पुँजीको गति र त्यसमा अन्तर्निहित अन्तरविरोध


पुँजीको चलन प्रक्रिया अतिरिक्त मूल्यको शोषण र असुलीको प्रक्रिया हो ।
पुँजीको चक्रीय प्रवाह, पुँजीको कारोबार र सामाजिक पुँजीको पुनरुत्पादन ।

पुँजीलाई पुँजी नै बनाइरहनका निम्ति त्यसलाई निरन्तर गतिशील बनाइराख्नु आवश्यक हुन्छ । पुनरावृत्तिहरूको एउटा अन्त्यहीन सिलसिलामा विनिमय प्रक्रियाबाट उत्पादन प्रक्रिया र फेरि उत्पादन प्रक्रियाबाट विनियम प्रक्रियाका बीचमा आउने–जाने गरिरहन्छ । पछिल्ला दुईवटा अध्यायमा हामीले विनिमय प्रक्रियालाई केही समयका निम्ति नदेखेजस्तो गरी उत्पादन प्रक्रियामा पुँजीमाथि ध्यान केन्द्रित गरेका थियौँ । यस अध्यायमा हामी पुँजीको गति र त्यसमा अन्तर्निहित अन्तरविरोधहरूलाई विनिमयको दृष्टिकोणबाट विश्लेषण गर्नेछौँ ।

पुँजीको परिचालनले तीन चरणहरू पार गर्दछ र तीनवटा रूप अख्तियार गर्दछ : 
पुँजी परिचालनका तीनवटा चरणले उत्पादन प्रक्रिया र विनिमय प्रक्रियाको एकतालाई प्रदर्शित गर्दछन् ।
आफ्नो गतिका क्रममा पुँजी क्रमशः तीन चरणहरूबाट पार हुने गर्दछ र त्यहीअनुरूप तीनवटा रूप अख्तियार गर्दछ ।
पुँजीको गतिको प्रथम चरणमा पुँजीपतिलाई बजारबाट उत्पादनका साधन र श्रमशक्ति खरिद गर्नका निम्ति निश्चित मात्रामा मुद्रा निकाल्नु पर्दछ । मुद्रालाई G, मालहरूलाई W, श्रम शक्तिलाई A र उत्पादनका साधनहरूलाई P द्वारा प्रदर्शित

गर्यौ भने यस प्रक्रियालाई निम्नरूपमा देखाउन सकिन्छ :

यस चरणमा पुँजीपतिलाई मुद्राले खरिद र भुक्तानको साधनको काम गर्दछ । यसका साथै त्यसले पुँजीको पनि काम गर्दछ किनभने पुँजीपतिले जुन वस्तु खरिद गर्दछ त्यो हो श्रमशक्ति र उत्पादनका साधन जसको प्रयोग मजदुरबाट अतिरिक्त मूल्य असूल गर्नका निम्ति गरिन्छ । यहाँ मुद्रा–पुँजी बन्न जान्छ । उत्पादनका साधनहरू र श्रमशक्तिको खरिदको माध्यमबाट मुद्रा पुँजी उत्पादन पुँजीमा बदलिन जान्छ । मुद्रा पुँजीको कार्य अतिरिक्त मूल्य सिर्जनाको तयारी गर्नु हो ।

पुँजीको गतिको दोस्रो चरणमा पुँजीपतिले उत्पादनका साधनहरू र श्रम शक्तिको मेलबाट उत्पादन सुरु गर्दछ । यसप्रकार पुँजीको विनिमय प्रक्रियाको अन्त्य हुन जान्छ र उत्पादन प्रक्रिया सुरु हुन थाल्छ । यस प्रक्रियाका क्रममा श्रमशक्ति खर्च हुने गर्दछ, कच्चा पदार्थहरूको प्रशोधन हुन जान्छ । उपकरणहरू खिइन्छन् र एउटा निश्चित मात्रामा मालहरूको उत्पादन हुन पुग्छ । उत्पादन पुँजी माल–पुँजीमा बदलिन जान्छ ।

यस चरणमा माल–पुँजीमा मजदुरद्वारा सिर्जित अतिरिक्त मूल्य सम्मिलित हुने गर्दछ । यो पहिले खरिद गरिएका मालहरूभन्दा भिन्न मात्र देखिँदैन, त्यसको मूल्य पनि मूल पुँजीभन्दा धेरै हुन जान्छ ।
यस प्रक्रियालाई यसरी पनि देखाउन सकिन्छ –

यहाँ P ले उत्पादन प्रक्रियामा उत्पादन पुँजीको प्रतिनिधित्व गर्दछ । P अगाडि र पछाडिका बिन्दुहरूले देखाउँछन् । W ले मालहरूको प्रतिनिधित्व गर्दछ जसमा अतिरिक्त मूल्य समावेश भइसकेको हुन्छ ।

यस चरणमा उत्पादनका साधन र श्रमशक्ति उत्पादनका कारक मात्रै होइन, पुँजीको पनि भूमिका निर्वाह गर्छन् किनभने पुँजीपतिले ती उत्पादनका साधनहरू र श्रमशक्तिको मेलबाट अतिरिक्त मूल्य उत्पादन गर्दछन् । यसप्रकार उत्पादन पुँजीको कार्य अतिरिक्त मूल्यको उत्पादन गर्नु हो ।

पुँजीको गतिको तेस्रो चरणमा पुँजीपतिले उत्पादित मालहरूलाई बिक्रीका निम्ति बजारमा लैजान्छन् । मालहरूको बिक्रीको माध्यमबाट माल पुँजी फेरि मुद्रा–मुद्रामा बदलिन पुग्छ । यसप्रकार पुँजी फिर्ता भएर मुद्राका रूपमा आउने गर्दछ । यस प्रक्रियालाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ :

यहाँ G ले मुद्रा–पुँजीलाई दर्साउँछ जसको मूल्यमा वृद्धि भइसकेको छ । यसमा पुँजीपतिद्वारा लगाइएको पुँजी र उत्पादित अतिरिक्त मूल्य– दुवै मूल्य समाहित भएको हुन्छ । यसप्रकार W…..G न त केवल माल र मुद्राका बीचको रूपान्तरणको प्रक्रिया हो बरु त्यसभन्दा पनि बढी महत्वपूर्ण रूपबाट त्यो यस्तो प्रक्रिया हो जसमा मालहरूमा समाहित र पुँजीपतिद्वारा विनियोजित अतिरिक्त मूल्यको असुली हुने गर्दछ । माल पुँजीको कार्य अतिरिक्त मूल्यको असुली गर्नु हो ।

पुँजीका तीनवटा चरण र तीनवटा रूपले यो देखाउँछन् पुँजीले हरेक चरण र रूपमा एउटा स्वतन्त्र कामलाई पूरा गरिदिन्छ । यसले एउटा काम पूरा गरिसकेपछि दोस्रो चरणमा प्रवेश गर्दछ र अर्को रूप लिन पुग्छ । यी क्रमिक रूपान्तरणबाट पार हुने त्यस्तो पुँजीलाई औद्योगिक पुँजी भनिन्छ । यस औद्योगिक पुँजीमा केवल उत्पादन पुँजी मात्र हुँदैन कृषि र निर्माणजस्ता अन्य उत्पादन क्षेत्रका पुँजी पनि समावेश हुने गर्दछ । यस पुँजीले क्रमशः आफ्नो रूप बदलिरहन्छ र तीनवटा चरणहरू पार गरेर आफ्नो मूल्य बढाउँछ र पुनः प्रारम्भिक बिन्दुमा फर्केर आउँछ । यो गति पुँजीको परिचलन हो । त्यसको सम्पूर्ण प्रक्रियालाई यसप्रकारले पनि देखाउन सकिन्छ :

औद्योगिक पुँजीको परिचालनमा पहिलो र तेस्रो चरण विनिमय प्रक्रिया हुने गर्दछ जब दोस्रो चरण उत्पादन प्रक्रिया हुने गर्दछ । यी तीनवटा चरणहरूमा उत्पादन प्रक्रियाको निर्णायक भूमिका हुने गर्दछ किनभने यही प्रक्रियामा अतिरिक्त मूल्य उत्पादित हुने गर्दछ । पहिलो र तेस्रो चरणमा पुँजीले केवल रूप मात्र बदल्छ । त्यसको मूल्य स्थिर रहन्छ । यद्यपि औद्योगिक पुँजी परिचलनका निम्ति पहिलो र तेस्रो प्रक्रिया अनिवार्य छन् । विनिमय प्रक्रियाहरूबिना पुँजीपतिले अतिरिक्त मूल्यको उत्पादन र असुली गर्न सक्दैन । त्यसकारण औद्योगिक पुँजीको चक्रीय प्रवाह उत्पादन र विनिमय प्रक्रियाहरूको एकता हो । अतएवः औद्योगिक पुँजीका तीनवटा चरण अन्तरसम्बन्धित हुनुपर्छ र पुँजी एउटा चरणबाट अर्को चरणमा पार भइरहनुपर्छ । पुँजीको पहिलो चरणमा नै G-W रोकिन्छ भने त त्यो सञ्चय गरेर राखेको धन बन्न पुग्छ र पुँजीको भूमिका विवाह गर्न सक्दैन । त्यसको परिचलन दोस्रो चरणमा रोकिन्छ भने अतिरिक्त मूल्यको उत्पादन हुन सक्दैन । त्यसको परिचलन तेस्रो चरणमा रोकिन्छ भने त अतिरिक्त मूल्यको असुली हुन सक्दैन ।

औद्योगिक पुँजीको परिचलनका तीनवटा चक्रीय प्रवाहहरूका बीचमा एकताको प्रतिनिधित्व गर्दछ ।

निरन्तर अतिरिक्त मूल्यको असुली गरिरहनका निम्ति पुँजीपतिले सुनिश्चित गर्नुपर्दछ– पुँजीको परिचलन लगातार जारी रहोस् । यसप्रकार औद्योगिक पुँजीको परिचलनको सूत्र अन्त्यहीन हुन्छ :

उपरोक्त सूत्रले के देखाउँछ भने औद्योगिक पुँजीको निरन्तर गतिमा एउटा होइन, तीनवटा चक्रीय प्रवाह हुने गर्दछन् :

(१) मुद्रा–पुँजीको परिचलन G….G (२) उत्पादन पुँजीको परिचलन : P…P (३) माल–पुँजीको परिचलन W…W, पुँजी परिचलनलाई निरन्तर जारी राख्नका निम्ति पुँजीपतिले के सुनिश्चित गर्नुपर्दछ भने उसको पुँजी एकैसाथ उपरोक्त तीनवटै रूपहरूमा बनिरहोस् र त्यसको चक्रीय प्रवाह जारी रहोस् । उदाहरणका निम्ति मानौँ एउटा पुँजीपतिसँग ६०,००० युआनबराबर पुँजी छ । त्यसलाई उसले तीन भागमा बाँड्छ– २०,००० युआन मुद्रा–पुँजी, २०,००० युआन उत्पादन पुँजी र २०,००० युआनको माल पुँजीका रूपमा राख्छ । यस तरिकाले जुन समयमा पुँजीपतिले २०,००० युआनको माल– पुँजीलाई मुद्रा पुँजीमा बदल्छ त्यसै समयमा २०,००० युआनको उत्पादन पुँजी माल पुँजीमा र २०,००० युआन मुद्रा पुँजीलाई उत्पादन पुँजीमा बदलिरहेको हुन्छ । ६०,००० युआनको सम्पूर्ण पुँजीलाई एउटै रूपमा राखिन्छ भने उत्पादन निरन्तर होइन, रोकीरोकी मात्रै चलाउन सकिने थियो । यी तीनवटा रूपमध्ये कुनै पनि रूपमा पुँजी परिचलनको गति यसप्रकार रोकिन्छ– परिचलन अवरुद्ध हुन पुग्छ । उदाहरणका निम्ति मालहरूको बिक्री हुन सकेन र मालपुँजीलाई मुद्रा पुँजीमा बदल्न सकिएन भने त समस्त पुँजी परिचलन अस्तव्यस्त हुन जान्छ र पुँजीको गति अवरुद्ध हुन जान्छ । पुँजीपतिले उद्योग नै बन्द गर्नुपर्ने हुन्छ ।

पुँजीको कारोबार (टर्नओभर) अतिरिक्त मूल्यको निरन्तर उत्पादन र असुली हो ।
उत्पादन र विनिमयमा लाग्ने समयले पुँजीको कारोबारको गति तय गर्दछ ।

पुँजी परिचलन अन्त्यहीन पुनरावृत्तिहरू हुँदै जारी रहन्छ । पुँजीको यस निरन्तर परिचलनलाई पुँजीको कारोबार (टर्नओभर) भनिन्छ । माक्र्सले भन्नुभएको छ, ‘जब पुँजी परिचलनलाई अलग– अलग घटनाहरूभन्दा एउटा आवर्ती प्रक्रियाका रूपमा देखिन्छ तब त्यसलाई पुँजीको कारोबार भन्ने गरिन्छ ।’१

पुँजीको कारोबार उत्पादन र विनिमयका क्षेत्रहरूबाट पार हुने गर्दछ । जति समयसम्म पुँजी उत्पादन क्षेत्रमा रहन्छ त्यसलाई पुँजीको उत्पादन अवधि भनिन्छ । जति समय पुँजी विनिमयका क्षेत्रमा रहन्छ त्यसलाई पुँजीको विनिमय अवधि भनिन्छ । यी दुवैको योग पुँजीको कारोबार अवधि हुने गर्दछ ।

पुँजीको उत्पादन अवधिमा निम्नलिखित तीनवटा हिस्सा हुन्छन् : पहिलो त्यो अवधि जब उत्पादनका साधन उत्पादनमा आफ्नो काम पूरा गर्दछन् । मुख्यतः यो त्यस्तो श्रमकाल हुने गर्दछ जुन मजदुरले उत्पादनका निम्ति लगाउने गर्दछ । यसमा श्रमको अवधि कति होला– यो दुईवटा कुराबाट निर्धारित हुन्छ ।

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्