त्रिविमा माफिया नियुक्त भए बहिस्कार गर्छौ – अखिल (क्रान्तिकारी)

काठमाडौँ : अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गरेर विगतमाझैं राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने चेतावनी दिएको छ । त्रिवि इकाई अध्यक्ष मदन चापागाईले विज्ञप्ति जारी गरेर त्रिविका पदाधिकारी नियुक्ति विगतमा झै भागबण्डाको आधारमा सरकारी दलका कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने भन्दै त्यस्तो गरिए आफ्नो संगठन मुखदर्शक बनेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘विशुद्ध प्राज्ञिक क्षेत्रमा सरकारको नांगो हस्तक्षेप हुनु र पदाधिकारी नियुक्तिमा सरकारी दलका माफिया र राजनीतिक दलको भागबण्डाका कुरुप बिम्बहरु बाहिर आउँदासम्म अखिल क्रान्तिकारी मुखदर्शक बनेर बस्न सक्दैन’ विज्ञप्तिमा भनिएको छ । साथै अध्यक्ष चापागाईले खुला प्रतिस्पर्धा र विज्ञताको आधारमा पदाधिकारी नियुक्त गर्न जोडदार माग गरेका छन् ।

यसैबीच अखिल क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलन आयोजक समितिले सरकारद्धारा विद्यार्थीसंगठनका नेताकार्यकर्तामाथि गरिएको गिरफतारी, दमन, धरपकड, अपरहण, वेपत्ता जस्ता क्रियाकलापको भण्डाफोर गर्ने भएको छ । नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै क्रान्तिकारीले सरकारी दमनको भण्डाफोर गर्दै संघर्ष संचालन गर्ने जनाएको हाे ।

२०७६ भदौ ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :