नेकपाद्वारा सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही (विज्ञप्तिसहित)


कास्की : नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाले जिल्ला कमिटी सदस्य एवंम अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई कारबाही गरेको छ । कास्की जिल्ला इन्चार्ज रुपेशले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी नीति विपरीत विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, बसेको ठाउँ देखाउँदै हिड्ने, नेतालाई गिरफ्तार गराउने जस्ता पार्टीलाई नै गम्भीर आँच आउने किसिमको हर्कत सन्तोष परियार ‘परिवर्तन’ले गरेको हुनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् ।

इन्चार्ज रुपेशले विज्ञप्तिमा भनेका छन्, ‘आदरणीय सञ्चारकर्मी, पत्रकार मित्रहरु, सर्वहाराको पक्षमा वैज्ञानिक साम्राजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यकासाथ नेपालमा नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी कएीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको यहाँहरुलाई अवगत नै छ । क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी व्यवस्था हुने बेलासम्म यस क्रान्तिमा समाहित हुने र वर्हिगमित हुने क्रम जारी रहन्छ ।’

रुपेशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘वर्तमान परिस्थितिमा नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिमा दुईथरी प्रवृत्तिका मान्छे देखिने गरेका छन् । पहिलोथरीमा क्रान्तिकारी आन्दोलन, पार्टी र क्रान्तिमा सहभागी भएपछि त्यसको उद्देश्य, लक्ष्य, विचार र आदर्शकालागि जस्तोसुकै खतरा, जोखिम र कठिनाई पनि मोल्न तयार हुने, हिरासत र जेल बस्न तयार हुने साथै संघर्ष गर्दागर्दै आफ्नो जीवन नै दिनु परे पनि नहिच्किचाउने र बलिदान गर्ने पर्दछन् भने दोस्रो थरी मान्छेहरु क्रान्तिकारीहरुमा परिवर्तन र क्रान्तिको चाहना त राख्ने, क्रान्तिमा सहभागी पनि बन्न आउने, कुरासम्ममा चर्कै पनि गर्ने, फाइदा सोहोर्न पाए सोहोर्ने, तर क्रान्तिको माग गर्ने दुःख, कष्ट, त्याग र बलिदान गर्न तयार नहुने, प्रतिक्रियावादीहरुको दबावमा परेर बीचबाटै पुरानो समाजतिर फर्किने, जनताका बैरीसँग आत्मसमर्पण गर्ने, झुक्ने, जीवनको रक्षाकालागि लुटेराहरुसँग याचना गर्ने, प्राणको भिख माग्ने, क्रान्ति छोडेर क्रान्तिकारी योद्धाहरुलाई धोका दिने, आफ्नै सहयोद्धा र नेताहरुको सुराकीसम्म गर्न पछि नपर्ने गद्दारहरु पर्दछन् । त्यस्तै पुलिसको हातमा पर्दासाथ, हिरासतमा धम्कीकै भरमा वा केही यातना पाएपछि आतंकित हुँदै, केही विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, कमरेडहरु बसेको ठाउँ देखाउँदै हिड्ने, नेतालाई गिरफ्तार गराउनेसम्ममा पुगेका छन् । यस्ता मान्छेले जतिसुकै धाक र गफ लगाए पनि वा पार्टीलाई छलछाम गर्न खोजे पनि यिनीहरु क्रान्तिकारी र जनताका आँखामा देखावटी, बाक्रे, अस्थायी, अवसरवादी एवंम धोकेबाज मान्छेहरु हुन् । यिनलाई क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी भन्न सकिन्छ ।’

जिल्ला इन्चार्ज रुपेशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘अहिले आएर नेपालमा एकीकृत जनक्रान्तिको राप र ताप बढिरहेको अवस्थामा हाम्रो पार्टीभित्र क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी, क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे क्रान्तिकारीहरु आफ्नो स्वार्थ पूरा हुने अवस्था नदेखेपछि पार्टी र क्रान्तिलाई लान्छना लगाउँदै बाहिरिन थालेका छन् । उल्लेखित प्रवृत्तिका, पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई बदनाम गर्दै दलाल सत्ताका सामु घुँडा टेक्ने हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य एवंम अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको जानकारी गराउन चाहान्छौं । साथै हाम्रो पार्टीको नाममा निज व्यक्तिसँगै कुनै कामकारवाही नगर्न र नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी चाहन्छौं अन्त्यमा, हामी हाम्रो पार्टीको नाममा हुनसक्ने गलत क्रियाकलापप्रति सचेत रहन पनि सम्बन्धित पक्ष र सरोकारवालाहरुसँग अपिल गर्न चाहान्छौं ।’ विज्ञप्तिको पूर्णपाठ….

 

२०७६ साउन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :