चितवन मेडिकल कलेजले शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीद्वारा पुनः आन्दोलन गर्ने चेतावनी

 
काठमाडौं : चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चाडपर्वको समय आएकाले आगामी २७ असोजबाट पुनः आन्दोलन थाल्ने विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘अहिलेसम्म प्राप्त बिल भर्पाई हेर्दा सात लाखदेखि २० लाखसम्म अतिरिक्त रकम विद्यार्थीबाट असुलेको भेटियो,’ उनले भने, ‘क्याम्पस व्यवस्थापन अतिरिक्त रकम समायोजन गर्न तयार देखियो, तर फिर्ता गर्न तयार छैन ।’ कलेज व्यवस्थापनले शुल्क फिर्ता गर्नभन्दा पनि समायोजनमा बढी जोड दिएको अध्ययन समितिका सदस्यहरूको भनाई छ । प्रारम्भिक अध्ययनमा शुल्क फिर्ता गर्नुपर्ने देखिए पनि थप अध्ययन गर्न आलटाल गरिरहेको विद्यार्थीहरूको आरोप छ ।

कलेजका व्यवस्थापक अरुण कोइरालाले केही वर्षअघिदेखिको सबै कागजात खोज्नुपर्ने भएकाले समय लागेको बताए । कलेजसँग ५ असोजदेखि पठन–पाठन सुरु गर्ने सहमति जनाए पनि विद्यार्थीहरू पठन–पाठन र परीक्षामा सहभागी नभएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पताल व्यवस्थापन र विद्यार्थी दुवैबाट सहमतिको उल्लंघन भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्कबारे अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति गठन गरी १० असोजसम्मका लागि समय दिइएको थियो । समितिका सदस्य जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत दिवाकर पौडेलले दुई शैक्षिक वर्षको मात्र बिल भर्पाई पत्ता लागेको र त्यसअघिका पत्ता नलागेकाले अस्पताल व्यवस्थापन पक्षले केही समय बढी लाग्ने जानकारी गराएको बताए । थपिएको समयमा पनि कुनै उपलब्धि नभएको शुल्क अध्ययन समितिका संयोजक टेकप्रसाद चापागाईंले बताए ।

समयमै प्रतिवेदन तयार पार्न नसकेपछि आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा छलफल भएको थियो । त्यसक्रममा कलेज व्यवस्थापनले विद्यार्थीलाई शुल्क फिर्ता गर्न दिएको अन्तिम समयसीमा १८ कात्तिकभित्र जसरी पनि फिर्ता गर्ने भनेकाले अहिले नै हतारिनु नपर्ने भन्दै विश्वस्त बनाउने प्रयास गरेका थिए ।

२०७६ असोज १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :