आयोग अध्यक्ष शर्माको प्रश्न– यो गणतन्त्र हो कि बन्दुकतन्त्र ?

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकको मानवअधिकारको अवस्था खराब बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको विमोचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालीन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरे । उनले भने, ‘हामीले व्यवस्था परिवर्तन त ग¥यौँ तर त्यसअनुसार आचरण भयो कि भएन भन्ने मुख्य विषय हो तर म आचरण पुरानै देख्छु ।’

उनले गणतान्त्रिक व्यवस्थामा पनि मानवअधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले यो गणतन्त्र हो कि बन्दुकतन्त्र छुट्ट्याउन गाह्रो भएको टिप्पणीसमेत गरे । उनले भने, ‘म असन (काठमाडौँ) मा हुक्र्या–बढ्या मान्छे अनि एउटा जोक चल्छ गणतन्त्र कि गनतन्त्र ? गनतन्त्र भनेको बन्दुकले सबैलाई सिध्याउने भनेको हो कि ? गणतन्त्र अर्थात् महादेवका उत्ताउला गणहरूको तन्त्र हो कि ? गन भनेको नेवारीमा कता भन्ने हुन्छ अर्थात् कता गयोतन्त्र हो कि ?’ उनले विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा जोड दिए ।

नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले बृहत् शान्तिसम्झौता सही ढङ्गले निष्कर्षमा नपुग्दा अहिले राजनीतिक तरलता देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘सायद शान्तिप्रक्रिया सही ढङ्गले निष्कर्षमा पुगेको भए फेरि अहिलेको व्यवस्थामा प्रश्न उठ्ने थिएन कि ? विप्लवजी, किरणजीहरू अहिले किन बाहिर हुनुहुन्छ ?’ संसद् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे ।

जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विप्लवले भनेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरे । साहित्यकार आहुतिले विचार र आस्थामाथिको प्रतिबन्धले समस्या समाधान नहुनेमा जोड दिए । उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएको भन्दै संविधानमा लेखिएको मौलिक हक सुनिश्चित गर्न आग्रह गरे ।

कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारको कार्यशैली गम्भीर भएको बताए । उनले यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरू नै पीडित बन्नु परेको टिप्पणी गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूसमेत लडेर ल्याएको गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएको बताए ।

जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले देशभर विचार र आस्थाका आधारमा आफ्ना सङ्गठनका सदस्यहरूलाई गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । सामाचार लेखेकै आधारमा पक्राउ गर्ने र सर्वाेच्च अदालतको आदेशमा रिहा हुँदा पनि पटकपटक पक्राउ गर्ने गरिएको भन्दै उनले सबैको ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रगतिशील कानुन व्यवसायी सङ्गठनका सचिव कपिलचन्द्र पोख्रेल, तक्मा केसी, अधिकारकर्मी डा. कपिल श्रेष्ठ, सरला रेग्मी, भवानी खरेल, शान्ता भण्डारीलगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष एकराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष देवबहादुर पौडेलको स्वागत र सचिव राम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

२०७६ कार्तिक ५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :