नेकपाका नेता तथा कार्यकर्ता देशैभरी किसानहरुसँग जनश्रमदान अभियानमा


कालिकोट : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान अभियानमा व्यस्त देखिन थालेका छन् ।

प्रायजसो खुला नदेखिने नेकपाका कार्यकर्ताहरु केन्द्रीय समितिले गरेकाे निर्णय अनुसार कालिकोटको गाउँगाउँमा किसानहरुको खेतबारीमा जनश्रमदान अभियान गर्नमा व्यस्त देखिन थालेका हुन् । जिल्लाको बैठक बसि जिल्लामा संगठन सुदृढिकरण तथा विस्तार अभियान थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको एक नेताले बताए।

कालिकोट जिल्लाको पलाँता, पचाल झरना, रास्कोट, शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिकाका विकट गाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु किसानको खेतबारीमा काम गर्न व्यस्त देखिन्छन् ।

अर्धभुमिगत शैलीमा गाउँमा आफ्नो संगठन विस्तारमा सक्रिय रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुले जनताको जनमत बटुल्नकालागि किसानको खेतबारीमा काम गर्ने अभियान थालेको बताउँछन् ।

कालिकोट जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ले किसान तथा मजदुरको पार्टी भएकाले किसान मजदुरसँगै काम गर्ने अभियान थालेको बताए । उनले भने, ‘हामी गाउँमा जनतासँगै छौँ । जनताको घरमा असारको सिजनमा हुने सबै काममा सहयोग गर्दै आएका छौँ । पार्टीको निर्णय अनुसार नै सुरु गरिएको जनश्रमदान अभियान अन्तरगत किसानको खेतमा मकै गोड्ने, धान रोपाइँ गर्ने, कोदो सार्ने लगायत काममा सघाउँदै आएका छौँ ।’

नेपाल कम्युनिस्ट पार्टीका भातृ संगठन दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य साहासीले किसानहरुको पार्टीका कार्यकर्ता गाउँमा जनतासँगै रहेको बताए । नेकपाका कार्यकर्ता भुमिगत शैलीमा भन्ने आरोप मात्रै रहेको र जनताको पार्टी जनताबाट टाढा हुन नसक्ने उनको भनाइ छ ।

यसैबीच, नेकपा निकट युवा संगठनका भेरी कर्णाली संयोजक शितल विष्टले भ्रष्ट जनप्रतिनिधि प्रमुख निशानीमा रहेको बताए । ‘राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने र अनियमितता गर्नेहरुलाई जनकारबाही गर्ने पार्टीको योजना छ । कालिकोटका सबै स्थानीय तहमा व्यापक अनियमितता भएको जनगुनासो बढी आएका छन् ।’ विष्टले भने । यसको विषयमा पार्टीको समन्वयमा युवा संगठनले छानविन गर्ने उनको भनाइ छ । युवा संगठनका केन्द्रीय सदस्यसमेत रहेका विष्टले अनियमितताकै विरुद्धमा जिल्लाका ९ वटै स्थानीय तह र ८२ वडामा ताला लगाएको बताए ।

कतिपय कामै नभएका योजनाहरुको बजेट जनप्रतिनिधले आफ्नो खातामा ल्याउने, काम नभए पनि भुक्तानीकालागि निश्चित प्रतिशत माग्ने गरेको गुनासो आफूहरुसँग आएको हुनाले अव यस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुने विष्टले चेतावनी दिए ।

केही दिनअघि मात्रै भेरी कर्णाली ब्यूरो अन्तरगत १० जिल्लाका १ हजार २ सय जति युवाको संयुक्त बैठक पनि बसेको छ । ती युवाले अब गाउँमा आएका भ्रष्ट सरकारका कामको उच्च निगरानी राख्ने बताइएको छ । साथै पार्टीको काममा पूर्ण समय दिएर संगठन विस्तारमा लाग्ने र त्यसकालागि पार्टीले सामान्य आधारभुत खर्चको व्यवस्थथा पनि मिलाएको बताएका छन् ।

२०७६ असार ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :