जूनकिरीको बस्तीमा

मन ‘थ्याङ्क्यु मिस्टर ग्ल्याड’ मा अल्झिएको छ । वीरभूषण पटनायकको क्रान्तिप्रतिको दृढता, भविष्यप्रति असीम आशा र विश्वासले मन उद्वेलित भएको छ । अनिल बार्बेद्वारा लिखित उपन्यास निकै रोचक छ । वीरभूषण पटनायक एउटा नक्सलवादी क्रान्तिकारी हुन् । उनलाई पक्राउ गरिएको छ र फाँसीको फैसला सुनाइएको छ । काराबासका सुपरीवेक्षक मिस्टर ग्ल्याड असाध्यै त्रूmर छ जसले अहिलेसम्म धेरै बन्दीलाई झुन्ड्याएर हत्या गरिसकेको छ ।

पचास माइल लामो बाटो पैदल हिँडेर श्रीमती बच्चासहित पटनायकलाई भेट्न जेलमा पुग्छिन् । श्रीमतीको क्रान्तिप्रतिको अठोट देखेर ग्ल्याडलाई हिटलरको ग्याँस च्याम्बरमा मारिएकी आफ्नी श्रीमती मरियमको सम्झना आउँछ र ऊ ती क्रान्तिकारी दम्पतीसँग आफूलाई दाँजेर हीनताबोध महसुस गर्छ । अन्तिम क्षमायाचनाका निम्ति मिस्टर ग्ल्याडले उनलाई लाखपटक कर गर्छ तर पटनायक अस्वीकार गर्छन् । बरु उनले इच्छापत्र लेखेर शरीरको सबै अङ्ग जिउँदै निकालेर गरिब र रोगीहरूलाई निःशुल्क बाँडिदिन माग गर्छन् र दृढतापूर्वक भन्छन्, ‘फाँसीको तख्तामा झुन्ड्याउँदैमा क्रान्ति रोकिँदैन ।’

किताब पढेपछि मलाई क्रूर मिस्टर ग्ल्याडप्रति असाध्यै रिस उठेको छ । यात्रामा छु म । चिसो स्याँठ फालिरहेको झ्यालपट्टि फर्किएका गणेश दाइको अनुहार उद्विग्न देख्छु । ‘बुटवल–बुर्तिबाङ’ लेखिएको बसले आफ्नै गतिमा बुटवलबाट बुर्तिबाङ लैजाँदै गर्दा म यो सब सम्झन्छु । नाइट डिलक्स बस चर्को हर्न बजाउँदै आफ्नै गतिमा हान्निएको छ । सिसाबाट बाहिर हेर्छु, रात चकमन्न छ । कुहिरो पोतिएको रातमा काला र अग्ला ठूल्ठूला पहाडहरूसँगै यात्रा गरिरहेछ । तर मेरो दिमागमा अनिल बार्बेको उपन्यासले थुप्रै बिम्बका भू्रण रोपिदिएको छ । बसभित्रको मधुरो प्रकाशमा गणेश दाइको धुमिल अनुहार देख्दैछु । बाटोमा घरि बिस्तारै र घरि द्रुत गतिमा हुइँकिदो बसमा डिजेल डकारिरहेको इन्जिनको आवाजले निदाउन दिएको छैन ।

रातको १० बजेको छ । बस घचक्क रोकियो रुद्रबेनीमा । एउटा मात्र होटेल खुला छ । चालकले ‘खाना, च्यास्या खानुस्’ भनेर उर्दी ग¥यो । निष्पट्ट अँध्यारोको पर्दाभित्र मस्त निदाएको छ रुद्रबेनी बजार । तलतिर बडीघाट सुसाएको छ । केही चिनेजानेका अनुहार देख्छु बजारमा । शङ्काहरूको अनेक पिरलो पनि छ मनभित्र । स्थानीयले चिनेपछि सोधखोज गरिहाले । मैले खैरेनीतिर जान लागेको बताएँ । वातावरण त्यति सहज छैन । हामी एक साताका लागि बागलुङको अज्ञात स्थानतिर जाँदैछौँ ।

‘पानी पर्यो भने साह्रै दुःख पाइने भयो’, गणेश दाइले अड्कल काटे । रुद्रवेनीदेखि उत्तरतिर लागेपछि मनले वीरभूषण पटनायकलाई बिर्सिंदै गयो । मध्यरातको चकमन्न अँध्यारोमा बडीघाटको तीरैतीर बस हुइँकियो । झ्यालबाट हुत्तिएर आएको चिसो हावाको झोक्काले गालामा ठुँगेर जान्छ । आकाश धुम्मिएको वा रात छिप्पिएको बेला यात्रुहरू निद्रामा लिप्त छन् । ढोकानजिकै अन्धकार कुनामा बसेर एक जोडी मायाको रापमा निदाएको छ । बुर्तिबाङ बजारमा पुगेर बस घचक्क रोकिँदा रातको साढे दुई बजेको छ । बुर्तिबाङ बजार सुतिरहेछ मस्तसँग । पानी बर्सिएको छ । झरेर कहाँ जानु ? बिहानको ५ बजेसम्म गाडीमा रात बित्यो ।

उज्यालोको पर्दा खुल्यो । बिस्तारै मान्छेहरू ओहोरदोहोर गर्न थाले । होटेलका सटरहरू खुल्न थाले । सिमसिम पानीले बुर्तिबाङ बजार बिहानको नित्यकर्म गर्न थाल्यो । सायद बजारले भनिरहेको छ– गुड मर्निङ बुर्तिबाङ ! म पनि मनमनै चिच्याएँ– गुड मर्निङ बुर्तिबाङ बजार ।

केही सम्भ्रान्त देखिन्छ बुर्तिबाङ बजार । मोटरसाइकल, कार, बसका साइरनहरू बजेका छन् । होटेलका छतहरूमाथि ठूला होर्डिङ बोर्डमा अर्धनग्न महिलाहरूको फोटोसहित मदिराका भद्दा र उत्तरआधुनिक तस्बिरहरू झुन्डिएका छन् । सडककिनारमा चियानास्ता बेच्ने साहुजीको पसलअगाडि मान्छेहरू ओहोरदोहोर गरिरहेका छन् । पानी परे पनि बुर्तिबाङको मौसम गजब छ । हामी अघिल्लो साँझसम्म मधेसको उष्ण गर्मीमा थियौँ, बिहान चिसो मौसममा । क्या रोमान्टिक भएको छ । हामी भुजी खोलाको झोलुङ्गे पुल तरेर निसी खोलाको तीरैतीर देवीस्थानतिर पैदल लाग्यौँ । बर्खाको भेल, खाल्टाखुल्टी र चिप्लेटी बाटोहरू पार गर्दै देवीस्थानमा खाना खाएर एकैछिन निसी खोलाको किनारामा सुस्तायौँ ।

मैले त्यहाँ पुगेर बागलुङका कवि दिल शिरिसलाई सम्झिएँ । उनीसँग मेरो परिचय छैन । भेट्ने मौका पनि जुरेको छैन । तर किन हो, मलाई यो नाम प्रिय लाग्छ । सायद उनी पनि कवि भएर हो । पत्रपत्रिकामा त थुपै्रपटक पढेको छु उनलाई । वर्ष दिनअगाडि बुटवलमा कथाकार विजयसागरले मलाई दिल शिरिसको कवि परिचयसहित नाम र फोन नम्बर दिएका थिए । बागलुङको एक साहित्यिक कार्यक्रमबाट फर्केर कथाकार विजयसागरले भनेका थिए, ‘तपाईंजस्तै एकजना कवि छन् बागलुङमा, दिल शिरिस । गजबको कविता लेख्छन् उनी ।’ उनले टिपाएको नम्बरको नामनिशान केही छैन अहिले मसँग । मैले सम्झिने अर्को दुई नाम वरिष्ठ सौन्दर्यचिन्तक दिल साहनी र कवि गिरि श्रीस मगर हो । दुवैजनाको पुख्र्यौली घर बागलुङ हो । मकैबारीको उकालो बाटोमा मनभरि दुवैजनालाई सम्झिरहेको छु ।

देवीस्थानबाट कान्छीबजार हुँदै जुक्जा बजारबाट उकालो चढेपछि दृश्यहरू फेरिँदै गए । बारीभरि धानजुँगा फुल्न थालेका हरिया मकै र कोदो छन् । वृद्धवृद्धा र बालबालिका मात्रै भेटिन्छन् गाउँमा । ८० वर्ष नाघेकी बुढी आमाले नातीनातिनासँग कोदोबारीमा झार गोडेकी छिन् । आमा भन्छिन्, ‘यहाँ बाँच्न त बलिया हातपाखुरा चाहिन्छ बाबु ।’ गाउँका पहाडी पाखाभित्ताहरूमा जताततै गरिबी फलेको छ । तर निराश भने देखिन्नन् गाउँका जनता । तलतिर निसी खोला साँघुरिँदै गएको छ र अग्ला पहाडहरू होचिँदै गएका छन् । फाटेका लुगा लगाएर नाकमा सिँगानसितका साना नानीहरू बाटाभरि छन् । हामीलाई देखेर झुम्मिन्छन् उनीहरू । मैले झोलाबाट स्याउ निकालेर भएजति बाँडिदिएँ । खुब खुसी भए उनीहरू !

तोरीपाता गाउँ पुगेर मैले टमबहादुर दाइलाई सोधेँ, ‘यहाँको मुख्य खेती के हो दाइ ?’
‘मकै, कोदो, गहुँ र आलु’, उनले भनेका थिए ।

सरकारले भनेको ‘समृद्धि’ कुन चराको नाउँ हो थाहा छैन त्यो गाउँलाई । स्वास्थ्यको नाउँमा यदाकदा पोलियो थोपाको नामसम्म सुनेका रहेछन् । कहिलेकहीँ मिठो खान पाउनु र राम्रो लाउनुलाई ‘विकास’ भन्दा रहेछन् । उनीहरू सहरमा कसैले जागिर पाउनुलाई पनि ‘विकास’ भन्दा रहेछन् । स्थानीय जनताले पाएका दुःखका सास्ती देखेर गणतन्त्र सहरका सम्भ्रान्त र सत्ताका हनुमानगिरीहरूको बपौती रहेछ भन्ने लाग्यो । मध्यपहाडी पुष्पलालमार्ग छाडेर उकालो चढेपछि मलाई उस्तो नौलो र अधिक उत्तेजित पार्ने नयाँ केही लागेन । केवल गरिबी र विपन्नताको कथा बोकेर बाँचिरहेछ गाउँबस्ती । जो देशका सबै जिल्लाहरूमा पाइन्छ । साँझपख झमक्क अँध्यारोमा काम सकेर घर फर्कंदा रहेछन् । अर्थात् भित्ताहरू छामछुम गर्दै पखेराभरि जूनकिरीजस्तै बत्ती बालेर । गणेश दाइले भने, ‘ठाउँ जस्तो भएनि यात्राचाहिँ रमाइलो भयो ।’ म टाउको मात्र हल्लाउँथेँ ।

बागलुङ नेपालको नक्सासँग मिल्दोजुल्दो छ । यो जिल्ला पश्चिमतिर तन्किएको छ । बागलुङको पश्चिम यात्रामा गाउँको अनुहारभरि झल्किएको गरिबीको चित्र देख्यौँ हामीले । गरिबीको प्राचीन सत्ता गजमज्ज छ गाउँमा । अँध्यारोमा बलेका जूनकिरीजस्ता बस्तीले उज्यालो घामको प्रतीक्षा गरेको छ । दुःखको पहाड बोकेको गाउँको छातीभित्र निराशा भने भेटिन्न कतै ।

पोखरा र गुल्मीका साथीहरूसँग छुट्टिएर बुटवल फर्किनु थियो हामीलाई । बुर्तिबाङ बजार झरेर बडीघाटको तीरैतीर हुइँकियो बस । गणेश दाइ बर्सौ सिलाइएको मुख भर्खर कसैले खोलिदिएजस्तो बोलिरहेका थिए । कहिलेकहीँ हातको सङ्केतले रोक्न खोज्थेँ म । बसभित्र अल्पभाषी भएँ म । अर्थात् मौन थिएँ । मौनताको कारण थियो– गोजीमा भात खान पुग्ने पैसा थिएन । जब बस घचक्क रोकिन्थ्यो, चालकले ‘खाना, च्यास्या खानुस्’ भनेर उर्दी गथ्र्यो र सबै यात्रु ओर्लिन्थे । म भने पानीको बोतल समाएर बसको पछिल्लो सिटमा एक्लै पेट मिचेर बस्थेँ । बसभित्रका रित्ता सिटहरूले गिज्याएझैँ लाग्थ्यो– को होला यस्तो हरिकङ्गाल ! को होला यस्तो हरिबिजोक !

सिटमा उत्तानो परेर सोचेँ– ओहो, बागलुङ तोरीपाटा र बाहुँनडाँडा गाउँका जनताले भोगिरहेको गरिबी आखिर यही भोक रहेछ !

२०७६ साउन १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :