दलाल सत्ता र महिला उत्पीडन : शाही

सिसम शाही

सिसम शाही

समाजमा रहेका विकृति–विसंगतीमध्ये महिला समस्या पनि एक हो । सामन्ती दलालसत्ताले महिलालाई उपयोग गर्ने अनि त्यसको व्यवस्था गर्दा आज धेरै समस्या उत्पन्न भएर आइरहेको छ । समाजमा हुने धेरै जसो समस्या उत्पन्न भएर आइरहेका छन् । समाजमा हुने धेरैजसो समस्या महिलाहरुको नै छ । आज देशमा भयावह बलात्कार, हिंसा र यातनाले भरिभराउ छ भने अर्कोतिर दलाल सत्ता महिलाका अधिकारमाथि उदासिन छ । देशको आधा जनसंख्या महिलाहरुले ओगटेका छन् तर यी तमाम समस्याको समाधान गर्नुको सट्टा उल्टो अपराधीहरुलाई प्रश्रय दिने, संरक्षण गर्ने परिपाटी रहि आएको छ ।

आज देशभरि साना–साना ५/६ वर्षका नानीहरुलाई फकाई फुलाई जबरजस्तीकरणी गर्ने र अन्तमा आफ्नो कार्य पूरा गरिसकेपछि हत्या गरेर फ्याकिदिने जस्ता अपराधिक घटना जगजाहेर छन् । भर्खरै चितवनको माडीमा दुई बालिकालाई पासविक बलात्कारपछि विभत्स ढङ्गले हत्या गरी पोखरीमा फ्याँकिएको थियो भने पोखरामा ६ वर्षिया बालिकालाई बलात्कार गर्ने कोशिस गरिएको घटना ताजै छ । यदि यो देशमा विधिको शासन, मानव अधिकार र न्याय तथा शान्ति हुन्थ्यो भने यस्ता घटना हुने थिएनन् । तर आज देश दलाल सत्ताका अपराधिक मानसिकता भएका मानिसहरुको हातमा हुँदा अपराधीहरु उम्किने, पीडितले न्याय नपाउने तर अपराधीलाई दण्ड होइन उन्मुक्ति दिने काम भइरहेको छ । आफ्नो समस्यालाई आफै उठाउँदै समाजमा रहेका विविध समस्याहरु हल गर्ने यसको नेतृत्व गर्ने एउटा शक्ति हुनु आवश्यक छ । हामी महिला बालबालिकाहरुको सुरक्षा यो राज्यले गर्नुपर्ने हो तर महिला बालबालिकालाई दलाल संसदीय व्यवस्थाले न्याय तथा सुरक्षा होइन बरु दुःख दिइरहेको छ ।

भर्खरै मेरा साना नानीबाबुहरु आमाको न्यानो काखमा सुतिरहेको अवस्थामा यो दलाल सत्ताको प्रहरीले यही वैशाख २० गते राती १ बजे गुण्डागर्दीको शैलीमा बाबुनानीसहित गिरफ्तार गरी हिरासतमा राखेको थियो । भौतिक, मानसिक यातना कलिला साना बालबालिकालाई कस्तो मनोवैज्ञानिक असर पर्छ ? त्यो कुरा दलाल सत्तालाई के थाहा छ र ?

अहिले पनि महिला मुक्तिको प्रश्न उठिरहेको छ । विभिन्न राजनीतिक आन्दोलन हुन्छ । युद्ध, क्रान्ति हुन्छन् । त्यो बेला महिला मुक्तिको प्रश्न दह्रो रुपमा उठ्ने गर्छ । त्यसपछि आन्दोलन क्रान्ति सम्पन्न भइसकेपछि महिला मुक्ति हुँदैन । बरु महिला उत्पीडन भइनै रहन्छ । आज देशमा धेरै परिवर्तन भयो, धेरै नयाँ र न्याय जो कुराहरु आए तर महिला बालबालिकालाई त्यति सार्थक भएन । जनयुद्ध, जनआन्दोलनमा महिलाको उल्लेखनीय उपस्थिति भएको कारण परिवर्तन क्रान्ति सम्भव भएको तर सत्ता प्राप्त भएपछि पितृसत्तात्मक सोचका कारण महिलालाई अगाडी बढ्न दिइएन । अझै पनि पछि पारी राखेको अवस्था छ । यस्तो हुनुको मुख्य कारण राज्य जवाफदेही नहुनु हो । निरीह भएर बलात्कार, महिला हिंसा आज दिनानुदिन बढेर गएका छन् । महिलामाथि हुने सबैखाले उत्पीडन, अन्याय–अत्याचारलाई अन्त्य गर्न सही राजनीतिक शक्तिको खाँचो छ । यी सबै शोषण उत्पीडन अन्त्य गर्दै सम्मुन्नत नेपाल शान्त वातावरण सामाजिक न्याय र महिला मुक्ति सम्पन्न गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा अग्रसर दलाल सत्ताको अन्त्यसँगै महिला उत्पीडन पनि अन्त्य हुन्छ । अनि समाज पनि सभ्य अनुशासित हुन्छ ।

विदेशी एन.जि.ओ.–आई.एन.जि.ओ.बाट सञ्चालित पैसावाला अधिकारकर्मीहरुले अधिकार दिलाउँदैनन् बरु उल्टै दलाल सत्ताको पक्षपोषण गर्छन् । महिलामाथि हुने सबैखाले हिंसाबारे यहाँ कसले बोलेको छ र ! महिलामाथि छुवाछूत, भेदभाव बोक्सीको आरोप लगाउनेलगायत अरु यस्ता कामहरुमा यहाँका मानव अधिकारवादी बोल्दैनन् । महिला अधिकारकर्मी बोल्दैनन् । अनि राज्य नि बोल्दैन अनि कसरी हुन्छ महिलामाथिको न्याय र विकास कसरी पाइन्छ ? यी सबै दोष दलाल संसदीय व्यवस्थाको हो । राज्य जिम्मेवार छैन । अवाफदेही छैन । यसले देशको समस्या समाधान गर्दैन बरु उल्टै विकराल संकट उत्पन्न गर्दै जनतालाई राहतको बदला आहात दिन्छ । यो समस्याको अन्त्य केवल एकीकृत जनक्रान्तिले मात्र गर्दछ । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ । यो सबै समस्याको सामाधान तथा संसदीय व्यवस्थाको अन्त्य वैज्ञानिक समाजवादको स्थापनाले मात्र गर्छ ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :