प्रेम चापागाईसँग कुनैपनि सम्बन्ध नरहेको नेकपाद्वारा स्पष्ट


झापा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाले, केहिदिन अघि प्रहरीले झापाको विर्तामोड नगरपालिका स्थित ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम विष्फोट गराएको आरोपमा पक्राउ गरेको ब्यक्ति आफ्नो पार्टीको नभएको स्पष्ट पारेको छ । झापा जिल्ला सेक्रेटरी मनिसले बुधबार साँझ विज्ञप्ति निकाली प्रहरीले पक्राउ गरेको झापाका अर्जुनधारा नगरपालिका ३ निवासी ५० वर्षीय प्रेम चापागाई नेकपाको कार्यकर्ता नभएको र निज व्यक्तिसँग पार्टीको कुनैपनि सम्बन्ध नरहेको स्पस्ट पार्दै जनतामाझ गलत सुचना प्रसारण नगर्न/नगराउन र आम जनसमुदायलाई आतंकित नबनाउन अपिलसमेत गरेका छन् ।

जिल्ला सेक्रेटरी मनिसले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला देशमा केपी–पिके नेतृत्वको दलाल फासिवादी संसदीय सत्ता पराजयको अन्तिम छटपटाहटमा गुज्रिरहेको छ भने अर्कोतिर एकीकृत जनक्रान्तिको माध्यमद्वारा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारिरहेको वैज्ञानिक समाजवादी सत्ता स्थापनाको हामी सन्निकट अवस्थामा छौँ । आम रुपमा हाम्रो पार्टी, क्रान्ति र व्यवस्था परिवर्तनको हाम्रो आन्दोलनप्रति नेपाली जनताले जुन ढंगको ऐक्यबद्धता, साहस र उत्साहजनक ढंगले प्रत्यक्ष सहभागिता जनाएका छन्, यसबाट केपी–पिके नेतृत्वको दलाल फासिवादी संसदीय सत्ता अत्तालिएको अवस्थामा छ ।’

विज्ञप्तिमा मनिसले भनेका छन्, ‘पछिल्लो समयमा हामीले गरेको संघर्षपुर्ण कार्यक्रम एनसेलमाथिको कारबाही तथा तिब्बतियन, भुटानी, भारतीय लगायतका विदेशी नागरिकहरुसँग मोटो रकम असुलेर नेपाली नागरिकताको ब्यापार गरेर हाम्रो राष्ट्रियतामाथि हमला गर्ने भ्रष्ट जनप्रतिनिधिहरुमाथि कारबाही गर्दै हायल–कायल पारेपछि अत्तालिएका दलालहरुले झापाली जनताको क्रान्तिकारी विचारधारालाई निस्तेज र निरुत्साहित गर्ने गरी आम हाम्रो पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुमाथि भ्रमित पार्दै निराशाजनक बनाउने उद्देश्यका साथ अर्जुनधारा नगरपालिका –३ निवासी ५० वर्षीय प्रेम चापागाईंलाई विर्तामोड नगरपालिकाको ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा भएको बम विष्फोट गराएको आरोपमा पक्राउ गरिएको र पक्राउ परेको ब्यक्ति विप्लव नेकपाको भएको भनी प्रचारप्रसार गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त संयुक्त वडा कार्यलयमा भएको बम विष्फोटको आरोपमा पक्राउ परेका व्यक्ति हाम्रो पार्टीको कार्यकर्ता नभएको र निज व्यक्तिसँग पार्टीको कुनैपनि सम्बन्ध नरहेको स्पस्ट पार्दै जनतामाझ गलत सुचना प्रसारण नगर्न नगराउन साथै आम जनसमुदायलाई आतंकित नबनाउन यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

२०७६ भदौ ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :