दार्शनिक घोषणापत्र


(१) आजभन्दा १ सय ७१ वर्षपहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले साम्यवादी दलको घोषणापत्र प्रकाशन गर्नुभएको थियो । यो घोषणापत्र ती लाखौँ मजदुर, किसान आन्दोलन, हजारौँको बलिदान, साम्यवादी चिन्तकहरूको योगदान, न्यायप्रिय सङ्घ र कम्युनिस्ट लिगका नेता तथा कार्यकर्ताहरूको कठोर त्याग, तपस्या, यातना र बलिदानको संश्लेषण हो । यही कारणले गर्दा माक्र्स–एङ्गेल्सले श्रमजीवी तथा सर्वहारावर्गमा भौतिक हतियार भेट्टाउनुभयो भने श्रमजीवी तथा सर्वहारावर्गले उहाँहरूको दर्शनशास्त्रमा बौद्धिक हतियार भेट्टायो । उहाँहरूले आफ्नो समयसम्म मानव जातिले हासिल गरेको ज्ञानको समग्र विश्लेषण गरेर बौद्धिक सारतत्व निकाल्नुभयो । त्यसैले उहाँहरूको दर्शन सर्वशक्तिमान र सार्वभौम भएको छ ।

हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद, कान्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो–बाकुनिनको अराजकतावादी व्यक्तिवादविरुद्ध भीषण सङ्घर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेपछि मात्र उहाँहरूले यसलाई जीवन–व्यवहारमा लैजान विश्व–साम्यवादी दलको घोषणापत्र जारी गर्नुभएको थियो । यहाँ भन्न खोजिएको के हो भने विश्वदृष्टिकोणमा स्पष्ट भएपछि मात्र उहाँहरूले कम्युनिस्ट लिगका तर्फबाट उक्त घोषणापत्र लेख्नुभएको थियो । माक्र्सले आफ्नो विद्यावारिधि नै ‘एपिक्युरियन र डेमोक्रिटियन दर्शनबीच भिन्नता’ लेखेर गर्नुभएको थियो । त्यसपछि धर्म र दर्शनबारे बहस चलाउनुभएको थियो । १८४४ मा उहाँले हेगेलको कानुन दर्शनमा आलोचनामा योगदान शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै संश्लेषण गर्नुभएको छ, ‘धर्म जनताका लागि अफिम नै हो ।’ उक्त आलेखमा के पनि भनिएको छ भने ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो । त्यसरी नै उक्त कृतिमा उहाँले धर्म भनेको भ्रम भएकाले भ्रमको आवश्यकता पर्ने राज्यकै अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । धर्मको आलोचना गर्दै उहाँ यस्तो निष्कर्षमा पुग्नुभयो, ‘निश्चय नै आलोचनाको हतियारले हतियारको आलोचनालाई ढाल्न सक्दैन । भौतिक शक्तिलाई ढाल्न भौतिक शक्ति नै चाहिन्छ । तर विचारले पनि जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ, त्यति छिटो यो भौतिक शक्तिमा रूपान्तरण हुन्छ ।’ यसको अर्थ धर्मको सहारासहित बन्दुकको आडमा बाँचेको पुरानो राज्यसत्ताको धर्मप्रति आलोचना गरेर मात्र त्यो ढल्दैन । यसका लागि वैज्ञानिक विचारधारालाई जनबलमा रूपान्तरण गर्नुपर्दछ ।

कार्ल माक्र्सका सर्वश्रेष्ठ उत्तराधिकारी लेनिनले धर्मलाई ‘फलहीन फूल’ भन्नुभएको छ तर उहाँकै भनाइअनुसार यो फलहीन फूलका जराहरू उर्वर धर्तीमा गाडिएकाले शक्तिशाली छ । यसलाई सजिलै ढाल्न सकिँदैन । यो वास्तवमा अधिभूतवादी आदर्शवाद एवम् अध्यात्मवादको आधार बनेको छ । उहाँले के पनि भन्नुभएको छ भने साम्यवादी दलमा धार्मिक सदस्य हुन सक्दैन । द्वन्द्वात्मक भौतिकवादी मात्र त्यसका सदस्य हुन्छन् । साम्यवादी दललाई समर्थन गर्ने जनता विभिन्न धर्ममा आस्थावान् हुनसक्छन् । ती जनता वैज्ञानिक समाजवादी क्रान्तिको प्रक्रियामा धार्मिक रूढिवादबाट मुक्त हँुदै जानेछन् । उहाँका अनुसार विज्ञानको ज्ञानले धार्मिक रूढिवादको बादल हट्दै जानेछ । जब अधिभूतवादी आदर्शवादका आचार्यहरू विज्ञानको विकास र आविष्कारलाई नै भ्रमित पार्न पैतालादेखि टुप्पीसम्मको बल लगाउन थाले तब लेनिनले सन् १९०८ मा ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ नामक प्रसिद्ध कृति रचना गर्नुभयो । अस्ट्रियाली आदर्शवादी दार्शनिक अर्नेस्ट्रो माख र रुसी माखवादीहरूले आधुनिक विज्ञानको बढाइचढाइ चर्चा गर्दै ‘पदार्थ लोप भएको’ भन्दै घुमाएर भौतिकवादमाथि प्रहार गरे र आदर्शवादको रक्षा गरे । अणु र परमाणु मात्र होइन, बरु इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनलगायत सूक्ष्म वस्तुहरू पत्ता लागे । यसका साथै पछि प्रतिइलेक्ट्रोन, प्रतिप्रोटोन र प्रतिन्युटनको आविष्कारले द्वन्द्ववादको नियमलाई नै सिद्ध गरेका थिए । माख र माखवादीहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई गलत साबित गर्न ‘ पदार्थ लोप भएको’ घोषणा गरे । उनीहरू त फेरि १७ औँ शताब्दीका ह्युम र वर्कले अनि कान्टकै ‘वस्तु–आफैँ–भित्र’ को पश्चगमनमा पुगे । यो संसार जान्न सकिँदैन भन्दै अज्ञेयवादको अन्धकारमा पुगे । देख्न, सुन्न र अनुभूति गर्न नसकिने पदार्थ हुँदैन भन्न थाले उनीहरूले । लेनिनले उनीहरू ‘आनुभविक आलोचनावादी’ हुन् भनी न्वारान गर्नुभयो भने ‘ पदार्थ लोप भयो’ भन्नेहरूलाई ‘पदार्थ लोप भएको होइन, हाम्रो ज्ञानको सीमा लोप भएको हो’ भनी जबाफ दिनुभएको थियो । दर्शनशास्त्र निष्पक्ष हुन्छ भन्नेहरूलाई मुखभरिको जबाफ दिँदै उहाँले भन्नुभएको छ, ‘दुई हजार वर्षपूर्व जसरी दर्शनशास्त्र पक्षधर थियो, आज पनि उत्तिकै पक्षधर छ ।’

यसरी लेनिनले द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो र नयाँ रूपमा देखापरेको अधिभूतवादी आदर्शवादको भण्डाफोर गर्नुभयो । लेनिनले भौतिकवादलाई अझ बढी जुझारु र धारिलो बनाउनुभयो । भँडुवा विकासवादको धज्जी उडाउनुभयो उहाँले । उहाँले द्वन्द्ववादको विकास गर्ने समय नै पाउनुभएन । तथापि उहाँले यसको विकासका लागि दार्शनिक नोटबुक तयार पार्नुभएको थियो । दार्शनिक नोटबुकमा नोट गर्दै उहाँले भन्नुभएको छ, ‘विपरीतहरूको एकता र सङ्घर्ष नै द्वन्द्ववादको सारतत्व हो…तर यसको व्याख्या र विकासको आवश्यकता छ ।’

उक्त व्याख्या र विकासको कार्यभार माओले आफ्नो काँधमा लिनुभयो । द्वन्द्वात्मक भौतिकवादमा रहने यान्त्रिक भौतिकवादी र अधिभूतवादी समस्या समाधान गर्न उहाँले ‘ व्यवहारबारे’ लेख्नुभयो भने भौतिकवादी द्वन्द्ववादको विकास गर्न ‘अन्तरविरोधबारे’ जस्ता प्रसिद्ध रचना गर्नुभयो । माक्र्स–एङ्गेल्सले द्वन्द्ववादका तीन नियम : विपरीतहरूको एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन र गुणको मात्रामा परिवर्तन अनि निषेधको निषेधको व्याख्या र विकास गर्नुभएको थियो । माओले लेनिनकै निष्कर्षअनुसार विपरीतहरूको एकता र सङ्घर्षलाई मुख्य नियम बताउँदै मात्रा र गुण यही नियमअन्तर्गतका विपरीतहरू हुन् भनी संश्लेषण गर्नुभयो भने निषेधको निषेधलाई सच्याउँदै विकासप्रक्रिया सकार–नकार– सकारबाट अघि बढ्ने बताउनुभएको छ । हामीले यी तीन नियमलाई समानान्तरमा आमनेसामने राख्यौँ भने अद्वैतवाद होइन, बरु त्रैतवाद हुन्छ भन्ने संश्लेषण उहाँले गर्नुभएको छ । उहाँले यी तीनै नियमलाई एउटै ‘अन्तरविरोध’ को नियममा संश्लेषण गर्नुभएको छ । प्रकृति, समाज र मानवचिन्तनमा रहेका हजारौँ अन्तरविरोधमा प्रधान अन्तरविरोध पत्ता लगाउने, प्रधान र सहायक अन्तरविरोधको द्वन्द्वात्मक सम्बन्ध तथा प्रधान पहलु पत्ता लगाउने, अन्तरविरोधको मैत्रीपूर्ण र शत्रुतापूर्ण स्थितिको पहिचान गर्ने द्वन्द्ववादको विकास उहाँले गर्नुभयो । यही सिद्धान्तअन्तर्गत ‘एक दुईमा विभाजन’ को विकास पनि उहाँले गर्नुभयो । यसले गर्दा ‘कालो बिरालो होस् वा सेतो, बिरालोको काम मुसा मार्ने हो’ भन्ने वर्गसमन्वयवादी सिद्धान्त ध्वस्त भयो । उहाँले धर्मका सम्बन्धमा पनि आफ्नो कृति ‘द्वन्द्वात्मक भौतिकवाद’ मा विश्लेषण गर्नुभएको छ । धर्म र देवताहरूको उत्पत्ति मानिसको प्रकृति र मानव समाजसम्बन्धी अज्ञानताबाट भएको हो । अध्यात्मवाद र भौतिकवादको लडाइँमा अन्ततः भौतिकवादकै विजय हुनेछ किनभने विज्ञान र सत्यको जित हुनैपर्दछ । त्यसकारण वस्तुगत संसारको विकाससँगै विचारधाराको द्रुत विकास गर्न आवश्यक छ । माओले एक ठाउँमा धर्मबारे कार्यकर्ता र नेतालाई भन्नुभएको छ, ‘धनुषलाई तानेर खिच तर नहान ।’ नेता र कार्यकर्ताहरूले धार्मिक रूढिवादबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणले जनतालाई सचेत बनाउनुपर्दछ । उनीहरू सचेत र विश्वस्त भइसकेपछि धार्मिक रूढिवादका विरुद्धको कार्यक्रममा स्वयम् जनता उत्रिन्छन् । यसले गर्दा जनताको दिलदिमागमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बलियो भौतिक शक्तिमा रूपान्तरण हुनेछ । यसले उनीहरूको विचारधारात्मक शक्तिको विकास गर्दछ । आजका पुँजीवादी साम्राज्यवादका शासकहरूले आफ्नो शोषण, दमन र उत्पीडन गर्ने माध्यम धर्मलाई बनाएका छन् । धर्मको मुकुन्डो लगाएर उनीहरूले संसारमा हत्या, आतङ्क र प्रभुत्व जमाएर प्राकृतिक साधन–स्रोतको दोहन गरिरहेका छन् ।

त्यसकारण साम्यवादको दोसल्ला ओढेर धार्मिक रूढिवादको पक्षपोषण गर्दै जनताको शोषण, दमन, लुट–खसौट मच्चाउनेहरूलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका शत्रु घोषणा गर्नुपर्दछ । उनीहरू साधारण गोलीभन्दा दस गुणा विध्वंसक चिनीले बेरिएका गोलीहरू; साधारण ब्वाँसोभन्दा दस गुणा खतरनाक भेडाको छाला ओढेका ब्वाँसाहरू; दारा र नङ्ग्रा देखाएका बाघभन्दा दस गुणा डरलाग्दा बाघहरू; सेतो झन्डा बोकेका दुस्मनभन्दा दस गुणा षड्यन्त्रकारी रातो झन्डा बोकेका दुस्मनहरू; सामान्य सर्पभन्दा दस गुणा विषालु हरियो घाँसभित्र लुकेको हरियो सर्प; चर्च, मस्जिद, मन्दिर र गुम्बामा बसेका धर्मभीरुहरूभन्दा दस गुणा भ्रान्तिकारी घोषणा गर्नुपर्दछ । आज हामीले यो खुसी पनि व्यक्त गर्नुपर्दछ– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दोसल्ला ओढेका धार्मिक रूढिवादीहरूको जनताका बीचमा शीघ्रतापूर्वक भण्डाफोर भएको छ । उनीहरूको धार्मिक खोल नराम्रोसँग च्यातिएको छ ।

(२) विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू असफल भएका हुन् । माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, बरु यो परिस्थितिको विकाससहित जीवनशैलीमा जीवन्त ढङ्गले अभिव्यक्त हुने दर्शन हो । सिद्धान्तमाा भौतिकवादको वकालत र जीवनशैलीमा अध्यात्मवाद माक्र्सवाद होइन । यही समस्याको समाधान गर्न माओले चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो । दर्शनलाई जीवनमा लागू नगर्नु र जीवनमा आएको निरन्तर विकासको गतिलाई दर्शनमा नसमेट्नु नै प्रतिक्रान्तिको कारक हो ।

साम्यवादी समाज व्यवस्था एकैपटक आकाशबाट खस्ने अथवा धर्तीबाट उम्रने कुरा होइन । म साम्यवादी दलको सदस्य भैसकेको छु भने मैले आजै र अहिल्यैदेखि त्यस व्यवस्थाका लागि न्यूनतम् आचरणको नमुना बन्दै जानुपर्दछ । परिवारलाई समाजवाद र साम्यवादको एकाइमा विकास गर्ने कोसिस गर्नुपर्दछ । प्रथमतः मभित्र र द्वितीयतः परिवारभित्र प्रतिक्रान्तिका बीजहरू रहने भएकाले त्यहाँबाटै सांस्कृतिक क्रान्ति चलाउनु पर्दछ । विश्वदृष्टिकोणसम्बन्धी स्कुलिङ चलाउनुपर्दछ । हाम्रा भूतपूर्व कमरेडहरूले सधँैभरि बत्तीमुनि अँध्यारो पारिराख्नुभयो । जीवनसाथीले जीवनसंगिनीलाई र जीवनसंगिनीले जीवनसाथीलाई सचेत बनाउने, दर्शनशास्त्र सिकाउने काम भएन । आमाबाबाले छोराछोरीलाई र छोराछोरीले आमाबाबालाई विश्वदृष्टिकोणमा पढाउने काम भएन । हामी बसेको घर र हाम्रो खेतबारी सामूहिक श्रमको उत्पादन हो भन्नेतिर हामीले कुरै गरेनौँ । पहिले जनवादी क्रान्ति गर्नुपर्दछ र यसलाई वैज्ञानिक समाजवादमा विकास गर्नुपर्दछ । संसारका अधिकांश देशहरूमा वैज्ञानिक समाजवाद आएपछि साम्यवाद आउँछ भनेर ठूलाठूला कुरा त हामीले ग¥यौँ तर समाजवाद र साम्यवाद मबाट र हाम्रै परिवारबाट लागू गर्नुपर्दछ भन्ने कुरा हामीले बुझेनौँ र अरूलाई बुझाएनौँ । अरूलाई माक्र्सवाद पढायौँ तर आफूले पढेनौँ । अरूका छोराछोरीलाई त हामीले माक्र्सवाद पढायौँ तर आफ्नै छोराछोरीलाई पढाएनौँ । अरूका छोराछोरीलाई बलिदान गर्न सिकायौँ भने आफ्नै छोराछोरीलाई सिकाएनौँ । हामीले द्वन्द्ववादका कुरा ग¥यौँ तर स्वयम् द्वन्द्ववादी भएनौँ । यही कारणले गर्दा हामीले जितिसकेको संसार गुमायौँ । यही कारणले गर्दा हामीले नेपालमा जितिसकेको क्रान्ति गुमायौँ । माक्र्सले निजी सम्पत्तिको अन्त्य गरेर सामूहिक सम्पत्ति बनाउनु नै साम्यवाद हो भन्नुभयो । हामी निजी सम्पत्ति जोड्दै गयाँै । हाम्रा भूतपूर्व कमरेडहरू त जनताको रगतपसिनाबाट अर्बपति भइसकेका छन् । उनीहरूले त विकल्पमा प्रस्तुत भएको कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि आफ्नै सती लैजाने षड्यन्त्र गरिरहेका छन् । यसमा क्रान्तिकारीहरू सतर्क हुनुपर्दछ । अहिलेसम्म प्रतिक्रान्ति नेताहरूबाट भएको छ, कार्यकर्ता र जनताबाट होइन ।

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा प्रतिक्रान्ति नेताहरूका जीवनसाथी तथा जीवनसँगिनी र परिवारका अन्य सदस्यहरूबाट घुस्ने कोसिस गर्दछ । हाम्रो क्रान्तिको जीवनले पनि यही पुष्टि गरेको छ । इतिहासको समीक्षा गरेर हामी सचेत हुन जरुरी छ । रुसमा पहिलो समाजवादी क्रान्ति गर्ने लेनिन र स्टालिन महान् हुनुहुन्थ्यो । रुसमा क्रान्ति भएको एक वर्षपछि आफूलाई समाजवादी भन्ने एसेर सङ्गठनकी काप्लान नामकी महिलाले लेनिनमाथि गोली हानी । उहाँ झन्डैले बच्नुभयो तर गम्भीर घाइते हुनुभयो । उपचारपछि पनि गम्भीर असर हुँदाहुँदै १९२२ सम्म सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को महासचिव र सोभियत समाजवादी गणतन्त्र सङ्घको राष्ट्रप्रमुख भएर काम गर्नुभयो । उहाँको स्वास्थ्य खराब हुँदै गएपछि पार्टीको महासचिव र सत्ता प्रमुख स्टालिन हुनुभयो । लेनिनकी जीवनसंगिनी क्रुप्सकाया केन्द्रीय नेता नै हुनुहुन्थ्यो । स्टालिन सो.सं.क.पा. (बोल्सेभिक) को महासचिव भएकोमा पार्टीभित्रै रहेका केही मानिसलाई मन परेको थिएन । ती थिए जिनोवेभ र कामेनेभ । उनीहरूले स्टालिनप्रति लेनिनको मनोविज्ञान बिगार्न क्रुप्सकायालाई प्रभावित पार्न थाले । लेनिन बिरामी हुनुहुन्थ्यो तर समाजवादको रक्षा र विकासका लागि चिन्तित पनि । क्रुप्सकायाको लाइँनी सुनेर लेनिनले बोल्सेभिक केन्द्रीय समितिलाई चिठी लेख्नुभयो । लेनिनले स्टालिन धेरै रुखो भएकाले महासचिव परिवर्तन गर्नुपर्ने कुरा चिठीमा लेख्नुभयो । १९१७ को अक्टोबर क्रान्तिको पोल खोलेकाले जिनोवेभ र कामेनेभलाई बारम्बार फाँसीमा झुन्ड्याउनुपर्ने भनी लेनिनले नै भन्नुभएको थियो । स्टालिनबिना अक्टोबर क्रान्ति सम्भव थिएन । फाँसीमा लड्काउनुपर्ने गद्दारहरू लेनिनका प्रियपात्र र ज्यानलाई जोखिममा राखेर लेनिनवाद लागू गर्ने अनन्य कमरेड कसरी रुखो पात्र भए ? प्रतिक्रान्तिकारीहरूले कसरी प्रतिक्रान्तिकारी उद्देश्य पूरा गर्न परिवारभित्र पनि षड्यन्त्र गर्दछन् भन्ने कुराको उदाहरण हो यो । बिरामी लेनिनलाई आफ्नो उद्देश्यमा प्रयोग गर्न उनीहरू क्रुप्सकायाको भावना जित्न सफल भए । तर यस्तो समस्या समाल्न सक्ने पनि स्टालिन नै हुनुहुन्थ्यो । षड्यन्त्रबारे लेनिनलाई र केन्द्रीय समितिलाई बुझाउनुभयो । अरू ३० वर्षसम्म सो.सं.क.पा.(बोल्सेभिक) र सोभियत समाजवादी गणतन्त्र सङ्घलाई कुशलतपूर्वक सञ्चालन मात्र गर्नुभएन, बरु ३०० वर्ष लगाएर अमेरिकामा भएका विकास र समृद्धिलाई ३० वर्षमै उछिन्नुभयो ।

यहाँ लेनिनलाई उहाँको महान् उचाइबाट कहीँ पनि होच्याउन खोजिएको होइन तर पार्टीभित्रका अवसरवादी र घुसपैठियाहरूले कति खतरनाक भूमिका निर्वाह गर्छन् भनी इतिहासबाट शिक्षा लिइएको हो । आज कतिपय नेपाली कम्युनिस्ट आन्दोलनका गद्दारहरूले हचुवा तरिकाले स्टालिनमाथि एकमनावादी र अधिभूतवादीको आरोप लगाउँदा भष्मास्त्र नै उठाऊँजस्तो लाग्छ । स्टालिनबारे अनुसन्धान नगरी बोल्ने तिनको अधिकार छैन । माओले उहाँको मुख्यतः रक्षा गर्नुभएको थियो भने काम गर्दा कमजोरी पनि हुन्छन्,त्यसको आलोचना गर्नुभएको थियो ।

माओले यही विश्वदृष्टिकोणको समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो भन्ने कुरा माथि पनि उल्लेख गरिएको छ । यसलाई सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति पनि भनिन्छ । वैज्ञानिक समाजवादी क्रान्तिलाई माक्र्सले स्थायी क्रान्तिको उद्घोष भन्नुभएको थियो । सांस्कृतिक क्रान्ति भनेको हजारौँ वर्ष पुराना र विषालु विचारधारा, संस्कृति, विरासत, चालचलन, रीतिरिवाजको विस्थापन गरी क्रान्तिकारी विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाजको स्थापना गर्नु हो । माओले ऐतिहासिक सांस्कृतिक क्रान्तिमा दर्शनशास्त्रलाई कक्षाकोठाबाट र दार्शनिकहरूबाट जनताहरूको बीचमा लैजानुभएको थियो । हजाराँै वर्षसम्म जनताको दिमागमा घर गरी बसेको पुरानो विचारधारालाई विस्थापन गर्न दस वर्ष पर्याप्त थिएन । त्यो सांस्कृतिक क्रान्ति स्थगित भएको छ । त्यसको समीक्षा र विकाससहित हामीले अहिलेदेखि राजनीतिक क्रान्तिसँगै एकीकृत गरेर अघि बढाउनुपर्छ । माओले १९४९ मा राजनीतिक क्रान्ति गर्नुभयो र १९६६ देखि सांस्कृतिक क्रान्ति गर्नुभएकाले हामी पनि त्यसै गरौँला भनी पर्खनु हुँदैन । १९६६ मा त यो क्रान्तिको विधि पत्ता लाग्यो । माक्र्सले वैज्ञानिक समाजवादको चरण नै स्थायी क्रान्तिको उद्घोष हो भनेर १८५१ तिरै भनिसक्नुभएको छ । माओले यही क्रान्तिलाई कार्यरूप दिनुभएको थियो ।

यहाँ के कुरा राम्रोसँग बुझ्नुपर्दछ भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विश्वदृष्टिकोण विज्ञान हो । यसलाई लागू गर्ने माओको कला पनि हुनुपर्दछ । चीनमा अघि बढिरहेको सांस्कृतिक क्रान्तिमा माओले मुठीभर प्रतिक्रान्तिकारीहरूलाई निशानामा राख्दै पार्टीभित्र क्रान्तिकारीहरू र मध्यमार्गीहरूलाई सँगै लिन सफल हुनुभएको थियो । जीवनको अन्तिम समयमा उहाँले मध्यमार्गी हुआको फेङलाई नेतृत्व दिनुभयो । यहाँनेर सांस्कृतिक क्रान्तिमा माओका क्रान्तिकारी उत्तराधिकारीहरूको पार्टी सञ्चालनको कला र धैर्य पुगेन । चाङ चुङ चियाओ, चियाङ चिङ, वाङ हुङ वेन र याओ वेन युआन दुई लाइन सङ्घर्षमा मध्यमार्गीमाथि पनि दक्षिणपन्थीलाई जस्तै प्रहार गरे । उनीहरूले माओवाद बुझेनन् । परिणामस्वरूप प्रतिक्रान्ति भयो र उहाँहरूलाई प्रतिक्रान्तिकारीहरूले जेलमा सडाएर मारे । सांस्कृतिक क्रान्ति अधुरै रह्यो । त्यो क्रान्ति आजका क्रान्तिकारीहरूले पूरा गर्नुपर्दछ । यसलाई आफ्नै जीवन, परिवार र पार्टीमा सुरु गर्नुपर्दछ ।

अतः आज हामीले यो दार्शनिक घोषणा गर्नुपर्दछ– महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति अस्वीकार गर्नेहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी होइनन्, बरु आजको अधिभूतवादी आदर्शवाद नवउदारवादका हिमायतीहरू हुन् । नवउदारवादलाई साम्यवादको विकल्पका रूपमा अमेरिकालगायत पश्चिमाहरूले पेस गरेका छन् । प्रजातन्त्र एवम् लोकतन्त्र, मानवअधिकार र खुला बजार यसका विशेषताहरू हुन् । नवउदारवाद कति फासिस्ट, तानाशाही र मानवअधिकारवादविरोधी छ भन्ने कुरा अमेरिकाको व्यवहारलाई हेरे हुन्छ । आफूले चिनियाँ सामानमा चर्को कर लगाउँदा न्यायोचित र चीनले अमेरिकाको सामानमा कर लगाउँदा अनुचित, अमेरिकाले नेटो र हिन्द प्रशान्त रणनीति बनाउँदा ठीक र चीन तथा अरू देशले ब्रिक्स र बीआरआई परियोजना बनाउँदा ‘ऋणको पासो’ इत्यादि । अमेरिकाली नवउदारवादका प्रवक्ता एवम् ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ का लेखक फ्रान्सिस फुकुयामा साम्यवादीहरूलाई सर्वसत्तावादी र तानाशाहीको आरोप लगाउँछन् तर आफ्नो ‘ अन्तिम मान्छे’ नवउदारवादी प्रजातन्त्रको प्रयोगकर्ता अमेरिकाले रुवान्डामा हुतु र तुत्सीको झगडा पारेर आफ्नो कारखानाका हतियार बेच्दै नरसंहार गर्दा, सिरियामा ६ लाखभन्दा बढी मानिसहरूको हत्या गर्दा, प्यालेस्टाइनको भूभाग जेरुसेलमलाई जबर्जस्ती इजरायलको राजधानी बनाइदिँदा, अर्काको देशको राष्ट्रपति सद्दाम हुसेनलाई लखेटीलखेटी झुन्ड्याउँदा, लिबियाका नेता कर्णेल गद्दाफीलाई हत्या गर्दा, अफगानिस्तानमा तालिवान नेता ओसामा बिन लादेनलाई खोजीखाजी मारेर लासै अमेरिका पु¥याउँदा, ट्रम्पले आफ्नै देशबाट आप्रवासीहरूलाई धपाउँदा आफ्नो छिमेकी मेक्सिकोलाई उसकै बजेट खर्च गरी सिमानामा पर्खाल हाल भनी आदेश गर्दाचाहिँ के भयो महाशय फुकुयामा ? यही हो असली प्रजातन्त्र र मानवअधिकार ? नेपालमा पनि नवउदारवादका दलालहरूले साम्यवादी क्रान्तिकारीहरूलाई ‘लुटेरा समूह’, ‘आतङ्ककारी’ र ‘अपराधी’ भनिरहेका छन् भने तीर्थराज घिमिरे, कुमार पौडेललगायत युवाहरूलाई हत्या गरिरहेका छन् र सयौँ नेता तथा कार्यकर्ताहरूलाई काराबासमा जाकिरहेका छन् । खुला बजार अर्थतन्त्रले गरिबको ढाड सेकिरहेको छ र जसको लाठी उसको भैँसी साबित भएको छ । फेरि पनि साम्यवादको विकल्प छैन ।

त्यसकारण विश्वदृष्टिकोणको समस्या समाधान गर्न र विश्वदृष्टिकोणको रूपान्तरण गर्न हामीले माक्र्सवादको मूल पाठ अध्ययन गर्ने र माक्र्सवादको विकास गर्ने ठोस योजना बनाउनु पर्दछ । अध्ययन साम्यवादी पार्टीका सदस्यहरूको अनिवार्य कार्यभार बन्नुपर्दछ । साम्यवादी संस्कृतिको विकासलाई पनि सँगसँगै लैजानुपर्दछ ।

(नेकपा स्थायी समिति सदस्य सुदर्शनको प्रकाशोन्मुख ‘विश्वदृष्टिकोणमा रूपान्तरण’ पुस्तकको एक अंश ।)

२०७६ भदौ ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :