नेकपाको ऐतिहासिक आठौँ बैठक

केपी वली नेतृत्वको सरकारले आफ्नै संविधानले गरेको प्रत्याभूतिसमेत लत्याउँदै नेकपामाथि लगाएको प्रतिबन्ध खारेज गर्दै नेकपाले ऐतिहासिक आठौँ बैठक सम्पन्न गरेको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी, घूसखोरी, लूटतन्त्र मच्चाएर देश र जनतामाथि व्यभिचार लादिरहेको सरकारले उल्टै सत्य, न्याय र मुक्तिका लागि सङ्घर्ष गरिरहेको नेकपाका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएर निस्फिक्री फासिवाद लाद्ने हर्कत गरिरहेको थियो तर वली सरकारको फासिवादी हर्कतलाई सीधा चुनौती दिँदै नेकपाले केन्द्रीय समितिको पूर्ण बैठक बसेर नयाँ कार्यक्रमहरूसमेत अघि सारेको छ ।

वली सरकार जनघाती भएको पछिल्लो प्रमाण राष्ट्रिय मानवअधिकार आयोगले नेकपाका जनप्रिय नेता कुमार पौडेलको हत्या नै गरिएको हो भन्ने प्रमाणसहितको प्रतिवेदन हो । अत्याचारी–फासिवादी वली सरकार र कुमार पौडेल कथित दोहोरो भिडन्तमै मारिएका हुन् भनेर हजारपटक गोयबल्स शैलीमा फलाक्ने वलीका गृहमन्त्री रामबहादुर थापाहरू अब के गर्छन् होला, प्रतीक्षाको विषय छ तर बैठकले सहिद नीरकुमार राई ‘सुप्रिम’, गोकुल राना ‘ महान’, रामकुमार श्रेष्ठ, सनराइज, धनराज बटालालगायत एकीकृत जनक्रान्तिमा बलिदान गर्ने र महन् जनयुद्धमा उत्सर्ग प्राप्त गर्ने सबै सहिदहरूको रगतको शपथ खाँदै अत्याचारी शासनलाई खरानी पार्ने उद्घोष गरेबाट सामाजिक दलाल पार्टीहरू र तिनीहरूको गठबन्धनबाट बनेको फासिवादी सरकारको निद्रा र चैन कम हुँदै गएको अनुमान गर्न सकिन्छ ।

बैठकले ‘सामाजिक दलाल सरकारको प्रतिबन्ध, हत्या, अप्रेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको, प्रतिरोध सङ्घर्षमा जनताको साथसहयोग बढिरहेको, मित्रशक्तिहरूसँगको सहकार्य फैलिँदै गएको, जनताको आशा पार्टीतिर बढ्दै गएको, विभिन्न पार्टीहरूबाट पार्टीमा सहभागी बन्ने प्रक्रिया चलिरहेको, नयाँ पूर्णकालीन कार्यकर्ता बढ्दै गएको, जनमुक्ति सेनामा भर्ती बढिरहेको, विभिन्न विचलनकारी प्रवृत्तिबाट पार्टी मुक्त हुँदै गएको’ संश्लेषण गर्नुले वली सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध बिस्तारै हावा खुस्किएको बेलुनजस्तै बनिरहेको देखिन्छ । बैठकले ‘आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ’ शीर्षकमा पारित गरेको महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र प्रतिवेदन एकमतले पारित गर्दै राजनीतिक रूपले केपी सरकारको फासिवादीकरण, फासिवादी दमन, प्रतिबन्ध, दलालीकरण, सरकारी असफलता र सङ्कट, एकीकृत जनक्रान्तिले वैज्ञानिक ढङ्गले प्रतिरोध गर्दै ध्रुवीकरण र मित्रशक्तिहरूको मोर्चाबन्दीमा जोड दिएको छ । वली सरकारको दलालीकरणका कारण नेपालको स्वाधीनता र सार्वभौमिकता दिनप्रतिदिन सङ्कटमा पर्दै गएको र फासिवादी हस्तक्षेपका कारण जनताका राजनीतिक, मौलिक अधिकारहरू समाप्त हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ । सरकार राष्ट्रघात, एनसेलकाण्ड, ठूलो जहाजकाण्ड, सुनकाण्ड, ललिता निवासकाण्ड, चिनीकाण्ड, अनेकौँ हत्याकाण्ड, गोलीकाण्ड, गैरकानुनी गिरफ्तारी जेल–हिर ासत, बूढीगण्डकीकाण्ड, बलात्कारकाण्ड, अनगिन्ती भ्रष्टाचार, भूमाफिया, मानवतस्करी, मेडिकल माफिया, कालोबजारीलगायत असत्य अपराधमा चुर्लुम्म डुब्न पुगेकाले राजनीतिमा दलालीकरण र फासिवादी दमनको भण्डाफोर र प्रतिरोध गर्नुपर्ने बैठकको निष्कर्ष छ । यसका लागि सबै देशभक्त, वामपन्थी क्रान्तिकारी मित्र शक्तिहरूसँग दलालीकरण तथा फासिवादीका विरुद्ध कार्यगत एकता र संयुक्त मोर्चा गरेर राजनीतिक संयुक्त सङ्घर्ष अगाडि बढाउन चौतर्फी संवाद र वार्ता गर्ने र कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय लिएकाले अब जनसङ्घर्ष अझै सशक्त अघि बढ्ने र दलाल सरकारका साथै दलाल व्यवस्था धराशयी हुने सुनिश्चितता बढेको छ ।

बैठकले वली सरकार राजनीतिक रूपले असफल हुँदै गएकाले यसको विकल्पका रूपमा अनेकौँ चर्चा र विश्लेषणहरू भइरहेको अवस्थामा नेपाली जनताले अनेकौँ सङ्घर्ष, क्रान्ति, जनयुद्ध र बलिदान गर्दै यहाँसम्म अभ्यास गरेका र प्रयोगमा पूर्णतः असफल साबित भएका कुनै पनि शक्ति र व्यवस्था सही निकास हुन नसक्ने र यसको वैज्ञानिक समाधान भनेको वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुनसक्ने निष्कर्ष प्रस्तुत गरेको छ । सरकारको सामाजिक फासिवाद र दलालीकरणका विरुद्ध मोर्चा बन्नु र देशलाई जनवादी राजनीतिक अधिकार एवम् स्वाधीनताको धारमा उभ्याउनु आजको प्रमुख आवश्यकता बनेको निष्कर्ष निकालेर नेकपाले अब सामाजिक फासिवादका विरुद्ध व्यापक र निर्णायक सङ्घर्ष उठ्ने सङ्केत पनि गरेको छ । यसरी नेकपाको ऐतिहासिक आठौँ पूर्ण बैठकले शोषण, दमन, अत्याचार, हत्या र आतङ्कमा टिकेको दलाल राज्यसत्ताको एउटा भरपर्दो विकल्प प्रस्तुत गरेर श्रमिक जनतामा एउटा नयाँ आशा जगाएको छ । सम्पादकीय

२०७६ कार्तिक ६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :