दार्जलिङमा व्यापक दमन

12

रातो खबर संवाददाता/काठमाडौं , असार ८, पश्चिम बङ्गाल राज्य सरकारले नेपालीभाषी बहुल क्षेत्रमा समेत बङ्गाली भाषा लाद्ने निर्णय गरेपछि त्यसका विरुद्ध नेपालीभाषी सांस्कृतिक समुदायद्वारा गरेको विद्रोह हिंसात्मक बन्दै गएको छ । भाषा आन्दोलन पुरानै गोर्खाल्यान्ड आन्दोलनमा बदलिएको छ । बिहीबार पश्चिम बङ्गाल प्रहरीले पातलेबजारस्थित गोजमोको केन्द्रीय कार्यालयमा छापामारेर तोडफोड र लुटपाट गरेपछि नेपालीभाषी अन्य क्षेत्रहरू पनि तनावग्रस्त भएका हुन् । बिहीबार गोजमो अध्यक्ष विमल गुरुङ र नेपाली भाषामा सञ्चालन हुँदै आएको जि न्युज टेलिभिजनको बाहनमा अज्ञात समूहले आगजनी गरेपछि आन्दोलनकारीहरूले सरकारी ठेगानामा आक्रमण गरेका छन् । तर आन्दोलनकारीले तोडफोड र आगजनीका घटनामा त्रिमूल काङ्ग्रेस पार्टी र प्रहरीको घुसपैठ भएको दाबी गरेका छन् । आन्दोलनलाई बदनाम गराउन र नेपालीभाषीको अधिकार रक्षा गर्न गठित संस्थाहरूमाथि  प्रतिबन्ध लगाउने नियतले त्यसप्रकारका घटनाहरू सुनियोजित रूपमा घटाइएको उनीहरूको दाबी छ । बिहीबार कालेबुङ, पेदोङस्थित प्रहरीचौकी र विद्युत् प्राधिकरणको कार्यालयमा आगजनी भएको थियो । बरबोटे, सोनादा, मिरिक, खरसाङ यत्रतत्र तोडफोड र प्रदर्शन भएका छन् । बङ्गाल प्रहरीले नेपालीका घरघरमा छापामारेर कुटो, कोदालो, लट्ठी, हँसिया र खुकुरी बरामद गर्दै ‘घरेलु हतियार बरामद’ भन्दै समाचार सम्प्रेषण गरिरहेको छ ।

DETHMORCHA

शुक्रबार प्रदर्शन र झडप झन् बढेको छ । राज्य सरकारले अन्धाधुन्ध लाठी, गोली र अश्रुग्याँस छोडेर सयौँलाई रक्तमुछेल पारेको छ । हजारौँ नागरिक अगुवाहरू पक्राउ परेका छन् । प्रहरीको आक्रमणमा महिलाहरू बढी परेका छन् । नेपालीभाषीको सम्पत्ति लुटपाट भएको छ । त्यसकारण शुक्रबार गोजमोको आकस्मिक बैठकले अनिश्चितकालीन बन्दघोषणा गरेको छ । सङ्घर्षका कार्यक्रम घोषणा गर्दै गोजमो अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । स्मरणीय छ, गोर्खाल्यान्ड आन्दोलनप्रति माक्र्सवादी कम्युनिस्ट पार्टी (निवर्तमान सत्तारूढ पार्टी र भाजपा नरम देखिएका छन् भने त्रिमूल काङ्ग्रेस र ममता बेनर्जी सरकार असहिष्णु र दमनकारी देखिएका छन् । उता एउटा धार्मिक कार्यक्रममा बोल्दै व्यापारी तथा धर्मगुरु रामदेवले गोर्खाल्यान्ड आन्दोलनको माग पूरा गर्नुपर्ने बताएका छन् । दार्जलिङका सामाजिक सञ्जालमा नेपाली जनताले पनि बोल्नुपर्ने माग गरिरहेको देखिन्छ । शनिबारसम्म नेपालका कसैले पनि मुख खोलेका छैनन् ।

अनिश्चितकालीन बन्द घोषणा भएको पहिलो दिन नै हिंसात्मक घटनाहरू भएका छन् । भारतीय सेनाले “अश्रुग्याँस र गोली एकैसाथ चलाएका कारण ३ जना नेपालीभाषीको मृत्यु भएको र सयौँ घाइते भएको” जानकारी गोरामुमोका महासचिव विमल तामाङले दिएका छन् । सिंहमारी प्रहरी चौकीमाथिको जङ्गलमा एउटा लास देखिएको स्थानीयले बताए । एकजना प्रहरी अधिकारी किरण तामाङको मृत्यु भएको छ । कैयौँ बेपत्ता छन् । तसर्थ हताहतीको सङ्ख्या बढ्न सक्ने देखिन्छ । शनिबारको घटनाले विश्वभरिका नेपालीभाषीहरूलाई तरङ्गित पारेको छ । ‘उत्तराखण्ड राज्य भाषा समिति’ का अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा देहरादुनमा विभिन्न नेपालीभाषी सङ्घ, संस्थाहरूको बैठक शनिबार अपराह्न बस्यो । बैठकले दार्जिलिङमा भएका घटनाको विरोध गर्दै सोमबार देहरादुनस्थित गान्धीपार्कमा भेला भएर एकदिने आमहडताल गर्ने भएको छ । मुख्यमन्त्री ममता बेनर्जीले गोरामुमोलाई ‘ नर्थिस्ट र विदेशीले उचालेको’ आरोप लगाउँदै केन्द्र सरकारलाई ‘नउक्साउन’ अपिल गरिन् । बेनर्जीको त्यो भनाइले आन्दोलनकारी थप चिढिएका छन् । त्यसैबीच बङ्गालीभाषी बुद्धिजीवीहरूको एक समूहले पनि नेपालीभाषीको समर्थनमा विज्ञप्ति जारी गरेको छ ।

darjaling

दार्जलिङका विधायक अमरसिंह राईले असार ५ गते संवाददाताहरूसँगको भेटमा ‘केन्द्र सरकारसँग गोर्खाल्यान्ड राज्य गठनको विषयमा मात्र वार्ता गर्ने’ बताएका छन् । उनले पहाडबाट सेना फिर्ता र शनिबारको हत्याकाण्डका दोषीमाथि कारबाही नगरेसम्म राज्य सरकारसँग वार्ता नै नगर्ने’ बताएका छन् । गोर्खाल्यान्ड राज्य गठनबाहेक अन्य विषयमा वार्ता नै नगर्ने उनले घोषणा गरेका छन् ।

सिक्किमका राजनीतिक, बुद्धिजीवी, पत्रकार, साहित्यकार तथा नागरिक समाजका अगुवाहरूले सोमबार गान्तोकमा एक भेला गर्दै गोर्खाल्यान्डको समर्थन र सहयोगार्थ ‘ गणतान्त्रिक जनआन्दोलन समर्थन समिति, सिक्किम’ गठन गरेका छन् । त्यसको अध्यक्ष थुकचुङ लाचुङपा र सदस्यसचिवमा रूपेश शर्मा तथा प्रवीण खालिङ छन् । उक्त बैठक गान्तोकको जिरो प्वाइन्टस्थित भानु उद्यानमा भएको थियो । त्यसैगरी भारतका फुटबल सम्राट भाइचुङ भुटिया र भारतीय आइडल प्रशान्त तामाङ दार्जलिङ गोलीकाण्डको भत्र्सना गर्दै दिल्ली जन्तरमन्तरको विरोध प्रदर्शनमा सहभागी भएका छन् । प्राप्त पछिल्लो खबरअनुसार पश्चिमबङ्गाल राज्यमा क्रियाशील ‘एसोसिएसन फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स’ ले पहाडबाट तत्काल सेना हटाउन शनिबारको हत्याकाण्डको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै दार्जलिङ हत्याको निन्दा गरेको छ । अहिले नेपालीभाषी क्षेत्रमा सम्पूर्ण सञ्चारमाध्यममाथि राज्य सरकारले प्रतिबन्ध लगाएको छ । गोर्खाल्यान्डको समर्थनमा नेपालसहित विश्वभरिका नेपालीभाषीहरू एकजुट हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :