क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

 

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर १४ गते प्रतिनिधिसभा–१, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्नका लागि हुन लागेको उपनिर्वाचन सक्रिय रुपमा बहिस्कार गर्ने निर्णय गरेको छ । वर्तमान संसदीय व्यवस्था बदनाम हुँदै गएकोले यही अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिइएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

साउन २१ देखि २३ गतेसम्म बसेको क्रान्तिकारी माओवादीको बैठकले ब्रिटिश सरकारको प्रत्यक्ष उपनिवेशबाट मुक्त हुने सन्दर्भमा भारत र पाकिस्तानका बीचमा समेत विवादित रहँदैआएको जम्मु–कास्मिरको समस्या समाधान गर्ने प्रक्रियामा त्यहाँका जनतालाई विशेषाधिकार दिने गरी भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था गरेर जम्मु–कास्मिरलाई भारतमा सामेल गराइएको भन्दै वर्तमान भारत सरकारले हालै धारा ३७० र ३५ (क) लाई खारेज गर्नुका साथै जम्मु–कास्मिरबाट लद्दाखलाई अलग गराउने जुन निर्णय गरेको छ, त्यसबाट त्यहाँका जनताप्रति गम्भीर विश्वासघात हुन गएको ठहर गरेको छ र भारत सरकारको उक्त नीति र निर्णयको दृढ विरोध गरेको छ ।
बैठकका निर्णयहरु सार्वजनिक गर्न क्रान्तिकारी माओवादीका महासचिव मोहनबैद्य किरणद्धारा जारी गरिएको प्रेस वक्तव्यमा केही समययता संयुक्त राज्य अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोजेको देखिएको र यो कुरा अमेरिकी सरकारद्वारा दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत ५० करोड अमेरिकी डलर लिने नेपाल सरकारको निर्णयबाट स्पष्ट हुन आएको उल्लेख गर्दै उक्त रणनीति तथा सरकारी निर्णयको कडा विरोध गरिएको छ । अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्द प्रशान्त रणनीतिमा सम्मिलित नहुन, सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अँगाल्न सरकारसित जोडदार माग गरिएको छ ।

साथै क्रान्तिकारी माओवादीले अन्तराष्ट्रियरुपमा समेत चर्चा भएको नेपालमा संक्रमणकालीन न्यायबारे नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिले हस्तक्षेप गरेको भन्दै नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तराष्ट्रिय संस्थाहरुसित समेत विशेष आग्रह गरेको छ ।

मिति २०७६ सावन २७ गते सोमबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :