एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई


काठमाडौं : एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि नेपालले उचालेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु –१९ एशिया कपमासमेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भाद्र ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुने छन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो ।

जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे ।

बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक–एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङकालागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

२०७६ असार २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :