जेल साँघुरो घेरा होइन, समग्र विश्व हो : सुदर्शन

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले क्रान्तिकारीहरूका लागि जेल साँघुरो घेरा मात्र नभई ज्ञान प्राप्त गर्ने समग्र विश्व भएको बताएका छन् । उनले सही तरिकाले ज्ञान प्राप्त गरेको खण्डमा १० औँ वर्षको जेलजीवन पनि दशपन्ध्र दिनमा परिणत हुनसक्ने बताएका छन् । हालै नख्खु कारागारमा भएको एक हाजिरीजबाफ प्रतियोगितामा सम्बोधन गर्दै नेकपाका नेता सुदर्शनले भने, ‘हामी सबैतिरका मानिसहरू जेलमा छौँ । यो हाम्रा लागि विश्व हो । हामी सबै जीवनप्रति आशावादी हुनुपर्दछ ।’

जेलमा आन्तरिक प्रशासनले आयोजना गरेको उक्त हाजिरीजबाफ प्रतियोगितामा नेकपाका नेता सुदर्शन, उक्त जेलका नाइके श्रीचन राय यादव, शिक्षक नाइके भरत कार्की र निर्मा शेर्पा निर्णायकमण्डलमा थिए । प्रतियोगितामा चारवटा समूह थिए भने प्रतियोगीहरूलाई १५० वटा प्रश्न सोधिएको थियो । चार समूहमध्ये आन्तरिक समूहको नेतृत्व राकेश श्रेष्ठले, क्रमशः एक नम्बर समूहको नेतृत्व अङ्गतकुमार जोशीले, दुई नम्बर समूहको नेतृत्व राजेन्द्र अधिकारी र तीन नम्बर समूहको नेतृत्व पङ्कज पुरीले गरेका थिए ।

कार्यक्रममको समापनमा सहभागीहरूलाई सम्बोधन गर्दै नेता सुदर्शनले बन्द पर्खालभित्र गरिने यस्ता कार्यक्रमहरूले ज्ञानको सतहलाई बहुआयामिक बनाउने, ज्ञानको सीमा विस्तार गर्ने र अध्ययन/अनुसन्धानका लागि मद्दत गर्ने बताए । यस्तै नाइके श्रीचन राय यादवले यस्ता कार्यक्रमहरूले ज्ञानको सीमा विस्तार गर्ने भएकाले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू गर्दै जाने बताए ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासम माक्र्सवादी दर्शनशास्त्रका विद्यार्थी हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विगत ६ महिनादेखि नख्खु जेलमा छन् । धेरै प्रचारमा आउन नचाहने र अन्तरमुखी स्वभावका उनी माक्र्सवादी दर्शनको अध्ययनमा रुचि राख्छन् । नेकपाका स्थायी समिति सदस्य तथा पार्टीको मध्यकेन्द्रीय कमान्डको इन्चार्जको जिम्मेवारी समालिरहेकै बेला २०७५ साल चैत ९ गते प्रहरीले उनलाई काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेर जाउलाखेल हिरासतमा राखेको थियो भने त्यसपछि सर्वोच्च अदालतको आदेशबाट हाल उनी नख्खु कारागारमा आस्थाका बन्दी छन् ।

२०३५ सालदेखि नै विद्यार्थी राजनीतिबाट नेपाली कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका सुदर्शन पेसाले पहिले शिक्षक थिए । उनलाई जनयुद्धकालमा प्रचण्डपथका व्याख्याताका रुपमा पनि चिनिन्छ । जनयुद्धमा विचार संश्लेषण गरिएको प्रचण्डपथलाई मोहन वैद्य ‘किरण’ र सुदर्शनले दार्शनिक रूपमा व्याख्या गरेका थिए । जनयुद्धकालीन समयमा बझाङ/बाजुरामा सङ्गठन निर्माणको सिलसिलामा पुगेको बेला उनले २०५५ सालदेखि २०५८ सालसम्म जेलजीवन बिताएका थिए । पञ्चायत कालमा पटकपटक हिरासतमा परेका उनी दुईपटक एउटै राजद्रोहको मुद्दामा जेल परेका छन् । स्मरणीय छ, जनयुद्धमा राजद्रोहको मुद्दा खेप्दा मुलुकमा राजतन्त्रात्मक संसदीय व्यवस्था थियो भने यतिबेला उनलाई हिजोका उनकै सहकर्मीहरूले राजद्रोही भन्दै जेलमा राखेका छन् ।

२०७६ भदौ २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :