जनक्रान्तिको आवश्यकता

आज देश कम्युनिस्ट नामको कथित दलाल संसदीय व्यवस्थाका कारणले थिलथिलो बनेको छ । यो दलाल व्यवस्था र यसका एजेन्टहरूले गर्दा देशमा राजनीतिक सङ्कट पैदा भएको छ । राष्ट्रियता चरम सङ्कटमा परेको छ । जनजीविका प्रभावित भएको छ र यो दलाल संसदीय व्यवस्थाको हिमायती दलाल पुँजीले गर्दा राष्ट्रियता, जनजीविका, देशको आर्थिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक अवस्था, पारिवारिक अवस्था सबै धरापमा परेका छन् । दलालहरू दिन दुई गुना, रात चौगुना धनाढ्य बनिरहेका छन् । सही राजनीतिक मूल्य र मान्यताको खिल्ली उडाइएको छ । इमानदारी र नैतिकताको अन्त्य भएको छ । विकासका नाममा भ्रष्टाचारलाई दलाल संसदीय व्यवस्थाले वैधानिकता दिएको छ । बलात्कारलाई प्रोत्साहन दिइएको छ र कमिसनका आधारमा बलात्कारीलाई दलाल व्यवस्थाका नाइकेले संरक्षण गरिरहेका छन् । देशको सार्वभौमिकता र अखण्डतालाई दलालले सम्झौतामा राखेर साम्राज्यवादको गतिलो विश्वासिलो नोकर बन्ने प्रयत्नमा लुछाचुँडी गरिरहेका छन् र यिनीहरूलाई लालायित गर्न लगाउने दलाल पुँजीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पारिवारिक हिसाबले खलल पुर्याएको छ । सबै तहमा धार्मिक दलाल पैदा गरिरहेको छ ।

रोजगारीका नाममा दक्ष ऊर्जाशील युवशक्तिलाई विदेशीको गुलाम बन्न बाध्य पारेको छ । विकासका नाममा राष्ट्रिय उद्योग– कलकारखाना बेचेर खाएका छन् । राष्ट्रिय गौरवका योजनामा दलाली गरेर कमिसनको लोभमा कार्यकर्ता भर्तीकेन्द्र बनाई धराशायी बनाइएको छ । राष्ट्रिय पुँजीलाई बाध्य भएर बिदेसिन लगाइएको छ, नत्र आत्मसमर्पण गर्न लगाइएको छ । यही कारणले यो दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि हामीले आह्वान गर्यौँ । आजसम्मका सम्पूर्ण आन्दोलनले पनि परिवर्तन नभएकाले आदरणीय महासचिव कमरेड विप्लवको मूल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेर हामीले यो दलाल संसदीय व्यवस्थाका कारण गरिबीको अन्त्य भएन, रोजगारीको ग्यारेन्टी भएन, राष्ट्रियताको संरक्षण भएन, जनताको सुरक्षा भएन, समान शिक्षा भएन । निःशुल्क स्वास्थ्य उपचार भएन । सही राजनीतिक संस्कार भएन । यो व्यवस्थाले भ्रष्टाचारलाई वैधानिकता दियो । प्रतिष्ठाको, राजनीतिक इमानदारीको राजनीति गर्नेलाई पनि दलालीमा, मोलमोलाइमा बदलिदियो भन्दा कम्युनिस्ट नामका दलाल संसद्वादीहरूले आफ्नो कुकृत्य लुकाउन क्रान्तिकारीहरूमाथि प्रतिबन्ध लगाएको सबैलाई थाहा छ । यो हाम्रो लडाइँ दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आन्दोलन हो । हामी दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछौँ ।

वैज्ञानिक समाजवादी व्यवस्थामा क्षमताअनुसारको काम आवश्यकताअनुसारको दाम, रोजगारीको ग्यारेन्टी, समान पाठ्यक्रमअनुसार शिक्षानीति, निःशुल्क स्वास्थ्यउपचार, राष्ट्र र जनताको सुरक्षा, सबै क्षेत्रमा वैज्ञानिक समाजवादी व्यवस्थाको लगानी हुन्छ । भ्रष्टाचार अन्त्य हुन्छ । इमानदारी, नैतिकता, समर्पणसहितको कम्युनिस्ट राजनीतिक संस्कार, जनताको व्यवस्था भनेको हुनाले यो दलाल संसदीय व्यवस्था र यसका दलालहरूले क्रान्तिकारीमाथि प्रतिबन्ध लगाए । दलालहरूले जनताले भन्दा छिटो बुझे– विप्लवका कारण हामीले लुटिखाएको, पाएको दलाली र लुटको स्वर्गको अन्त्य हुन्छ । त्यही भएर यो प्रतिबन्ध आफ्ना राष्ट्रघात, भ्रष्टाचार, महँगी कमिसन, बलात्कारलाई लुकाउन मञ्चन गरिएको नाटक हो । यसलाई क्रान्तिकारीहरू र नेपाली जनताले चिर्दै अगाडि बढिरहेका छन् । हामी सबै प्रगति, उन्नति, समृद्धि, राष्ट्रियता पक्षधरहरूले यसलाई निमिट्यान्न पार्नैपर्छ । आज सबैले विप्लव अर्थात् नेकपाबाट सिङ्गो देशले आशा गरेको छ । यो आशालाई हामी क्रान्तिकारीहरूले डटेर पूरा गर्नैपर्छ ।

आज जनताले आशा गरेको क्रान्तिकारी शक्ति वा पार्टी कोही छ भने विप्लवले नेतृत्व गरेको नेकपा मात्र हो । यो नै आम बुझाइ हो । यसको अर्थ अरूमा भएका सबै गैरक्रान्तिकारी भन्ने होइन । अरू क्षेत्रतिर भएका इमानदार क्रान्तिकारीहरू पनि अब क्रान्तिको मूलबाटोमा आउन जरुरी छ । यो भनेको एकीकृत जनक्रान्तिको, वैज्ञानिक समाजवाद स्थापनाको मूल बाटो हो । यसमा सहभागी बनौँ । नत्र नाम मात्रको कम्युनिस्ट बन्नु व्यर्थ हो । नेकपाले भनेका सबै विषय आज प्रमाणित भएका छन् । सिंगो नेपाली जनता, नागरिक समाज, मानवअधिकार, प्रगतिशील कम्युनिस्ट, सुरक्षा निकाय, राष्ट्रवादी, राजनीतिज्ञ सबैले विप्लवबाट ठूलो आशा गरेका छन् । हाम्रा गतिविधिमा समर्थन र साथ पनि दिएका छन् । समग्र हिसाबले यो समस्याको निकासका लागि लागिपरेका छन् । आशावादी पनि छन् । हाम्रो विचारमा धेरैले आशा, मुक्तिको त्यान्द्रो देखेका छन् र कहीँकतै छिटफुट शङ्का पनि गरिरहेका छन् । यसका लागि क्रान्तिका क्रममा जातिगत चिन्तनबाट माथि उठ्नैपर्छ । अस्पष्ट, अस्वस्थ, अपारदर्शी सम्बन्धलाई अन्त्य गर्नुपर्छ ।

राजनीतिभन्दा पनि क्रान्तिकारी सम्बन्ध कायम गरौँ । एजेन्सी तहको सम्बन्ध कायम नगरौँ । क्रान्तिका नाममा, नेताका नाममा, जिम्मेवारीको नाम बेचेर एजेन्सी तहको सम्बन्ध कायम गरी ब्रह्मलुट गर्ने, विचार र राजनीतिलाई जबर्जस्ती गैससको तरिकाले गलत प्रभाव पार्ने निच, पुरातनवादी सोचाइले कहिल्यै क्रान्तिलाई फाइदा पुर्याउँदैन । हाम्रासामु इतिहास कायमै छ । कमरेडली सम्बन्ध कायम गरौँ । पार्टीमा कोही नेताले गरेको पहल पवित्र क्रान्तिकारी पहल हुने, सारथी कमरेडले गरेको अपवित्र गठबन्धन हुने, गैरक्रान्तिकारी हुने यो कस्तो बुझाइ हो । पार्टीमा दबदबा कायम गर्नु छ भने विचारको, कार्यदिशाको हैकम कायम गर, पार्टीमा हालीमुहाली कायम गर्नु छ भने सिद्धान्तको गर, नत्र एक दिन गलत साबित हुन्छ । क्रान्तिकारी नीति, विधि, कमरेड्ली भावनाको हैकम कायम गर । सिद्धान्तलाई ठगेर नेतालाई भ्रममा पारेर कथित चिन्तन, जातिगत सोचाइ र व्यक्तिगत सोचाइबाट पार्टीलाई भ्रममा पार्नु नै कथित नोकरशाही र चाकडीबाज सोचाइ हो । यो नै संसदीय चिन्तन हो ।

अन्तरपार्टी जीवनको प्रमुख शत्रु पनि हो यो । क्रान्तिकारी नेताले समग्र स्थितिको अध्ययन गर्नु आजको मुख्य आवश्यकता हो । सीमित व्यक्तिसँगको सम्बन्ध, केही व्यक्तिको रिपोर्टका आधारमा बनाइने मनोविज्ञान र गरिने निर्णय पार्टीका लागि घातक हुनसक्छ । नेतृत्व चौतर्फी ऐतिहासिक द्वन्द्ववादी हुनुपर्छ । यहीँनेर समिति, विधि, नीतिको अभाव महसुस हुन्छ । यहाँसम्म आइपुग्दा महासचिवको नेतृत्वमा नेकपाले अगाडि सारेको विचार अन्तर्राष्ट्रिय स्तरसम्म पनि चिरपरिचित भएको छ । हाम्रा मुद्दा अन्तर्राष्ट्रियकरण भएका छन् । विश्वको ध्यान केन्द्रित भएको छ । अझ एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने पवित्र क्रान्तिकारी उद्देश्यका साथ गहन अमूल्य जीवन अर्पण पनि भएको छ । यो बलिदानले एकीकृत जनक्रान्तिप्रति समर्पण र यसको उचाइ पुष्टि भएको छ । यही सन्दर्भमा पार्टीभित्र थोरै सङ्ख्यामा घैँटे मनोवृत्ति, क्रान्तिका नाममा केही अमूक व्यक्तिले गरेको भ्रष्टाचारले कहिलेकहीँ क्रान्तिकारीहरूमा पर्न गएको नराम्रो प्रभावले पवित्र क्रान्तिकारी बलिदानमाथि पश्न उठ्छ । यो पानीको फोकाजस्तो मात्र हो । यो गलत प्रवृत्तिको समयमै वैज्ञानिक क्रान्तिकारीहरूले बन्ध्याकरण गर्नुपर्छ । भ्रष्टाचार भनेको आर्थिक अनिमियतता मात्र होइन, यहाँ भ्रष्टाचार राजनीतिको तहमा, विचारको तहमा, सम्बन्धको तहमा, सङ्गठनको तहमा छ । पार्टीको विचार र सिद्धान्तलाई तलसम्म स्पष्ट पारेर नलैजानु पनि भ्रष्टाचार हो । व्यक्तिका कुरा पनि एकीकृत जनक्रान्ति हो भन्नु अर्थात् गलत सम्बन्ध पनि सही हो भन्नु, पार्टी नीतिलाई जनतासम्म पुर्याउँदा जातिवादी कुरा गर्नु यहीँ लिप्त हुनु यही नै सङ्गठन हो भन्नु, राजनीतिक हिसाबले पार्टी समितिका कमरेडलाईभन्दा पनि बाहिरकालाई विश्वास गर्नु, सम्बन्धका आधारमा विधि र प्रक्रिया तोडी अपवित्र गठबन्धन कायम गर्नु, कमरेडलाई दुस्मन देख्नु अथवा विश्वास नगर्नु नै भ्रष्टाचार हो । एक शब्दमा भन्दा एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद, समग्र पार्टीनीति, विधि र विचारलाई स्पष्ट अक्षरशः तल्लो तहसम्म नपु¥याउनु नै भ्रष्टाचार हो ।

सङ्गठनमा नेतालाई पैसा दिने, आफूले भनेको मान्ने मान्छेलाई कहीँ नभएको कथित फास्ट ट्र्याकबाट केन्द्रीय नीति, विधि नमानी बढुवा गर्नु, सङ्गठनलाई अमर्यादित तरिकाले एजेन्सी तहबाट सञ्चालन गर्नु नै भ्रष्टाचार हो । क्रान्तिकारी र वैज्ञानिक भनाउँदाले हाम्रो विचार र लक्ष्य नबुझ्नु पनि भ्रष्टाचार हो । जसले आफूलाई पार्टीमा बौद्धिक भन्छन् । आज क्रान्तिलाई चाहिएको कम्युनिस्ट क्रान्तिकारी बौद्धिक राजनीतिज्ञ हो, यो एकीकृत जनक्रान्ति वैज्ञानिक समाजवादलाई आवश्यक छ । राजनीतिज्ञ र बौद्धिक– सैद्धान्तिक हुनु त फरक हो नि । राजनीतिज्ञले पनि आफूलाई बौद्धिक ठान्छन् । यही समस्या हो । क्रान्तिकारीहरू कम्युनिस्ट मूल्य–मान्यतासहितको राजनीतिज्ञसहित बौद्धिक–सैद्धान्तिक हुन्छन् । यो एकीकृत जनक्रान्तिको आवश्यकता हो । त्यसकारण वैज्ञानिक क्रान्तिकारीहरूले यस्ता कहीँ बर्खे च्याउजस्ता, खोज्नलाई साह्रै कठिन पर्ने, साह्रै मेहनत गर्नुपर्ने, भेट्दा पनि टाउका नभएका, ढाड भाँचिएका, पुच्छर चुँडिएकाजस्ता गलत, गैरक्रान्तिकारी मनोवृत्तिलाई कतै अपवादमा देखिन खोजेमा क्रान्तिकारी पार्टी, नेता, कार्यकर्ता, जोसिला युवा शक्तिले सदाका लागि अन्त्य पारौँ र एकीकृत जनक्रान्तिलाई अर्गानिक क्रान्तिकारी मलजल दिई राम्रो उत्पादनमा दरिलो जोसिलो साथ दिऔँ । सहभागी बनौँ ।

२०७६ असोज २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :