नेकपा (क्रान्तिकारी माओवादी)का पि.वि.एम. अधिकारीको निधन


काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को निधन भएको छ । विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका माओवादी नेता श्यामको उपचारकै क्रममा आइतबार बेलुका ८ बजेर २ मिनेट जाँदा चिकित्सकहरुले मृत घोषित गरेको छोरा नारायण अधिकारीले जानकारी दिएका छन् ।

श्यामको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीकालागि सोमबार विहान ९ बजेदेखि १२ बजेसम्म क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपण्डोलमा राखिने जनाइएको छ ।

दिवंगत नेता अधिकारीका एक श्रीमती, तीन भाइ छोरा र दुई वहिनी छोरी रहेका छन् । जेठो छोरा नारायण अधिकारी ‘निश्चल’ क्रान्तिकारी माओवादीकै केन्द्रीय सदस्य रहेका छन् ।

गएको पुस २९ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना हुनुभएका उहाँलाई थप उपचारको लागि बैशाख २७ गते हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । नेता अधिकारीलाई शनिबार साँझ नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले अस्पताल पुगेर भेट गरेका थिए ।

विसंं २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिनु भएका नेता अधिकारी वि.संं २०३२ देखि कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो । उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारामा उभिदै आउनु भएको थियो । गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापकसमेत रहनु भएका नेता अधिकारी एक इमान्दार र निष्ठावान क्रान्तिकारी नेता हुनुहुन्थ्यो । मालेमावादी दर्शनको क्षेत्रमा उहाँको विशेष दख्खल रहेको थियो ।

२०७६ असार २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :