साम्राज्यवाद सर्वहारा समाजवादी क्रान्तिको पूर्वबेला

साम्राज्यवाद मक्किएको र मरणासन्न पुँजीवाद हो ।


जब पुँजीवाद स्वतन्त्र प्रतिस्पर्धाबाट एकाधिकारी चरणतर्फ बढ्दछ तव त्यसका विविध अन्तरविरोध प्रचण्ड भएर खडा हुन्छन् । यी अन्तरविरोध ज्वालामुखीकै तरह साम्राज्यवादको अस्तित्वका निम्ति नै खतरा बन्न जान्छन् । तब साम्राज्यवादको जीवन सीमित हुन जान्छ । साम्राज्यवाद आफ्नो खुँखार मुकुण्डो भएर पनि एउटा कागजी बाघ नै हो । साम्राज्यवाद सर्वहारा समाजवादी क्रान्तिको पूर्वबेला हो ।

साम्राज्यवाद परजीवी वा मक्किरहेको पुँजीवाद हो । उत्पादन र प्रविधिको विकास स्थिर हुँदै जाने प्रवृत्ति हो

जब पुँजीवाद साम्राज्यवादमा पदार्पण गर्दछ तब यसको मक्किने र पतन हुने क्रम सुरु हुन थाल्छ । साम्राज्यवाद परजीवी वा मक्किरहेको पुँजीवाद हो । साम्राज्यवादको सहनशील प्रकृति एकाधिकारी व्यवस्थाबाट उत्पन्न हुने गर्दछ । एकाधिकार नै साम्राज्यवादको सहनशील प्रकृतिको आर्थिक आधार हो ।
साम्राज्यवादको सहनशील प्रकृति प्रथमतः एकाधिकारी व्यवस्थाद्वारा उत्पादक शक्तिहरूको विकासमा ठूलो व्यवधानका रूपमा अभिव्यक्त हुने गर्दछ । यसले प्रविधिको प्रगतिको कृत्रिम रूपबाट अवरुद्ध गर्ने गर्दछ तथा उत्पादन र प्रविधिको विकासमा स्थिरताको प्रवृत्ति उत्पन्न गरिदिन्छ ।

एकाधिकारभन्दा पहिले पुँजीपतिले आफ्ना प्रतिस्पर्धीहरूको मूल्यमा अत्यधिक मुनाफा कमाउने चक्करमा प्रविधिको प्रगतिलाई अनदेखा गर्न सक्दैनथ्यो । परन्तु एकाधिकारी अवस्थामा आएर एकाधिकारी पुँजीपतिले एकाधिकारका केही क्षेत्रहरूमा आफ्नो एकछत्र नियन्त्रण कायम गर्दछ । त्यसकारण एकाधिकारी मूल्यहरू निर्धारित गरेर धेरैभन्दा धेरै मुनाफा कमाउन सक्दछ । अतः उन्नत प्रविधि अख्तियार गर्ने प्रेरणा केही हदसम्म कमजोर बन्न पुग्दछ । एकाधिकारी व्यवस्थाअन्तर्गत पुँजीपतिलाई त्यस्तो डरले सताउँछ कि उन्नत प्रविधिले उसको एकाधिकारी हैसियतलाई कतै कमजोर नबनाइदेओस् । त्यसकारण उसले प्रायः नयाँ प्रविधिको विकासमा कृत्रिम बाधाहरू खडा गरिरहन्छ ।

आखिर एकाधिकारी पुँजीपति उन्नत प्रविधिसँग यतिका किन डराउँछ र किन त्यसमा बाधा खडा गरिरहन्छ ? पहिलो कुरा त के हो भने नयाँ प्रविधि र नयाँ उपकरणहरू प्रयोग गर्नाले निश्चय नै उत्पादनहरूको लागत कम हुन जान्छ र उत्पादनमा वृद्धि हुन जान्छ तब त्यसको परिणाम के हुन्छ भने पुँजीको नोक्सान हुन्छ वा उसका पहिलेका मेसिनहरू र उपकरण पुराना हुन जान्छन् र तिनमा अप्रत्यक्ष मूल्य ह्रास हुन्छ । दोस्रो कुरा, यो हो– नयाँ प्रविधि र नयाँ उपकरण प्रयोग गर्नाले त्यसैप्रकारका अन्य सस्ता मालहरूका साथ प्रतिस्पर्धा पनि बढ्न पुग्छ जसमा उसको एकाधिकारी हैसियतलाई खतरा हुन सक्छ । अतः एकाधिकारी पुँजीपतिले एकाधिकारी मूल्य बनाइराख्नका निम्ति प्रायः उत्पादन घटाइरहन्छ र यसप्रकार धेरैभन्दा धेरै एकाधिकारी मुनाफा कमाउँछ । त्यसकारण उत्पादनको विकासका निम्ति लाभदायक तमाम नयाँ प्रविधिहरू र आविष्कारहरूलाई एकाधिकारी पुँजीपतिले खरिद्ने गर्दछ र तिनलाई एकातिर थन्क्याउने गर्दछ । उदाहरणका निम्ति, कृत्रिम पेट्रोलियमको प्रविधि पेट्रोलियम कम्पनीहरूको एकाधिकारका निम्ति एउटा खतरा हुन्छ । त्यसकारण उनीहरूले पूरै बीस वर्षदेखि थन्क्याएर राखेका छन् । यसै प्रकारले परमाणु ऊर्जाको आविष्कार एउटा महान् वैज्ञानिक उपलब्धि हो परन्तु साम्राज्यवादले त्यसको प्रयोग पूर्ण रूपमा उद्योगको एउटा प्रेरक शक्तिका रूपमा प्रयोग नगरेर युद्धसम्बन्धी परमाणु अस्त्रहरूको निर्माणका निम्ति गर्दछ ।

एकाधिकारद्वारा उत्पादन र प्रविधिको विकासमा खडा गरिएका व्यवधानहरूका कारण पुँजीवादद्वारा विस्तारित पुनरुत्पादनको दर ओरालो लाग्न थाल्छ । संयुक्त राज्य अमेरिकाको उदाहरण लिऊँ । १८७१ देखि १९०० सम्मका तीस वर्षको अवधिमा उसको औद्योगिक उत्पादन लगभग ३.९ गुणाले बढ्यो परन्तु १९०१ देखि १९२९ सम्मका तीस वर्षहरूमा त्यो वृद्धि मात्र २.७ गुणा नै रह्यो । १९३० देखि १९५९ सम्मका तीस वर्षहरूको अवधिमा त औद्योगिक उत्पादनमा वृद्धिको औसत (वार्षिक) दर केवल ४.४ प्रतिशत रह्यो । यसप्रकार हामी देख्छौँ– संयुक्त राज्य अमेरिकामा विकासको घट्दो दरले साम्राज्यवादको सहनशील प्रकृतिलाई पूर्ण रूपमा उजागर गरिदिन्छ ।

परन्तु साम्राज्यवादी अवस्थामा उत्पादन र प्रविधिको विकासमा रोकावट र सहनशीलताका जुन प्रवृत्ति देखिइरहेका छन् त्यसको अर्थ के होइन भने साम्राज्यवादी देशहरूमा उत्पादन प्रविधिको विकास एकदम ठप्प हुन गएको छ । लेनिनले भन्नुभएको छ, ‘हामीले यस्तो सोच्न थाल्यौँ– यो सहनशील प्रवृत्ति पुँजीवादको कुनै पनि तीव्र विकासलाई अवरोध गरिदिन्छ, तब हामी गलत हुन्छौँ । होइन, साम्राज्यवादी चरणमा पनि व्यक्तिगत औद्योगिक क्षेत्र, व्यक्तिगत बुर्जुवा वर्ग वा समूह र अलगअलग देश भिन्नभिन्न मात्राहरूमा कहिले यो प्रवृत्ति त कहिले त्यो प्रवृत्ति प्रकट गरी नै रहन्छन् ।’१ त्यसको कारण के हो भने स्वतन्त्र प्रतिस्पर्धा एकाधिकारलाई जन्म त दिने गर्दछ तर एकाधिकार प्रतिस्पर्धालाई कुनै पनि तरिकाले अन्त्य गर्दैन । उसले केवल त्यही गर्दछ– प्रतिस्पर्धालाई कुनै पनि तरिकाले अन्त्य गर्दैन । उसले केवल त्यही गर्दछ– प्रतिस्पर्धालाई अझै धेरै उग्र र अझै धेरै निर्मम बनाइदिन्छ । प्रतिस्पर्धामा विभिन्न एकाधिकारी पुँजी समूह यद्यपि आफ्ना प्रतिस्पर्धीहरूलाई सिध्याउनका निम्ति हिंसा, घूसखोरी, धोकाधडी र जालझेलको सहारा लिन्छन् तथापि यसका साथै विविध ठूला पुँजीवादी देशहरूका बीचमा सापेक्षित आर्थिक शक्तिहरूमा परिवर्तन पनि भइरहन्छन् । उत्पादक शक्तिहरूको कुण्ठित विकासको यस सामान्य प्रवृत्तिअन्तर्गत केही पुँजीवादी देशहरूको हालत खराब हुने गर्दछ भने केहीको राम्रो हुने गर्दछ । यसप्रकार एकाधिकारी अवस्थामा साम्राज्यवादी देशहरूमा उत्पादन र प्रविधिको विकास एक सामान्य रोकावटको प्रवृत्तिको सिकार भइरहन्छन् परन्तु यसको अर्थ यो कुनै पनि हालतमा होइन– कुनै कालखण्ड विशेषमा कुनै व्यक्ति वा क्षेत्रविशेषको उत्पादन प्रविधिको अझ धेरै तीव्र विकासको सम्भावना रहँदैन ।

साम्राज्यवादी अवस्थामा कुनै एउटा वा केही देशहरूले उत्पादन प्रविधि अरूले भन्दा धेरै तीव्र विकास पनि गर्न सक्छन् । यद्यपि प्रायः यो अस्थायी वा अपवादका रूपमा नै हुने गर्दछ । जापानको उदाहरण लिऔँ । १९५० देखि १९७१ सम्मको अवधिमा जापानको राष्ट्रिय उत्पादन प्रतिवर्ष सालाखाला १० प्रतिशतभन्दा पनि बढी दरमा बढिरह्यो । परन्तु यो प्रवृत्ति दीर्घकालीन भने हुन सक्दैन । वस्तुतः जापानको उत्पादनको तीव्रतर विकास अमेरिकी साम्राज्यवादद्वारा जापानका एकाधिकारी पुँजीलाई दिइएको ठूलो सहायताको परिणाम थियो । कोरिया र भियतनामका विरुद्ध अमेरिकी साम्राज्यवादद्वारा छेडिएका आक्रामक युद्धहरूले जापानका एकाधिकारी पुँजीपतिहरूलाई ‘भाग्यमानीको भुतै कमारो’ भनेजस्तै नाफा दिलायो । १९५०–५३ को अवधिमा कोरियाका विरुद्ध आक्रामक युद्ध छेडेर अमेरिकी साम्राज्यवादले आफ्नो सैन्यसम्बन्धी ‘विशिष्ट आवश्यकताहरू’ का नाममा कम्तीमा पनि दुई अर्ब डलरको भुक्तान जापानलाई ग¥यो । एवम् रीतले भियतनामका विरुद्ध छेडिएको आक्रामक युद्धको अवधिमा आफ्ना ‘विशिष्ट आवश्यकताहरू’ अन्तर्गत अमेरिकी साम्राज्यवादले जापानलाई ३०–४० करोड डलरको भुक्तानी ग¥यो । १९६५ पछि त त्यो प्रतिवर्ष ५०–६० करोड डलरको हिसाबले बढ्दै गयो । त्यसका अतिरिक्त अमेरिकी साम्राज्यवादले जापानको एकाधिकारी पुँजीका निम्ति ठूलो मात्रामा ऋण पनि दियो । जसलाई जापानका ठूला उद्योगहरूमा सीधै लगानी गरियो र अधिकतम प्राविधिक पेटेन्ट पनि जापानलाई निर्यात गरियो । यसका साथै जापानी एकाधिकार पुँजीले जापानका श्रमजीवी जनतालाई निर्मम शोषण पनि ग¥यो र राजकीय बजेटबाट ठूलो मात्रामा सहुलियत (सब्सिडी) पनि प्राप्त ग¥यो । यी सबैले पनि जापानको तीव्र औद्योगिक विकासमा योगदान दिए । त्यसले यो देखाउँछ– जुन कारणहरूले जापानको औद्योगिक विकासलाई अगाडि बढाए ती लामो समयसम्म टिकिरहने छैनन् । जापानी अर्थव्यवस्थाको तीव्र विकास केवल अल्पकालीन मात्र नभई असामान्य र ठोस आधारबाट रहित पनि थिए । यसमा पहिलो तीव्रताका साथ घट्दै गयो । दोस्रो विश्वयुद्धपछि जापानमा गहुँको उत्पादन एकाएक घट्यो । बोडीको उत्पादन तीव्र रूपमा घट्यो र चामलको उत्पादन पनि १९६८ देखि तल झर्दै गयो । १९६० देखि १९७० सम्म जापानको खाद्य उत्पादनहरूमा आत्मनिर्भरताको दर ९० प्रतिशतबाट घटेर ७३ प्रतिशत रहन गयो । अर्को कुरा उसले कच्चा पदार्थहरूको ठूलो परिमाणमा आयात गर्नु पर्दछ तथा तयारी माल निर्यात बजारमाथि निर्भर छ । तामा, अल्मुनियम, फलाम, पेट्रोलियम, कोइलाजस्ता कच्चा मालहरूमा दस प्रमुख कच्चा पदार्थहरूको आयात अनुपात जुन १९६० मा ७१ प्रतिशत थियो बढेर १९७० मा ९० प्रतिशत हुन गयो । अर्कोतर्फ जापानी औद्योगिक उत्पादित वस्तुहरूको निर्यातको अनुपात जुन १९५० मा १८.३ प्रतिशत थियो । त्यो बढेर १९६९ मा ३०.१ प्रतिशत हुन गयो जसअन्तर्गत कृत्रिम धागोबाट बुनिएका वस्तुहरूको निर्यात अनुपात ४६.४ प्रतिशत, सिलाइ मेसिनहरूको निर्यात अनुपात ६७.४ प्रतिशत र पानीजहाजहरूको निर्यात अनुपात ६८.९ प्रतिशत थियो । यी तथ्यहरूले बताउँछन्– जापानी आर्थिक विकासको आधार धेरै नै डामाडोल छ । अब वर्तमान दरहरूमा लामो समयका निम्ति यस्तो विकासलाई निरन्तरता दिन असम्भव छ । अन्ततः रोकावटको प्रवृत्ति प्रभावी हुनु अपरिहार्य छ ।

(द साङ्घाइ टेक्स्ट बुक अफ पोलिटिकल इकोनोमी, हिन्दी संस्करणबाट अनुवादित)

२०७६ साउन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्