विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौं : चितवन र पर्वतमा भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति लगभग पाैने १२ बजे भएको हो ।

यसैगरी पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजेको समयमा समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । मोटरसाइकलमा सवार तीन जनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

२०७६ भदौ १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :