बहसमा एकीकृत जनक्रान्ति

“कुनै पनि क्रान्तिको बाटो सुरुदेखि नै पूरापूर देख्न सकिँदैन र अनेकपटक अन्धकारमा पाइला चाल्नु पर्नेछ । अँध्यारामा छामछाम–छुमछुम गर्नुपर्नेछ तर अघि लम्कने तरिकाचाँहि यही नै हो ।”
लेनिन, क. गोन्जालोका विचारहरू, पेरूको क्रान्ति समर्थक समिति, नेपाल २०४९ पुस

(क) पृष्ठभूमि

नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ र सो कार्यभार पूरा गर्ने पथ (बाटो ‘एकीकृत जनक्रान्ति’ पारित गर्यो । २०७३ सालमा रोल्पा जिल्लाको हिमाली गाउँ थबाङमा भएको सोही महाधिवेशन पछि ने.क.पा.को कार्यदिशा र वैज्ञानिक समाजवादी क्रान्ति बहसमा छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा ‘नयाँ जनवाद’ वैचारिक रूपमा मात्र होइन, एक स्तरको आदत (संस्कार) बनिसकेको अवस्थामा त्यसप्रकारको निर्णयले थुप्रै प्रश्न र जिज्ञासाहरू पैदा भएका छन् ।

राजनीतिक लक्ष्य वा क्रान्ति सम्पन्न गर्नका लागि अपनाइने विधिलाई कार्यदिशा भनिन्छ जसले पुरानो सत्तालाई क्रान्तिकारी सङ्घर्षको माध्यमले विस्थापित गर्दछ । कार्यदिशा निर्माणमा सार्वभौम पक्ष र सम्बन्धित देशका विशिष्टताहरू दुवैको एकत्व आवश्यक रहन्छ । आज विश्वका कम्युनिस्टहरूले रुस, चीन र क्युबामा प्रयोग भएका कार्यदिशासम्बन्धी अनुभवहरूलाई नै आत्मसात गरिरहेको देखिन्छ । तर ऐतिहासिक अनुभवको यान्त्रिक प्रयोग मात्रै पर्याप्त हुँदैन । हरेक देशका आफ्नै खालका विशिष्ट पक्षहरू हुन्छन् र समयले त्यसमा थप विशिष्ट अवस्था पैदा गर्दै गएको हुन्छ । यसो भन्दा माक्र्सवाद–लेनिनवाद–माओवादलाई अझ दरिलोसँग समात्न आवश्यक छ । अधिभूतवाद, कठमुल्लावाद र दक्षिणपन्थी संशोधनवाद सबैबाट मुक्त चेतना आजको आवश्यकता हो ।

(ख) नेपाली मौलिकता र हाम्रो बुझाइ

आज विश्व न परम्परागत सामन्तवादको अवस्थामा छ न त साम्राज्यवाद लेनिनकै समयको अवस्थामा रहिरहेको छ । विज्ञान र प्रविधिमा आएको विकास र वर्गसङ्घर्षले (भौतिक विज्ञान र समाज विज्ञानको अवस्थाले सामन्तवाद थङ्थिलो भएको छ र त्यसले साम्राज्यवादसमक्ष आत्मसमर्पण गरेको छ । पुँजीवादले

सामन्तवादलाई आत्मसात गर्दै आफैलाई पश्चगामी चरित्रमा ढालेको छ । त्यसैले आजको पुँजीवाद अर्थचन्त्र, संस्कृति र राजनीतिक क्षेत्रमा ठिमाहा (वर्णशङ्कर) भएको छ । त्यसप्रकारको पुँजीवादको चरित्रलाई उत्तरसाम्राज्यवाद (पश्चगामी, फेरिएको, पछिल्लो, अतिमा पुगेको, मरणासन्न) भनिएको छ । ‘उत्तर–साम्राज्यवाद’ पदावली प्रयोग गर्नुका पछाडि निश्चित कारणहरू छन् । (हेर्नुहोस्– ने.क.पा. आठौँ महाधिवेशनको दस्तावेज, पृष्ठ ४२ र ४३) नेपाली समाज रुस र चीनको अवस्था भन्दा भिन्न रहेको कारण नेपाली क्रान्तिको कार्यदिशा पनि फरक हुनुपर्दछ । नेपाली समाजका विशेषताहरू : 
(१) भूपरिवेष्ठित देश
(२) नगर समाजको विकास
(३) मध्यम वर्गको उदय
(४) जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन
(५) देशभक्त धाराको प्रभाव
(६) विज्ञान–प्रविधिमा विकास
(७) दलाल पुँजीवादी सत्ता

चीनको क्रान्तिकालमा विश्वमा नगर समाजको उदय सीमित थियो भने रुस साम्राज्यवादी देश (भर्खरै अक्टोबर क्रान्ति भएको थियो । तत्कालीन समाजमा मध्यम वर्ग शक्तिशाली थिएन । त्यो वर्ग ढुलमूले शासक वर्गकै अङ्ग मानिन्थ्यो । विज्ञान र प्रविधि शासक वर्गको पेवा थियो । आज विज्ञान र प्रविधि शासक वर्गको हातबाट समाजमा गइरहेको छ । त्यसको उदाहरण कोरिया–अमेरिका सम्बन्धमा देख्न सकिन्छ । आज साइबर सेना निर्णायक बन्न खोज्दैछ । सूचना साम्राज्यका विरुद्ध सामाजिक सञ्जाल (नागरिक पत्रकारिता) हस्तक्षेपकारी बन्दै गएको छ । सामाजिक चेतनास्तर विद्रोहात्मक बन्दै गएको छ ।

अर्कोतिर सामन्ती उत्पीडन, शोषण यथावत् छ । जातीय, क्षेत्रीय, लैङ्गिक, समुदायगत उत्पीडन यथावत छ । विश्वभरि अन्धराष्ट्रवाद हावी बन्दै गएको परिप्रेक्ष्यमा नेपालमा अन्तर्राष्ट्रवाद जातीयता, साम्प्रदायिकता, विखण्डन, घृणाको राजनीतिका रूपमा प्रकट भइरहेको छ । अर्को शब्दमा, सामन्तवादले नयाँ रङ्गमा टाउको उठाउन खोजिरहेको छ ।

नेपाल दुई ठूला देशले घेरिएको भू–परिवेष्ठित देश हो । नेपाल भारतीय अर्थतन्त्रबाट खोरमा थुनिएको छ । परनिर्भर अर्थतन्त्रका कारण राजनीति र संस्कृतिमा भारतीय नियन्त्रण छ । भारतले दर्जनौँ असमान र अन्यायपूर्ण सन्धि, सम्झौताद्वारा नेपाललाई बाँधेर राखेको छ । राज्यका सबै निकायमा दलालहरूले अड्डा जमाएर बसेका छन् । आर्थिक पराधीनता सांस्कृतिक पराधीनताको स्तरमा प्रकट भएको छ । नेपालमा देशभक्त धारा प्रबल छ । दक्षिणएसियामा अङ्ग्रेजहरूको आगमनदेखि नै नेपाली समाज देशभक्त र दलाल धाराको बीचमा सङ्घर्ष हुँदै आएको छ । देशभक्त र दलाल धाराबीचको सङ्घर्षकै कारण नेपालको स्वतन्त्र अस्तिइभ्व कायम छ ।
(ग) नयाँ जनवाद र वैज्ञानिक समाजवाद
पुँजीवादले समाजवादको लागि चारवटा भौतिक आधार प्रदान गर्दछ –
(अ) प्रचुर उत्पादन
(आ) विकसित उत्पादक शक्ति
(इ) सर्वहारा वर्ग
(ई सामूहिक उत्पादन र निजी स्वामित्व

समाजवाद लागू गर्न समाजको अग्रगामी वर्ग सर्वहारा वर्ग आवश्यक हुन्छ । उसले सत्ता सञ्चालन गर्नसक्ने स्तरमा विकास गरेको हुनुपर्छ । यसको जन्म पुँजीवादको गर्भबाट हुन्छ । समाजवादमा ‘ क्षमताअनुसारको काम, आवश्यकता अनुसारको दाम’ नाराको आधारमा आर्थिक ढाँचा निर्माण गरिन्छ । यसका लागि प्रचुर मात्रामा वस्तु र सेवाको उत्पादन आवश्यक छ । सामन्ती समाज त्यसको लागि प्रतिकूल रहेको हुन्छ । त्यसैगरी पुँजीवादी व्यवस्थामा सामूहिक उत्पादन हुन्छ तर निजी स्वामित्व रहेको हुन्छ । अन्यायपूर्ण सम्बन्ध रहेको व्यवस्था बदल्न र श्रमिक मैत्री व्यवस्था कायम गर्न सर्वहारा वर्ग (उसका सहयोगी) मजदुर, किसान, निम्नपुँजीपति वर्गसहित) राजनीतिक सङ्घर्षमा भाग लिन्छन् । अझ यसो भन्न सकिन्छ – पुँजीवादको गर्भमा उसको चिहान खन्ने सर्वहारा वर्गको भ्रूण हुर्किरहेको हुन्छ तर पुँजीवादको विकास नभएका चीन, भियतनाम, कोरिया, नेपाल, भारतजस्ता देशहरूमा सर्वहारा वर्गको नेतृत्व र मजदुर किसानको सहभागितामा हुने हुनाले त्यसले सामाजवादको ढोका खोल्दछ । अध्यक्ष माओले त्यसप्रकारको व्यवस्थालाई ‘नयाँ जनवाद’ भन्नुभएथ्यो । त्यसैले नयाँ जनवादी व्यवस्था पृथक समाज व्यवस्था नभएर सामन्ती समाजवाट समाजवादी व्यवस्थामा फड्को मार्ने सङ्क्रमणकालीन व्यवस्था हो । त्यसप्रकारको सङ्क्रमणकाल कति लामो हुन्छ ? यहाँ बहस छ । ने.क.पा.को २०७३ सालमा भएको आठौँ महाधिवेशनको दस्तावेजमा भनिएको छ, “नयाँ जनवादी सत्ता ८ वर्ष चलाएपछि चीनलाई वैज्ञानिक समाजवादमा प्रवेश गराइयो । विशाल जनसङ्ख्या भएको देश चीनमा नयाँ जनवाद स्थापना भएपनि सन् १९५२ देखि नै तीन खराबी र पाँच खराबी देखा परेका थिए । माओले चीनलाई समाजवादमा प्रवेश गराउन खोज्दा राष्ट्रपति ल्यू साओचीको नेतृत्वमा विरोध गरियो । सैन्य जनर लसहितको संलग्नतामा समाजवादलाई वाधा पार्न खोजियो (पृष्ठ १८) ।” यसबाट बुझ्न सकिन्छ । चीनमा नयाँ जनवादमै अडिरहने कि समाजवादमा फड्को मार्ने ? भन्ने विषयमा बहस थियो । तर क्रान्तिभन्दा अगाडि व्यवस्थित बहस र मत विभाजित भएको अवस्था थिएन । क्रान्तिपछि नेताहरू विभाजित भए । नेताहरूमा भएको विभाजनले पार्टी सदस्य र जनताहरूलाई पनि विभाजित गर्यो । समाजवादमा प्रवेशको विधि र अवधि, सङ्क्रमणकालको अवधि, दायित्व जस्ता विषयमा पूर्व निर्णय थिएन अथवा तयारी थिएन । जनता प्रशिक्षित भइसकेका थिएनन् । सोभियत सङ्घमा भएको प्रतिक्रान्ति र चीनमा पुँजीपति वर्गको तोडफोड देखेपछि माओले नयाँ जनवादी व्यवस्था सुदृढ गरिरहनु भनेको समाजवादमा फड्को होइन कि पुँजीवादमै फर्किने वा पतन हुने चित्र स्पष्ट देख्नुभयो । त्यसपछि चिनियाँ समाजलाई गुणात्मक फड्कोद्वारा छलाङ हान्नुपर्ने महसुस गरियो । छलाङ आफैमा विपत्तिमय कदम हो । त्यसपछि सन् १९५६ मा चीन समाजवादमा प्रवेश गरेको घोषणा गरियो । चीन त्यति चाँडै वैज्ञानिक समाजवादमा प्रवेश गर्ने निर्णय र कदम धेरैका लागि अकल्पनीय विषय थियो । समाजवादमा प्रवेश गर्नका लागि आवश्यक पूर्वाधार भनेका विषय पनि चीनमा पूरा भइसकेका थिएनन् । त्यसको निश्चित गणितीय तर्क पनि थिएन ।

चीनको अनुभव र भौतिक जगत्मा आएको परिवर्तनले कार्यदिशा र व्यवस्थाको विषयमा थुप्रै प्रश्नहरू उठाएका छन् । आजका कम्युनिस्टहरूले ती प्रश्नको जवाफ दिएर मात्रै अगाडि बढ्न सकिन्छ ।

(घ) चिनियाँ अनुभव र नेपाली सन्दर्भ

भौतिक जगत्मा आएको परिवर्तनसँगै समाज विज्ञानमा पनि परिवर्तन आवश्यक छ । त्यसै सन्दर्भमा सङ्क्रमणकालीन व्यवस्था (नयाँ जनवादी व्यवस्था) का विषयमा पनि ठोस धारणा बन्न आवश्यक छ । चीनमा समाजवाद घोषणा गर्दा पुँजीवादको पर्याप्त विकास भइसकेको थियो त ? अथवा उत्पादक शक्तिको पर्याप्त विकास भैसकेको थियो त ? अवश्य थिएन । त्यसकारण सामन्तवाद र साम्राज्यवाद विरोधी क्रान्ति (नयाँ जनवादी क्रान्ति) गरेपछि सङ्क्रमणकालीन व्यवस्थामा पुँजीवादले शक्ति सञ्चय गर्ने, पुँजीवाद सुदृढ हुँदै जाने, समाजवादको आधार भएका स्थानमा पनि पुँजीवाद नै लागू गरिरहनु पर्ने, सचेत प्रयत्न र पहलकदमी गुम्ने खतरा देखापरेको कारण चीनमा माओले आफ्नो क्रान्तिपूर्वको धारणाको प्रतिकूल समाजवादमा फड्को मार्नुपर्ने निष्कर्ष निकाल्नुभएको देखिन्छ । उत्पादक शक्तिको विकास, सामूहिक र औद्योगिक उत्पादन निरन्तर भइरहने विषय हुन् जसको निश्चित सीमा–रेखा हुँदैन । चीनको नकारात्मक अनुभवबाट हामीले सिक्नुपर्दछ । “अनुभवहीन अवस्थामा प्रत्येक कम्युनिस्टले गल्ती गर्न सक्छन् तर जे कुरा गलत हो भन्ने सिद्ध भइसकेको छ त्यसलाई कम्युनिस्टले अनुभव गरिरहँदैन” अविमायल गुजमान ‘गोञ्जालो’ ले भनेका छन् । त्यसकारण हामीले चिनियाँ अनुभवबाट सिक्न आवश्यक छ । प्रधान अन्तरविरोध र राजनीतिक चरित्रमा आएको परिवर्तनअनुसार राजनीतिक व्यवस्था निरूपण गर्नुपर्दछ । त्यस अर्थमा नेपाल वैज्ञानिक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ ।

चीनमा क्रान्ति हुँदा सामन्तवाद र साम्राज्यवादसँग चिनियाँ जनताको प्रधान अन्तरविरोध दलाल पुँजीवाद भैसकेकोमा कमै विवाद होला । दलाल पुँजीवादसँग लड्नुपर्ने, क्रान्तिचाहिं लड्नै नपर्ने (नगन्य, सहायक) शक्तिको विरुद्ध हुने कुरा अन्तरविरोधी हुन जान्छ । सामन्तवाद आधार (आर्थिक) मा कम र उपरिसंरचना (धर्म, संस्कृति, व्यवहार) मा बढी दलाल पुँजीवादले गरिरहेको छ । ने.क.पा.को आठौँ महाधिवेशनको राजनीतिक दस्तावेजमा भनिएको छ – “हामीले विगतमा अर्ध सामन्तवाद र अर्धउपनिवेशवाद भएकोले क्रान्तिको चरण नयाँ जनवाद निर्माण गरेका थियौँ । तर दश वर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ ।”

अर्को कुरा, नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा प्रवेश गर्ने खुड्किलो मात्र हो । कम्युनिस्टहरूको आधारभूत राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । माओकै उदाहरण लिंदा पनि सन् १९४९ मा क्रान्ति गर्नुभयो र नयाँ जनवाद लागू गर्नुभयो तर त्यो लामो समय रहन दिनुभएन । छिटै समाजवादमा जाने प्रस्ताव गर्नुभयो । यसर्थ हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी मात्र भन्नु वस्तुवादी हुँदैन । वैज्ञानिक समाजवादी बनाउनु नै वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुवादी कार्यक्रम निर्माण गरेर नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिहरूलाई धु्रवीकृत र एकताबद्ध गर्न सकिन्छ । (उही पृष्ठ ४६ र ४७) ।” नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रान्तिलाई स्थायी चरणकै रूपमा बुझ्ने गरिएको कारण पनि समस्या भएको हो ।

नौलो जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेशको साँघु हो । त्यसको अर्थव्यवस्थाको सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “नौलो जनवादी अर्थव्यवस्थालाई निर्देशित गर्ने सिद्धान्तहरू उत्पादनको विकास गर्ने, आर्थिक समृद्धि बढाउने, सार्वजनिक र नीति दुवैथरि हितहरूमाथि ध्यानदृष्टि दिने, श्रम र पुँजी दुवैलाई फाइदा गर्ने आम उद्देश्यसँग ठ्याम्मै मिल्दा खाका हुनुपर्दछ ।” (माओ त्से तुङ्ग, सङ्कलित रचनाहरू, भाग ४ पृष्ठ १८४) ।” राजकीय पुँजीको नेतृत्वमा देशको समग्र अर्थव्यवस्था उभ्याउनु नयाँ जनवादी अर्थव्यवस्थाको मूल कार्यभार हो । जो समाजवादको पनि आधारभूत कार्यक्रम हो ।

अर्थव्यवस्थाको स्वरूप समाजवादी हुन्छ । अन्य स्वरूपहरू निजी पुँजीमा आधारित हुन्छन् । राज्य र निजी पुँजीको संयुक्त स्वरूपमा नयाँ जनवादी अर्थव्यवस्था कायम हुन्छ तर समाजमा निजी स्वामित्वको अन्त्य गरिन्छ । निजी अर्थव्यवस्थालाई लामो समय कायम राख्दा त्यो समाजवादी अर्थव्यवस्थामै हाबी बन्न जाने खतरा चीनमा देखिएको थियो । नौलो जनवादी अर्थव्यवस्थाको सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “राजकीय अर्थव्यवस्थाको स्वरूप समाजवादी र सहकारी अर्थव्यवस्थाको स्वरूप अर्धसमाजवादी हुन्छ, यो दुईथरि अर्थव्यवस्था र निजी पुँजीवाद व्यक्तिगत अर्थव्यवस्था र राज्य तथा पुँजीपतिहरूले संयुक्त रूपले काम गर्ने राजकीय पुँजीवादी अर्थव्यवस्था यी सबैको योग नै जनवादी गणतन्त्रको अर्थव्यवस्थाका प्रमुख तइभ्वहरू हुनेछन् र यिनै तइभ्वहरूबाट नौलो जनवादी ढाँचा बन्नेछ (उही, पृष्ठ ४०१) ।” नौलो जनवादी आर्थिक ढाँचा पुँजीवादी ढाँचा नै भएको हुनाले त्यसलाई लम्ब्याउँदा (सङ्क्रमणकाल बढाउँदा) प्रतिक्रान्तिको सम्भावना बढेर जाने चिनियाँ अनुभव (नकारात्मक अनुभव) छ । त्यसकारण नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै सम्भव र आवश्यक पक्षहरूमा तत्काल समाजवादी क्रान्ति सुरु गर्नुपर्छ भनिएको हो ।

नयाँ जनवादी क्रान्तिको पुल हुँदै समाजवादी क्रान्तिमा जाने भन्ने विषयलाई कतिपयले ‘गन्जागोल र सारसङ्ग्रहवादी’ भनेका छन् । तर उनीहरूले चीनको प्रयोग राम्ररी नहेरी सतही टिप्पणी गरेका छन् । चीनमा सन् १९५० मा नोकरशाही पुँजी कब्जा गरेर राज्यको स्वामित्वमा ल्याइयो । सहकारी अर्थतन्त्र आफैमा अर्ध–समाजवादी चरित्रको थियो । अर्कोतिर राष्ट्रिय पुँजीको संरक्षण र विकास गर्ने नीति लिइएको थियो । मूल रूपमा, सन् १९५६ मा समाजवादी फड्को घोषणा गरे पनि लगत्तै समाजवादी क्रान्तिको व्यावहारिक प्रयोग सुरु गरिएको देख्न सकिन्छ । आफ्नो रचना ‘चीनको दार्शनिक मोर्चामा तीन प्रमुख सङ्घर्ष’ मा अध्यक्ष माओ भन्नुहुन्छ, “सन् १९५० मा जतिबेला चीनले विशेष रूपमा सर्वहारा अधिनायकत्व स्थापित गर्दैथियो र समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्दै थियो त्यतिबेला कसरी पुँजीवादी उत्पादन सम्बन्धलाई ‘चीनको उत्पादक शक्तिसँग मेल खाने विशेषता’ भन्न सकिन्थ्यो ? राज्यसत्ता हातमा लिइसकेपछि हामीले चिनियाँ पुँजीवादको प्रमुख हिस्साका रूपमा नोकरशाही पुँजी कब्जा गर्ने कार्यलाई अघि बढायौँ र यसलाई राज्यको स्वामित्वमा बदल्यौँ । राष्ट्रिय पुँजीपतिको उद्योग र व्यापारलाई हामीले उपयोग गर्ने, सीमित गर्ने र रूपान्तरण गर्ने नीति अपनायौँ तर यसलाई कहिल्यै पनि ‘चीनको उत्पादक शक्तिसँग मेल खाने विशेषता’ को पुँजीवादको रूपमा लिएनौँ । यसको विपरीत पुँजीवादले उत्पादक शक्तिको चरित्रसँग मेल नखाने देखियो । यसलाई बरु कदम कदम गरेर राज्यद्वारा समाजवादी स्वामित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता भयो । (दार्शनिक रचनाहरू, पृष्ठ २३९, अनुवाद हेमन्तप्रकाश ओली, प्रकाशक, जागरण बुक हाउस, काठमाडौँ, २०७४) नयाँ जनवादी अर्थव्यवस्था उत्पादक शक्तिसँग मेल नखाने र उत्पादक शक्तिको विकासमा बाधक भएको चिनियाँ अनुभव छ । त्यसकारण समाजवादी अर्थव्यवस्था र त्यही प्रकारको उपरिसंरचना जरुरी हुन्छ । तर पुँजीवादको पूर्ण विकास नगरी समाजवादमा जान नसकिने तर्क रुसमा बर्नस्टिन, कार्ल काउत्स्की र चीनमा ल्यू साओ ची, याङ सियन चेनलगायतले गरेका थिए । सो सम्बन्धमा लेनिन भन्नुहुन्छ, “तपाईंले भन्नुभएको छ कि समाजवादको निर्माण गर्न सभ्यताको आवश्यकता छ । धेरै राम्रो तर हामी किन हाम्रो देशमा सभ्यताको पूर्वाधार सिर्जना गर्न भूमिपतिहरू र रसियाली पुँजीपतिहरूलाई निष्कासन गर्न र अनि समाजवादतिर अघि बढ्न सक्दैनौँ ? तपाईहरूले कहाँ र कुन किताबमा सामान्य ऐतिहासिक घटनाक्रम अनुचित या असम्भव छ भनेर पढ्नुभएको छ ? (उही, पृष्ठ २० र २४) ।” रुसी संशोधनवादीहरूले पछौटे रूपमा समाजवाद लागू गर्न नसकिने तर्क गरेका थिए । त्यसपछि ५० को दशकमा चिनियाँ संशोधनवादीहरूले वातानुकूलित तर्क अघि सार्दै ‘पिछडिएको उत्पादक शक्ति’ को गीत गाउन थाले । अध्यक्ष माओले चिनियाँ संशोधनवादीहरूलाई भन्नुभयो, “के लेनिनको प्रत्येक शब्दले, प्रत्येक वाक्यले ल्यू साओ ची र याङ सियन चेन जस्ता छद्म माक्र्सवादी धोकेवाजहरूलाई सबैभन्दा बढी घाइते हुनेगरी प्रहार गरेको छैन र ? उत्पादनका साधनको स्वामित्वमा समाजवादी क्रान्तिको विरोध गर्ने यी धोकेवाजहरू त्यसरी नै हजार कोस टाढाबाट ‘ पिछडिएको उत्पादक शक्तिको कारणले चीन समाजवादमा जान सक्दैन’ भन्दै आफ्नो झूठको बिन बजाइरहेका छन् । (उही, पृष्ठ २४३) ।” सन् १९५६ मा नै चीनमा समाजवादको आधार निर्माण भैसकेको अध्यक्ष माओको धारणा थियो । सभ्यताको विकास, उत्पादक शक्तिको विकास आदि नाराहरू प्रतिक्रान्तिका वैचारिक अस्त्र हुन् ।

परिवार सामन्ती समाजको सबैभन्दा तल्लो आर्थिक एकाइ हो । जसलाई सामूहिकीकरण नगरी समाजवादमा फड्को हान्न सकिन्न । सोभियत सङ्घमा सहकारीकरणको प्रक्रियाअन्तर्गत किसान अर्थतन्त्रलाई सामूहिकीकरण गरिएको थियो । चीनमा गृहयुद्धकालमा नै मुक्त क्षेत्रहरूमा सहकारी अभियान चलाइएको थियो । तर रुसको जस्तो परिस्कृत थिएनन् । त्यस सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “किसान समूहमा हजारौँ वर्षदेखि व्यक्तिगत अर्थव्यवस्थाको प्रथा चलिआएको छ जसमा हरेक परिवार वा घर एउटा आर्थिक एकाई हुन्छ । उत्पादनको यो छरपस्ट भएको व्यक्तिगत रूप सामन्ती शासनको आर्थिक जग हो जसले किसानहरूलाई स्थायी रूपले कङ्गाल बनाउँछ । यस्तो अर्थव्यवस्थालाई फेर्ने एउटै मात्र उपाय बिस्तारै सामूहिकीकरण गर्नु हो र लेनिनको भनाइअनुसार सामूहिकीकरण लागू गर्ने एउटै मात्र उपाय सहकारी समितिहरू बनाउनु हो । (माओ त्सेतुङ सङ्कलित रचनाहरू, भाग ३, पृष्ठ ११७) ।” जसरी कविला समाजलाई एकैचोटि समाजवादमा लैजान सकिन्छ, त्यसैगरी सामन्ती अर्थप्रणालीलाई पुँजीवादी अर्थप्रणालीमा नगईकन एकैपटक समाजवादमा फड्को मार्न सम्भव छ ।

(ङ) चिनियाँ विशिष्टताहरू

चीनमा आन्तरिक रूपमा सामन्ती उत्पीडन र बाहिरबाट साम्राज्यवादी अतिक्रमण थियो । हङकङ, मकाउ, भित्री मङ्गोलिया र पूर्वी तथा दक्षिणी भूभागहरू विदेशीको कब्जामा थिए । जापान पूरै चीन निल्दै थियो । त्यस्तो अवस्थामा अध्यक्ष माओ नेतृत्वको चीनले तीन कार्यनीति लियो –
१) नोकरशाही र साम्राज्यवादी पुँजीलाई राष्ट्रिय स्वामित्वमा ल्याउने जुन अर्थतन्त्रको मेरुदण्ड थियो ।
२) राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादक शक्तिको विकासका लागि निजी पुँजीको संरक्षण गर्ने ।
३) पुँजीवादी जनवादी क्रान्तिलाई समाजवादको बाटोमा अग्रसर गराउने ।

चीनको त्यसप्रकारको कार्यनीतिबाट देशभक्त, प्रगतिशील र राष्ट्रिय पुँजीपति वर्गसहित व्यापक स्तरको संयुक्त मोर्चा निर्माण गर्न सम्भव भएको थियो । राजकीय अर्थतन्त्रको नियन्त्रण र नेतृत्वमा मिश्रित अर्थतन्त्र स्वीकार गरियो । ‘एक अर्थतन्त्र, दुई प्रणाली’ भएझैँ ‘एक देश, दुई राजनीतिक प्रणाली’ द्वारा रक्तपातबिना नै हङकङ, मकाउ र तिब्बत मुख्य भूमिमा आए । यस सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “चीनको वर्तमान चरणका निम्ति बन्न लागेको व्यवस्था चीनको इतिहासको वर्तमान चरणको उपज हुनेछ र भविष्यमा निकै लामो समयसम्म चीनमा एउटा विशेष रूपको राज्य र राजनीतिक सत्ता रहनेछ । एउटा यस्तो रूप जो रुसी व्यवस्थाभन्दा एकदम बेग्लै खालको तर हाम्रानिम्ति भने एकदमै आवश्यक छ र तर्कसङ्गत अर्थात् जनवादी वर्गहरूको आपसी सहयोगमा आधारित नौलो जनवादी राज्य र राजनीतिक सत्ताको रूप हुनेछ (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ३, पृष्ठ १८०, सिर्जनशील प्रकाशन, काठमाडौँ ।” देशभक्त र राष्ट्रिय पुँजीपति वर्गलाई क्रान्तिकारी संयुक्त मोर्चामा ल्याउनुपर्ने बाध्यता र समाजवादको यात्रा सुनिश्चित गर्नुपर्ने उपायको खोजी गर्ने क्रममा ‘नयाँ जनवादी क्रान्ति’ प्रस्ताव गरिएको थियो । मित्रशक्तिहरूलाई आश्वस्त पार्दै सन् १९४५ को सातौँ महाधिवेशनमा भनिएको छ, “हाम्रो नौलो जनवादको सामान्य कार्यक्रम पुँजीवादी जनवादी क्रान्तिको चरणभरि अर्थात् अनेकौँ दशकसम्म अपरिवर्तनीय रहनेछ (उही) ।” सन् १९५७ मा पुग्दानपुग्दै चीनमा संशोधनवादी हावा तीव्र हुनु र रुसमा प्रतिक्रान्ति भएपछि (क्रान्तिकालीन संयुक्त मोर्चाले आफ्नो आधारभूत भूमिका पूरा गरिसकेको अवस्थामा) अध्यक्ष माओ समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको देखिन्छ ।

नेपालमा दलाल पुँजीपति वर्गको सत्ता रहेको कारण देशभक्त र राष्ट्रिय पुँजीपति वर्ग दुवै शोषण र उत्पीडनमा छन् । दलाल पुँजीवादसँग लड्ने र समाजवादको निश्चित चरणसम्म राष्ट्रिय पुँजीपतिवर्गको रक्षा गर्ने नीतिअन्तर्गत् क्रान्तिकारी कम्युनिस्ट, देशभक्त र राष्ट्रिय पुँजीपति वर्गका बीचमा संयुक्त मोर्चा बनाउने नीति लिइएको छ । जहाँ दलाल र नोकरशाही पुँजी कब्जा गरी राजकीय अर्थतन्त्रलाई मेरुदण्डका रूपमा विकास गरिनेछ । सोभियत सङ्घलाई नोकरशाही तथा राजशाही पुँजीवादसँग लड्नु परेको थियो भने चीनलाई सामन्तवाद र साम्राज्यवाद दुवैसँग एकैपटक लड्नु परेको थियो । नयाँ जनवादी क्रान्तिको कारण नै चीनमा संयुक्त मोर्चा सफल भयो । नेपालमा दलाल पुँजीवाद सत्तारूढ भएको कारण संयुक्त मोर्चाको रूप पनि चीन वा रुसभन्दा भिन्न हुनजान्छ ।

(च) एकीकृत जनक्रान्ति नै किन ?

पार्टीको क्रान्ति सम्पन्न गर्ने बाटो वा तरिकालाई कार्यदिशा भनिन्छ । कार्यदिशा बुझ्नु भनेको क्रान्ति कसरी गर्ने ? क्रान्तिपछि कस्तो व्यवस्था स्थापना गर्ने ? भन्ने विषय हो । यस सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “हामीले पार्टीको आम कार्यदिशा र आम नीति साँच्ची नै बिर्सियौँ भने हामी अन्धा, अपरिपक्व र गोब्रेबुद्धि भएका क्रान्तिकारी बन्नेछौँ । त्यस्तो स्थितिमा आफ्नो काम, विशेष कार्ययोजना र विशेष नीति लागू गर्दा दिशाविहीन भएर कहिले देब्रे र कहिले दाहिनेतिर धर्मराउनेछौँ र त्यसबाट हाम्रो कामको सत्यानास हुनेछ (माओ त्सेतुङ सङ्कलित रचनाहरू, भाग ४ पृष्ठ २५९, नेपाली संस्करण) ।” अध्यक्ष माओले हामीलाई सिकाउनु भए अनुसार कार्यदिशाको बहसमा भाग लिएनौँ र जनतालाई आश्वस्त पार्न सकेनौँ भने क्रान्तिको काम राम्ररी अगाडि बढ्न सक्दैन ।

चीनको क्रान्ति पुँजीवादी जनवादी थियो । त्यो न पुँजीवादी र समाजवादी अर्थव्यवस्थाको मिश्रित अर्थव्यवस्था थियो । तर अर्थव्यवस्थाको मेरुदण्ड राजकीय अर्थव्यवस्था अर्थात् समाजवादी अर्थव्यवस्था नै थियो । क्रान्तिलगत्तै अर्थव्यवस्थालाई समाजवादी र सहकारी अर्थव्यवस्था (योगदान झण्डै ५० प्रतिशत) को स्वरूप अर्ध समाजवादी रहेको थियो । त्यसको साथमा निजी पुँजीवाद र व्यक्तिगत अर्थव्यवस्था पनि समानान्तर रूपमा चलिरहेको थियो । तत्कालीन चीनको आर्थिक ढाँचा हेर्दा पुँजीवादी जनवादी व्यवस्था भनिएपनि सुरुदेखि नै समाजवादी व्यवस्था नै थियो भन्न सकिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङ पार्टीको बीचमा (माओ र डा.सन् यातसेनको बीचमा) संयुक्त मोर्चा बनेको थियो । क्रान्तिपछि राष्ट्रिय पुँजीपति वर्गको रक्षा गर्ने नीति नलिएको भए संयुक्त मोर्चा नै बन्न सक्दैनथ्यो र प्रगतिशील वर्गहरू बीचको एकता भाँडिन्थ्यो । न क्रान्ति हुन्थ्यो न त जापानी साम्राज्यलाई लघार्न सकिन्थ्यो । यस सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “चीनको वर्तमान चरणका निम्ति बन्न लागेको व्यवस्था चीनको इतिहासको वर्तमान चरणको उपज हुनेछ र भविष्यमा निकै लामो समयसम्म चीनमा एउटा विशेष रूपको राज्य र राजनीतिक सत्ता रहनेछ । एउटा यस्तो रूप जो रुसी व्यवस्थाभन्दा एकदम बेग्लै खालको तर हाम्रानिम्ति भने एकदमै आवश्यक र तर्कसंगत अर्थात् जनवादी वर्गहरूको आपसी सहयोगमा आधारित नौलो जनवादी राज्य र राजनीतिक सत्ताको रूप हुनेछ (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ३, पृष्ठ १८८ अनुवाद खगेन्द्र सङ्ग्रौला, सिर्जनशील प्रकाशन, काठमाडौँ, २०५७) ।” जमिनदार वर्ग, सामन्ती युद्ध सरदारहरू र जापानी साम्राज्यवादका विरुद्ध सारा प्रगतिशील, जनवादी र देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नको लागि कम्युनिस्ट र पुँजीपति दुवै वर्गको साझा राज्य जसमा सर्वहारा वर्गको नेतृत्वमा चल्ने राजनीतिक सत्ताको परिकल्पना गरिएको थियो । राष्ट्रिय पुँजीपति वर्गलाई विश्वासमा लिन अध्यक्ष माओ भन्नुहुन्छ, “हाम्रो नौलो जनवादको सामान्य कार्यक्रम पुँजीवादी जनवादी क्रान्तिको चरणभरि अर्थात् अनेकौँ दशकसम्म अपरिवर्तित रहनेछ (उही, पृष्ठ १८८) ।” क्रान्तिलगत्तै चीन पनि रुसजसरी नै समाजवादमा जानुपर्छ भन्ने बहस चलिरहेको र पुँजीपति वर्ग संयुक्त मोर्चामा जान हिच्किचाइरहेको समयमा अध्यक्ष माओको उक्त धारणा अगाडि आएको थियो । संयुक्त मोर्चालाई प्रभावकारी बनाउनकै लागि नयाँ जनवादी गणतन्त्रको नारा दिइएको थियो । अध्यक्ष माओ भन्नुहुन्छ, “फासिवादको विरुद्ध साझा सङ्घर्ष चलाउनको निमित्त फासिस्टवादविरोधी संयुक्त मोर्चा चीनमा मात्र होइन, संसारभरि नै आवश्यक र सम्भव पनि छ । त्यसैले गर्दा हामी चीनमा एउटा राष्ट्रिय र जनवादी संयुक्त मोर्चा स्थापना गर्ने पक्षमा डटेका छौँ । यिनै आधारमा हामीले मजदुर –किसानको जनवादी अधिनायकतन्त्रको स्थानमा सबै वर्गहरूको एकतामा आधारित जनवादी गणतन्त्र स्थापना गर्ने प्रस्ताव अघि सारेका हौँ । (माओ त्सेतुङका चुनिएका रचनाहरू, भाग २, पृष्ठ २५, अनुवाद : खगेन्द्र सङ्ग्रौला, विश्व नेपाली पुस्तक सदन, काठमाडौ, २०५८)” नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको नाराले नै मित्रशक्तिहरूको घेरालाई फराकिलो पार्न सकिन्छ । यसमा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति दुवैका विशेषताहरू रहन्छन् । चीनमा त्यसो गर्न सम्भव भएको थियो र नेपालमा पनि सम्भव हुन्छ । अध्यक्ष माओ भन्नुहुन्छ, “यसमा (चिनियाँ क्रान्तिको अभिभारा) पुँजीवादी जनवादी क्रान्ति (नौलो जनवादी क्रान्ति) र सर्वहारा समाजवादी क्रान्ति अर्थात् क्रान्तिका वर्तमान र भावी दुवै चरणहरू समावेश भएका छन् । (उही पृष्ठ २ ९०) ।” चिनियाँ अर्थप्रणाली (आधार) मूलतः समाजवादी भएपछि अधिरचना (राज्यव्यवस्था) कसरी पुँजीवादी जनवादी थियो त ? प्रश्न उठाउन सकिन्छ । सारतइभ्वमा चीनको अर्थतन्त्र सुरुमै समाजवादी चरित्रको थियो र निजी स्वामित्वलाई जनतामाथि प्रभुत्व कायम नगर्ने हदसम्म स्वतन्त्रता दिइएको थियो । अध्यक्ष माओ भन्नुहुन्छ, “सर्वहारा वर्गको नेतृत्वमा चल्ने नौलो जनवादी गणतन्त्रमा राजकीय उद्योग प्रतिष्ठानहरूको स्वरूप समाजवादी हुनेछ र त्यो समस्त राष्ट्रिय अर्थव्यवस्थाको नेतृत्वदायी शक्ति हुनेछ । तर यस गणतन्त्रले सामान्य पुँजीवादी निजी सम्पत्तिचाहिं हरण गर्नेछैन र जनजीविकामाथि प्रभुत्व कायम नगर्ने खालको पुँजीवादी उत्पादनको विकासमा बन्देज लगाउनेछैन किनभने चीनको अर्थव्यवस्था ज्यादै पिछडिएको छ (उही, पृष्ठ ३१२) ।” चीनमा राजनीतिक व्यवस्था छनोट गर्दा समाजवादी व्यवस्थाको निर्माणमा अवरोध नहोस् र संयुक्त मोर्चा सुदृढ होस् भन्ने कुरालाई केन्द्रमा राखिएको थियो । त्यसो गर्न सकिएन भने वलिदानको उपलब्धि कमजोर हुनजान्छ । यस सम्बन्धमा अध्यक्ष माओ भन्नुहुन्छ, “चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले यति कम उपलब्धि हासिल गर्नुको कारण के थियो भने ती सङ्घर्षहरू शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरूसित एकताबद्ध हुन सकेनन् (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग १, पृष्ठ १, नेपाली संस्करण) ।” पार्टी, सेना र संयुक्त मोर्चालाई सुदृढ गर्न अनुकूलता हुने गरी कार्यदिशा निर्धारण गर्नुपर्छ । त्यसैले यो विषयक्रममा बहस बढाउनुपर्छ । त्यस अर्थमा बहसको महइभ्व छ । तर अपेक्षाकृत बहस भएका छैनन् । बेवास्ता र पूर्वाग्रह समाधान होइन !

(छ) नयाँ कार्यदिशा खोजीको प्रश्न

आजसम्म जति पनि देशहरूमा सर्वहारा वर्गले क्रान्ति यो कुनै पनि देशमा कार्यदिशाहरू हुबहु दोहोरिएका छैनन् । भौगोलिक विविधता, वर्गहरूको स्थिति, समय, समाज विकासको स्तर, शोषणको रूप, परम्परा र मनोविज्ञान, शक्ति सन्तुलनको स्थिति अनेक पक्षमा रहेका विविधताको कारणले कार्यदिशामा पनि विविधता अपनाउनु परेको छ । यस सम्बन्धमा लेनिन भन्नुहुन्छ, “पूर्वेली देशहरूमा जसको जनसङ्ख्या रुसको भन्दा कता हो कता धेरै छ र जसको सामाजिक स्थितिमा कता हो कता विविधता छ अब जुन क्रान्तिहरू हुनेछन् निःसन्देह तिनमा रुसी क्रान्तिको दाँजोमा कता हो कता बढी विशिष्टताहरू प्रकट हुनेछन् भन्ने कुरा हाम्रा युरोपेली कूपमण्डुकहरू देख्न पनि सक्दैनन् (लेनिन सङ्कलित रचनाहरू, भाग ८, हाम्रो क्रान्तिबारे, नि सुखानोभका टिप्पणीहरूको प्रसङ्ग, पृष्ठ ११३) ।” लेनिनले चिनियाँ क्रान्तिलाई रुसी चस्माले हेर्न नहुने जिकिर गर्नुभएझैँ नेपाली क्रान्तिलाई चिनियाँ चस्माले हेर्नु प्रत्युत्पादक हुनसक्छ । ऐतिहासिक अनुभवहरू ‘ऐतिहासिक परि स्थितिहरूमा निर्भर’ रहेका हुन्छन् । २४ जुन १८७२ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रको जर्मन संस्करणमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सो कुरा बताउनु भएको थियो ।

हामीले चिनियाँ अनुभवलाई परित्याग गर्न होइन कि अझ दह्रोसँग समात्न यो बहस गरिरहेका हौँ । अध्यक्ष माओ भन्नुहुन्छ, “माक्र्सवाद लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो । तर माक्र्सवाद लेनिनवादको अध्ययन गर्ने धेरै मानिसले यसलाई निष्प्राण सूत्र ठान्छन् । यसरी तिनले सिद्धान्तको विकासलाई अवरुद्ध पार्दछन्, आफू र अरू कमरेडहरूलाई हानि गर्छन् (माओ सङ्कलित रचना, भाग ३, कार्यशैली सुधार गर, पृष्ठ २३) ।” हामी कार्यदिशाको प्रश्नमा ऐतिहासिक अनुभव र नेपाली विशिष्टता ख्याल गरेर पाइला चालिरहेका छौँ । त्यसक्रममा ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा प्रस्ताव गरिएको हो । हामी त्यसका लागि कार्यान्वयनका लागि इमानदार प्रयास गरिरहेका छौँ ।

आजसम्म जति पनि क्रान्तिहरू भएका छन्, तिनीहरूको बाटो सुरुमा शतप्रतिशत देख्न सम्भव भएको छैन । भी.आई.लेनिन भन्नुहुन्छ, “कुनै पनि क्रान्तिको बाटो सुरुदेखि नै पूरापूर देख्न सकिंदैन र अनेकपटक अन्धकारमा पाइला चाल्नुपर्नेछ । अँध्यारामा छामछामछुमछुम गर्नुपर्नेछ तर अघि लम्कने तरिका चाँहि यही नै हो (क. गोन्जालोका विचारहरू, पृष्ठ १२१, पेरूको क्रान्ति समर्थक समिति, नेपाल, पुस २०४९) ।” भौतिक विज्ञानमा गरिने आविष्कार पनि जित–हार तथा प्रयोगमा हाम्फालेर गरिने खोज–अनुसन्धान हो । कार्ल हेनरिक माक्र्स भन्नुहुन्छ, “जित्ने कुरामा एकदमै सुनिश्चित भई सारा समस्याहरू हल गरेर क्रान्तिको थालनी गर्न पाए कति सजिलो हुँदो हो । यसो हुनु सजिलो हुँदो हो तर क्रान्ति भने यस्तो हुँदैन । समस्याचाँहि यसप्रति प्रतिबद्ध हुनु र यसलाई अघि बढाउनु नै हो, पछि हामीले जस्तोसुकै मूल्य चुकाउनु परोस् र जस्तोसुकै प्रयास गर्नु परोस् (उही, पृष्ठ १२१) ।” क्रान्ति अपार सम्भाव्यता, चुनौती र अनिश्चितताले भरिएको महासागर हो । त्यसका सम्पूर्ण प्रश्नहरूको जवाफ समय अगाडि नै दिन कठिन हुन्छ । विज्ञानले सँधै इमानदार प्रयत्नको अपेक्षा गर्दछ । छलछाम, षडयन्त्र र पूर्वाग्रहको पीलो बोकेर वैज्ञानिक आविष्कार सम्भव हुँदैन । समाज विज्ञानका क्षेत्रमा पनि त्यो त्यत्तिकै सत्य हुन्छ ।

निष्कर्ष

वैज्ञानिक दृष्टिकोणको सबैभन्दा महइभ्वपूर्ण गुण के हो भने यो भावनात्मक दबाब र अन्ध आस्थावादी प्रवृत्तिहरूद्वारा परिचालित हुँदैन । यद्यपि उसका निष्कर्षहरूमा कमजोरी अथवा सीमाहरू हुन सक्छन् । आज विश्व कम्युनिस्ट आन्दोलनमा प्राधिकारपूर्ण नेतृत्वको अभाव छ । बहस केन्द्रित र आविष्कार मुखी छैनन् । जसरी भौतिक वैज्ञानिकहरूले नयाँ खोज प्रस्ताव हुनासाथ प्रयोगशाला वा प्रयोगद्वारा प्रमाणित नहुँदासम्म अध्ययनको विषय बनाउँछन्, त्यसरी नै कम्युनिस्ट आन्दोलन वा समाज विज्ञानमा नयाँ विचार वा बहसलाई अध्ययनको विषय बनाउन सकिन्छ । ने.क.पा.ले आफ्नो निर्धारित कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ लाई व्यवहारमा उतार्ने प्रयत्न गरिरहेको छ ।

वैज्ञानिक समाजवादी क्रान्तिले नै नयाँ जनवादी क्रान्तिको कार्यभारसमेत पूरा गर्दै (निषेध होइन) अगाडि बढ्नेछ । माक्र्सवादमा भएको पूर्वज्ञानहरूको समुच्च आत्मसातीकरण, विज्ञानमा अर्थात् भौतिक विज्ञानमा भएको एकीकृत चरित्रको आत्मसातीकरण र समाज विज्ञानमा (यहाँ नेपाली समाज र क्रान्तिमा जोड हो थप विकास नै ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा र वैज्ञानिक समाजवादी व्यवस्था हो ।

ने.क.पा.को आठौँ महाधिवेशन (२०७३) ले नेपालमा नयाँ जनवादी क्रान्तिको साँघु हुँदै वैज्ञानिक समाजवादी क्रान्ति गर्ने, त्यसका लागि ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा अवलम्बन गर्ने निर्णय गरेको छ । हालसम्म यसका सकारात्मक प्रभावहरू देखिएका छन् जसलाई पूर्ण रूपमा व्यवहारमा उतार्नु आजको दायित्व हो ।

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :