कम्युनिस्ट पार्टीको कार्यप्रणाली


कम्युनिस्ट पार्टी समाजको सबैभन्दा अग्रगामी, समुन्नत र क्रान्तिकारी परिवर्तनको संवाहक शक्ति हो । माक्र्स–एङ्गेल्सले जीवनभरको कष्टसाध्य सङ्घर्षद्वारा खोज र अनुसन्धानपछि प्रमाणित गर्नुभएको तथ्य के हो भने मानव समाजमा पुँजीपति वर्ग र श्रमिक वर्ग गरी दुई वर्ग रहेका हुन्छन् । पुँजीवादी राज्यसत्ता र उत्पादन सम्बन्धले श्रमिक वर्गलाई विशाल सङ्ख्यामा वृद्धि गर्दै लैजान्छ भने समाजको सानो हिस्सामा रहेको पुँजीपति वर्गले विशाल सङ्ख्यामा रहेको श्रमिक वर्गमाथि बहुरूपी शोषणलाई बढाउँदै लैजान्छ र ती दुई वर्गहरूका बीचमा वर्गसङ्घर्ष सञ्चालन हुन पुग्छ । वर्गसङ्घर्षद्वारा पुँजीपति वर्गको नियन्त्रणमा रहेको राज्यसत्ता श्रमिक वर्गले आफ्नो नियन्त्रणमा लिनेछ र त्यो राज्यसत्ता वैज्ञानिक समाजवाद र साम्यवादमा प्रवेश गर्नेछ जहाँ मानवले मानवमाथि गर्ने सम्पूर्ण उत्पीडनहरूको अन्त्य हुनेछ । त्यसप्रकारको महान् परिवर्तनको नेतृत्व मजदुर वर्ग अर्थात् कम्युनिस्ट पार्टीले गर्नुपर्दछ । माक्र्स–एङ्गेल्सको यो खोज र अनुसन्धानलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादको यो उद्भवपछि सर्वहारा श्रमिक वर्ग र पुँजीपति वर्गका बीचमा वर्गसङ्घर्षका विश्वव्यापी ऐतिहासिक महत्वका ठूलाठूला हलचल र घटनाक्रमहरू सतहमा देखापरे ।

सोभियत सङ्घ, कोरिया, चीन, भियतनाम हुँदै पूर्वी युरोपसम्म सर्वहारा श्रमिक वर्गले पुँजीपति वर्गको नियन्त्रणमा रहेको राज्यसत्ता आफ्नो नियन्त्रणमा लियो । पुँजीवादी उत्पादन सम्बन्धहरूको अन्त्य गर्दै समाजवादी उत्पादन सम्बन्धहरूको विकास गरियो जसअन्तर्गत आमजनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरियो । विज्ञानका विभिन्न शाखाहरूमा भएका अनुसन्धान, जनताको सुखी जीवन तथा ती समाजवादी देशहरूको अकल्पनीय प्रगतिका कारण कम्युनिस्टविरोधी शक्तिहरूले समेत आफूलाई समाजवादी भन्न बाध्य भए । वास्तवमा त्यो कम्युनिस्टहरूको वैचारिक र नैतिक विजयको परिणाम थियो । आज विश्वव्यापी रूपमा समाजवादी सत्ताहरू विघटन गरिएका छन् र ती ठाउँहरूमा पुँजीवादी सत्ताको पुनस्र्थापना गरिएका छन् । फलतः त्यहाँ धनी र गरिबबीचको खाडल व्यापक रूपमा वृद्धि भइरहेको छ । सन् १९७६ पछि विश्वमा कतै पनि समाजवादी सता छैनन् । चीन, कोरिया, भियतनाम, भेनेजुएलालगायत मुलुकहरूले आफ्नै मोडेलको समाजवादको अभ्यास गरिरहेको बताइरहेका छन् ।

नेपाललगायत विश्वका विभिन्न देशमा संसद्वादी अर्थात् संशोधनवादी कम्युनिस्टहरूले समाजवाद उन्मुख कम्युनिस्ट सरकार चलाइरहेको बताए पनि सारतः ती पुँजीवादी पार्टीहरूभन्दा पनि भद्दा र कुरूप रूपमा व्यक्त भइरहेका छन् । आज नेपालमा दुई तिहाइको संसदीय कम्युनिस्ट सरकार निर्माण गरिएको छ । जसअन्तर्गत बेरोजगारीका कारण लाखौँ युवाहरू विदेश पलायन, महँगी, भ्रष्टाचार, कमिसनखोरी, तस्करी, बेलगाम करवृद्धि तथा सामाजिक असुरक्षाका कारण जनता आक्रान्त बनेका छन् । राष्ट्रघात, वैदशिक ऋणको वृद्धि, व्यापारघाटा, राष्ट्रिय उद्योगहरूको निजीकरण तथा सामाजिक विकृति र विसङ्गतिका कारण राष्ट्र सर्वाधिक सङ्कटतर्फ बढिरहेको छ । शिक्षा र स्वास्थ्यमा भइरहेको माफियाकरणले जनतालाई सेवा र अवसरबाट वञ्चित गरेको छ । सरकार काण्डैकाण्डको धरापमा परेको छ । यी तथ्यहरूले के साबित गर्दछन् भने आफूलाई समाजवाद उन्मुख सरकारको नेतृत्व गरिरहेको दाबी गर्ने कम्युनिस्ट भनेको भेडाको छाला ओढेर भेडाकै बथानभित्र पसेका ब्वाँसाहरू हुन् जसले भेडाहरूकै नास गर्नेछन् । यी कम्युनिस्टहरू संशोधनवादी वा संसदीय कम्युनिस्ट भएका कारण र दलाल संसदीय व्यवस्था भएकाले राष्ट्र र जनताले शान्ति र समृद्धि प्राप्त गर्ने त परै जाओस्, बरु भएका उपलब्धिहरू गुम्दै गएका छन् । यी तमाम घटनाक्रमहरूले हाम्रो पार्टीले वर्तमान दलाल संसदीय व्यवस्था र संसदीय कम्युनिस्टहरूको चरित्रबारे गरिएको संश्लेषणलाई सही साबित गर्न पुगेको छ ।

कम्युनिस्ट पार्टी र समाजवादी सत्ताहरूमा आएको विचलन र विघटनको पृष्ठभूमिमा आज विश्वव्यापी रूपमा विचारधारात्मक रूपले संशोधनवादी वा संसदीय कम्युनिस्ट र वर्गसङ्घर्षका दृष्टिले साम्राज्यवाद र निगम तथा दलाल संसदीय व्यवस्थालाई पराजित गरेर मात्र उत्पीडित श्रमिक वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न सकिनेछ । त्यसका लागि विचारधारात्मक दृष्टिले आफूलाई सुदृढ बनाउँदै श्रमिक वर्गविरोधी दलाल संसदीय व्यवस्थामाथि आफ्नो श्रेष्ठता कायम गर्नसक्ने सैन्यीकृत कम्युनिस्ट पार्टी निर्माण आज विश्वव्यापी अपरिहार्य आवश्यकता बनेको छ । उपरोक्त तथ्य र आवश्यकतालाई आत्मसात गर्दै वर्गसङ्घर्षको विशिष्ट मोडमा अगाडि बढिरहेको हाम्रो पार्टीका सम्पूर्ण तहका समितिको नेतृत्व गरिरहेका नेता–कार्यकर्ताहरूले ध्यान दिनुपर्ने केही तत्कालीन र दीर्घकालीन तथा सैद्धान्तिक र व्यावहारिक पक्षका कार्यप्रणालीबारे सङ्क्षिप्त चर्चा गर्ने कोसिस गरिएको छ ।

पहिलो पार्टीको विचार, राजनीति र कार्यदिशाको दृढतापूर्वक कार्यान्वयन गरिनुपर्दछ । आज विश्वव्यापी रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूमा आमरूपमा चलिरहेको बहस भनेको सर्वहारा क्रान्ति र त्यसबाट प्राप्त हुने राजनीतिक सत्ताको सञ्चालन परम्परागत तरिकाबाट सम्भव छैन । यस विषयमा संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूको आम सहमति देखिन्छ । अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट पार्टीहरूलाई संयोजन गर्ने सङ्गठनको अभावमा त्यसप्रकारका बहसहरू आआफ्ना देशमा सीमित हुने गरेका छन् । हाम्रो पार्टी नेकपाले आठौँ महाधिवेशनबाट मालेमावादको विकासको शृङ्खलाका रूपमा विचार, राजनीति र कार्यदिशामा विगतको भन्दा मौलिक प्रस्तावनाहरू अगाडि सारेको छ । आजको बदलिएको वा विकास भएको विज्ञान, प्रविधि तथा सूचनासञ्चारको विकास, साम्राज्यवादी शोषणको भूमण्डलीकरण तथा नयाँ श्रमिक वर्गको उदयले सर्वहारावर्गीय विज्ञानको विकासको अपरिहार्यतालाई स्पष्ट गर्दछ । विचारको विकासका सन्दर्भमा मालेमाका सार्वभौमिक पक्षहरूको रक्षा गर्दै आआफ्नो देशको विशिष्ट पक्षलाई जोड्नुपर्दछ । विचारको विकाससँगै पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् दिशामा पार्टी अगाडि बढिरहेको छ । यो कार्यदिशा हाल विश्वमा रहेका दुइ कार्यदिशा अल्पकालिन सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धभन्दा माथि उठेको नयाँ र मौलिक कार्यदिशा हो जुन कार्यदिशाले साम्राज्यवादद्वारा सर्वहारा क्रान्तिका विरुद्ध विकास गरिएका सम्पूर्ण अस्त्रहरूलाई पराजित गर्नेछ । यतिबेला हामी विकसित विचार, राजनीति र कार्यदिशाको मार्गनिर्देशनमा वर्गसङ्घर्षको विशिष्ट मोडमा क्रान्ति सञ्चालन गरिरहेका छौँ । सजिलो वाटो वा बनिबनाउ बाटोमा हिँड्न सजिलो हुन्छ । यो मानवीय स्वभाव पनि हो तर राजनीतिक विज्ञानको नियमले के साबित गरेको छ भने बनिबनाउ बाटोबाट क्रान्ति सम्भव छैन । यो समकालीन विश्व कम्युनिस्ट आन्दोलनका घटनाक्रमहरूले साबित गरेको विषय पनि हो । विषयको यो कटुसत्यलाई गहिरो गरी मनन गरेर नै कमरेड विप्लवको नेतृत्वमा हाम्रो पार्टीले नयाँ खोज–अनुसन्धानसहित मालेमाको विकासका रूपमा नयाँ विचार, राजनीति र कार्यदिशाको संश्लेषण र प्रयोग गरिरहेको छ । यसको प्रयोगमा देखा पर्नसक्ने विभिन्न अतिहरूबाट बच्दै यसको व्यवस्थित र प्रभावकारी कार्यान्वयनमा सिङ्गो पार्टी एकीकृत र केन्द्रीकृत रूपमा लाग्नु पर्दछ ।
 दोस्रो परिस्थितिको सही मूल्याकन गरिनु पर्दछ ।

‘विचार र राजनीतिको विकास गरिसकेपछि त्यसको प्रयोगको मामिलामा परिस्थितिको सही मूल्याङ्कन गरिनु पर्छ । लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको सजीव आत्मा हो भन्नुभएको छ । राजनीतिक विज्ञान समाज विज्ञान भएकाले समाज परिवर्तनको सन्दर्भमा वस्तुगत र आत्मगत अवस्थाको वस्तुवादी मूल्याङ्कनसहित क्रान्तिकारी योजनाहरूको विकास गर्न निपुण हुनुपर्दछ । क्षणिक उत्तेजना र आवेगमा निर्माण गरिने योजनाले समाज परिवर्तनको क्रान्तिकारी महानतालाई व्यक्त गर्न सक्दैन बरु त्यसले असफलता र क्षतिलाई मात्र निम्त्याउने गर्दछ । वस्तुवादी र वैज्ञानिक योजना निर्माणको प्रमुख आधार सही बुझाइ र सही कामगराइबाट मात्र सम्भव छ । भनाइको तात्पर्य मालेमावाद, पार्टी कार्यदिशालाई सही रूपमा बुझ्नु र त्यसअनुरूप आफूलाई काममा अभ्यस्त गराउनु पर्दछ । पार्टीका सम्पूर्ण समितिहरूले आफ्ना कामको प्रगति विवरण प्रस्तुत गर्दा सही रूपमा गर्नुपर्छ । प्रतिवेदन प्रस्तुत गर्दा बढाइचढाइ गर्ने र न्यूनीकरण गर्ने दुई अतिवादी सोचाइबाट सम्पूर्ण समितिहरूले आफूलाई मुक्त गर्नुपर्छ । बढाइचढाइ गर्दा आफ्नो क्षमताभन्दा ठूला योजना निर्माण हुने दुस्साहसवादको समस्या र न्यूनीकरण गर्दा कार्ययोजना कमजोर बन्ने यथास्थितिवादको समस्या पैदा हुने अवस्था बन्न पुग्छ । यसप्रकारका समस्याहरूले परिस्थितिको सही मूल्याङ्कनलाई अवमूल्याङ्कन गरिरहेका हुन्छन् । फलतः यसप्रकारका प्रवृत्तिहरूले पार्टी र क्रान्तिलाई ठूलो क्षति गरिरहेका हुन्छन् । हामीले यसलाई दृढतापूर्वक सच्याउनु पर्दछ ।

तेस्रो, जनशक्तिको सही विन्यास गरिनु पर्दछ । क्रान्तिकारी राजनीतिमा यो एउटा महत्वपूर्ण मामिला हुने गर्दछ । कम्युनिस्ट पार्टीले क्रान्तिको सञ्चालन र विजयका लागि क्रान्तिका तीन साधनको निर्माण र परिचालनका साथै आवश्यकताअनुसार दर्जनौँ जनसङ्गठन र राष्ट्रिय मोर्चाहरू निर्माण र परिचालन गरिरहेको हुन्छ । पार्टीले निर्माण गरी परिचालन गरिरहेका विभिन्न सङ्गठनहरूमा नेतृत्व र जनशक्तिको सही विन्यास गरिनु पर्दछ । लाल र निपुण कार्यकर्ताहरूको उचित ढङ्गले विन्यास गर्दै नेता–कार्यकर्ताको समुचित परिचालन गर्न सक्दा क्रान्तिको प्रक्रिया तीव्र र घनीभूत हँुदै विजयको प्रक्रियामा अगाडि बढ्न पुग्छ । यो मामिलामा एउटा महत्वपूर्ण पक्ष के रहन्छ भने पार्टीले हिम्मतपूर्वक क्रान्तिको आवश्यकतामा जुनसुकै क्षेत्र र मोर्चामा पनि खट्न सक्ने हजारौँ नेता– कार्यकर्ताको निर्माण र परिचालन गर्न सक्नु पर्दछ । यसका साथै कार्यकर्ताको इच्छा र आवश्यकतालाई पनि ध्यान दिन सकेमा मोर्चाहरू अझ सुदृढ र विस्तारित हुनसक्ने कुरालाई सबै तहका नेतृत्वहरूले ध्यान दिन आवश्यक रहन्छ । जनसङ्गठनहरूको निर्माण र परिचालन गर्दा वा जनशक्तिको विन्यास गर्दा मुख्य र सहायकको परिभाषासहित गर्दा वस्तुवादी हुने कुरालाई सबै तहका समितिहरूले उचित ध्यान दिन आवश्यक छ । जनशक्तिको विन्यास गर्दा अक्सर सघन अर्थात् बाक्लो नेता–कार्यकर्ता भएका क्षेत्रहरूबाट कमजोर क्षेत्र वा पातलो सङ्ख्या भएका जनसङ्गठनहरूमा स्थानान्तरण गरिन्छ । हाम्रा आफ्ना अनुभवले साबित गरेका विषयलाई पनि ख्याल गरिनुपर्छ । त्यो भनेको कमजोर क्षेत्र वा पातलो सङ्गठन भएका क्षेत्रहरूबाट सघन क्षेत्र वा सङ्गठनमा पनि केही कार्यकर्ता सरुवा गरिनुपर्दछ । त्यसो गर्दा एक क्षेत्र र अर्को क्षेत्र तथा एक सङ्गठन र अर्को सङ्गठनका बीचमा सिक्ने र सिकाउने प्रक्रिया सहज बन्न पुग्छ । यसका साथै सबै स्तरका नेता–कार्यकर्ताहरूले क्रान्तिका तीन साधनहरूमा आलोपालो नेतृत्व गर्ने प्रक्रियालाई सुनिश्चित गरिनु पर्दछ ।

चौथो, कार्यशैलीे चुस्त र गतिशील हुनुपर्छ । क्रान्तिकारी पार्टीका लागि कार्यशैली एउटा निर्णायक विषय हो । क्रान्तिकारी पार्टीमा विभिन्न गैरसर्वहारावादी कार्यशैलीहरू व्यक्त भैरहेका हुन्छन् । कार्यशैली यस्तो मामिला हो जसले क्रान्तिकारी पार्टीका लागि विकास र विनासको मुख्य भूमिका निर्वाह गर्दछ । क्रान्तिकारी पार्टीको कार्यशैली परिस्थितिअनुसार गोप्य, अर्धगोप्य र खुला हुनु पर्दछ जो हाम्रो पार्टीको आठौँ महाधिवेशनले संश्लेषण गरेको छ । अहिले सामाजिक फासिवादीहरूले नेतृत्व गरेको दलाल संसदीय व्यवस्थाले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ र देशव्यापी गिरफ्तारी र नक्कली मुठभेडको बहानामा हाम्रा नेता–कार्यकर्ताको हत्या प्रकरण चलाइरहेको छ । केपी एन्ड बादल कम्पनीको यसप्रकारको सामाजिक फासिवादी अभियानले क्रान्तिकारी पार्टीलाई कमजोर होइन, अझ सशक्त, जुझारु र बलियो बनाउन मद्दत गर्नेछ । यो राजनीतिक क्रान्तिको विगत र वर्तमानले पुष्टि गरेको विषय हो । त्यसो त फेरि दलालहरूको राज्यसत्ता र हर्कतलाई केही पनि होइन भनेर उत्ताउलो पनि हुनु हुँदैन । क्रान्तिकारी विचार, राजनीति र कार्यदिशाको मार्गनिर्देशनमा क्रान्तिकारी कार्यशैलीको विकासले मात्र विरोधीहरूद्वारा गरिने सबै प्रकारका षड्यन्त्रहरूलाई पराजित गर्न सकिनेछ । वर्गसङ्घर्षका खासखास मोडहरूमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूमा आत्मसुरक्षावाद र दुस्साहसवादका अतिवादी समस्याहरू जन्मने र हुर्कने समस्याहरू देखिने गर्छन् । आत्मसुरक्षावादको चारित्रिक विशेषता भनेको दुस्मनलाई आवश्यकताभन्दा बलियो ठान्नु, सामूहिकभन्दा एक्लै बस्न रुचाउनु, प्रतिरोधद्वाराभन्दा लुकेर सुरक्षा महसुस गर्नु, रूप र सारमा निकै ठूलो अन्तर्विरोध देखापर्नु आदि रहेको हुन्छ । अर्कोतिर दुस्साहसवादले क्रान्तिकारिताका नाममा आफूभन्दा शक्तिशाली विरोधीलाई कमजोर आँक्ने, आफ्नो शक्तिको सुदृढीकरणलाई ध्यान नदिने, सबै कुरा ठिकै चलिरहेको देख्ने र क्रान्तिकारी कार्यशैली प्रयोगको मामिलामा उदार देखिने रूपमा व्यक्त भइरहेको हुन्छ । क्रान्तिकारी पार्टीले वर्गदुस्मन र परिस्थितिको ठीकठीक मूल्याङ्कनसहित कार्यशैलीको रूप निर्धारण र प्रयोग गरिनु पर्दछ । माओले भनेझैँ हाम्रो कार्यशैली सरल प्रशासन र कडा परिश्रमका साथै छिटोछरितो एवम् चुस्तदुरुस्त हुनु आवश्यक छ । यसको विपरीत हाम्रो कार्यशैली व्यक्त भएमा पार्टी र क्रान्तिका लागि घातक सिद्ध हुने कुरालाई नजरअन्दाज गरिनु हुँदैन ।

पाँचौँ, बलियो जनसम्बन्ध निर्माण गरिनु पर्दछ । क्रान्तिकारी पार्टीका लागि जनतासँगको जनसम्बन्ध एउटा अपरिहार्य विषय हो । क्रान्तिकारी पार्टीले अगाडि, पछाडि, दायाँ, बायाँ जता जाँदा पनि जनतासँगै रहनु पर्दछ । जनसमर्थनबिनाको कुनै पनि राजनीतिक यात्रा सफलतामा पुग्न सम्भव छैन । राजनीतिक क्रान्ति भनेको राष्ट्र र जनताको मुक्ति र परिवर्तनको मामिला हो । तसर्थ यसमा आमजनताको सहभागिता चाहिन्छ । जनसहभागिताबिनाको क्रान्ति लफ्फाजी मात्र हो । पार्टी र जनताको अन्तरसम्बन्धबारे माओले बताउनु भएको छ– जनता समुद्र हो भने पार्टी माछा हुन् । जनता माटो हो भने पार्टी बिउ हुन् । जनता र पार्टीबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ । यसमा पार्टीको नेतृत्वदायी भूमिका निर्णायक महत्वको रहने गर्दछ । जनता सबैले बुझेपछि मात्र क्रान्ति हुन्छ भन्ने बुझाइ पुच्छरवादी सोचाइ हो भने जनता तयार नहुँदै हत्त न पत्त क्रान्तिको कुरा गर्नु दुस्साहसवादी समस्या हो । हाम्रोजस्तो देशमा सबै जनताको एक साथ र समान स्तरको चेतना विकास हुन्छ भनेर बुझ्नु गलत हुन्छ केही जनताको चेतना अग्रगामी र केही जनताको चेतना यथास्थितिको वरिपरि रहेको हुन्छ भने राज्यसत्ताको उत्पीडन र शोषणका स्वरूपहरू पनि ठाउँ र परिवेशअनुसार फरक हुन्छन् । समष्टिमा राज्यसत्ता र जनताबीचको अन्तरविरोधको सही पहिचाहन, वैज्ञानिक विचार, राजनीति र कार्यदिशाको सही प्रयोगद्वारा क्रान्तिको प्रक्रियालाई सुसङ्गत गर्नुपर्दछ । जनता र पार्टीबीचको सम्बन्धको कुरा गर्दा जनताका मित्रशक्तिहरू जस्तै राष्ट्रवादी, जनवादी तथा प्रगतिशील र सच्चा लोकतन्त्रवादीहरूसँगको सहकार्य र मोर्चालाई पनि त्यत्तिकै ध्यान दिनुपर्दछ । सङ्घर्षको निशाना छनोट गर्दा दलालहरूको सानो हिस्सालाई मुख्य बनाउनुपर्छ । सिद्धान्त र व्यवहार, कार्यदिशा र कार्यक्रम, सङ्गठन र सङ्घर्ष तथा स्थानीय र राष्ट्रिय अन्तरविरोधहरूको सही पहिचाहन र परिचालनले पार्टी र जनताबीचको सम्बन्धलाई व्यापक, बलियो र सुदृढ गर्न मद्दत गर्दछ ।

आज विश्वव्यापी रूपमा र नेपालमा पनि संसदीय कम्युनिस्टहरूले कम्युनिस्टहरूको बेइज्जत गरेका छन् । इतिहासमा कम्युनिस्टहरूले राष्ट्र, जनता र समग्र मानव जातिको निम्ति गरेका समर्पण, त्याग र बलिदान तथा जनउत्तरदायी शासनव्यवस्था एवम् राष्ट्र र जनताको शान्ति र समृद्धिका कारण विश्वव्यापी रूपमा कम्युनिस्टप्रति जनआकर्षणको लहर सञ्चालन हुन पुग्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको उपरोक्त पृष्ठभूमि तथा जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण आज विश्वव्यापी रूपमा संसदीय कम्युनिस्टहरूले दलाल संसदीय व्यवस्थामार्फत जनतामाथि शोषण र उत्पीडन थोपरेका छन् । यसरी आज उनीहरूले एकातिर सैद्धान्तिक रूपले माक्र्सवादको मूल आत्मामाथि ठूलो घात गर्दै जनता र राष्ट्रमाथि घोर अन्याय गर्न पुगेका छन् भने अर्कोतिर वैदेशिक शक्तिकेन्द्रहरूको निर्देशनमा कम्युनिस्ट पार्टीहरू जसले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्ने अभियानको नेतृत्व गरिरहेका छन् । उनीहरूमाथि दमन अभियान चलाइरहेका छन् । आज त्यसको ज्वलन्त नमुना नेपाल बनेको छ । आफूलाई कम्युनिस्ट बताउने केपी–बादल नेतृत्वको सरकारले दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी राज्यसत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । देशव्यापी नेता–कार्यकर्ताको गिरफ्तारी, नक्कली मुठभेडका नाममा निःशस्त्र कार्यकर्ताहरूको गिरफ्तारी र हत्या अभियानलाई व्यापक बनाइएको छ । जनताका शान्तिपूर्ण आन्दोलनमाथि निर्ममतापूर्वक दमन अभियान चलाइएको छ । लोकतान्त्रिक मूल्यको धज्जी उडाउँदै सरकारको विरोध गर्नेहरूमाथि गिरफ्तार गरी निर्ममतापूर्वक यातना दिइएको छ । यसले सरकार सामाजिक फासिवादतर्फ बढिरहेको तथ्यलाई स्पष्ट गर्दछ । सरकार दिनहुँ के तर्क गरिरहेको छ भने देशमा अब कुनै सङ्घर्ष र आन्दोलनको आवश्यकता छैन किनकि जनताका सम्पूर्ण समस्याहरू समाधान भइसके । के यो कुरा सही हो त बिल्कुल होइन । तथ्यहरूले साबित गरिरहेका छन्– अहिले देश सर्वाधिक सङ्कटतर्फ बनिढिरहेको छ । वैदेशिक ऋण र व्यापारघाटा अकल्पनीय रूपमा बढिरहेको छ । भ्रष्टाचार संस्थागत रूपले मौलाइरहेको छ । बेरोजगारीको समस्या दिनानुदिन बढिरहेको छ । बेलगाम करवृद्धि तथा महँगीले जनताको ढाड सेकेको छ । शिक्षा र स्वास्थ्यमा भइरहेको माफियाकरणका कारण जनताको पहुँचभन्दा बाहिर गएको छ । सामाजिक असुरक्षा बढिरहेको छ । सरकार काण्डैकाण्डमा फसेको छ । के यी तथ्यहरू फगत हुनत के यी विषयहरू जनतालाई भ्रममा पार्नका लागि उठाइएका हुन् । सरकार यी विषयहरू समाधान गर भनेर आवाज उठाउने शक्तिलाई आतङ्ककारी देख्छ । त्यसो भए सही के हो त सही कुरा यो हो कि कुनै पनि शासकहरू आफूखुसी राज्यसत्ता छोड्दैनन् । उनीहरू क्रान्तिकारी शक्तिलाई आतङ्ककारी, अपराधी र लुटेरा देख्छन् । राष्ट्र र जनताका वास्तविक समस्याहरू समाधान गर्न शासकहरू सकेनन् भने जनताले सत्ताको विकल्प खोज्छन् र राज्यसत्ताको विरुद्ध विद्रोह गर्न पुग्छन् । त्यसप्रकारको विद्रोहको संस्थागत नेतृत्व कम्युनिस्ट पार्टीले गर्दछ । आज नेपालमा संसदीय राज्यसत्ताको असफलता र त्यसका विरुद्ध भइरहेका जनविद्रोहको नेतृत्व एकीकृत जनक्रान्तिको कार्यदिशासहित नेकपाले नेतृत्व गरिरहेको छ । शासकहरूले क्रान्तिका विरुद्ध जतिसुकै जालझेल र षड्यन्त्र गरे पनि उनीहरूको पतन अनिवार्य छ किनकि उनीहरूको चरित्र राष्ट्र र जनविरोधी हुन्छ । शासकहरूको दमन चिर्दै क्रान्ति सफल भएरै छाड्छ किनकि क्रान्तिकारी पार्टीले आफ्नो एक मात्र उद्देश्य राष्ट्र र जनताको शान्ति र समृद्धिका लागि केन्द्रित गरेको हुन्छ ।

२०७६ असार ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :