेका छन् । उनले त्यस्तै विद्यालयको भौतिक संचरना मापदण्ड अनुसार भएनभएको अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको लापरवाही पनि दोषी रहेको बताएका छन् ।
“विद्यार्थीहरुबाट मनलाग्दी शिर्षकमा चर्को शुल्क असुली गर्ने तर भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त लगानी नगरी कमजोर तथा काम चलाउ भौतिक संरचनामा पठनपाठन गराउने ठग विद्यालय प्रशासन घटनाको मुख्य दोषी हो’ बिकले विज्ञप्तिमा भनेका छन् । उनले विद्यालयका भौतिक संचरनाको मापदण्ड हुँदाहुँदै पनि सरकारको नियमनकारी निकायकाको चरम लापरवाही पनि दोषी रहेको भन्दै छानविनको माग समेत गरेका छन् ।
विज्ञप्तिमा बिकले विद्यालय प्रशासनले विद्यार्थीमाथि जघन्य अपराध गरेको भन्दै निष्पक्ष छानविन गरी कारवाहीको माग समेत गरेका छन् । ‘यो घटना विद्यार्थीहरुमाथि विद्यालय प्रशासनले गरेको जघन्य अपराधको परिणाम हो । तसर्थ उक्त विद्यालय प्रशासनलाई कडा कारवाही गरियोस’ विज्ञप्तिमा भनिएको छ ।
घटनामा परी घाइते सम्पूर्ण विद्यार्थीको निःशूल्क गुणस्तरिय उपचारसहित उचित क्षतिपुर्तिको माग अखिल क्रान्तिकारीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :