नेकपाद्वारा सुदूरपश्चिमका जिल्लाहरुमा एकैसाथ ९८ स्थानीय तहमा तालाबन्दी


धनगढी : नेपाल कम्युनिस्ट पार्टी एकाएक आक्रामक बनिरहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी नेकपाका कार्यकर्ताहरुले एकैरातमा ९८ स्थानीय तहका कार्यालयहरुमा तालाबन्दी गरेका छन् । प्रदेश कार्यालय रहेको धनगढी उप–महानगरपालिकासहित कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीका स्थानीय तहमा तालाबन्दी गरेका छन् ।

नेकपाका कार्यकर्ताहरुले शनिबार राति एकै समयमा सबै कार्यालयमा तालाबन्दी गरेको बताइएको छ । विकासे खर्चमा भ्रष्टाचार गरेको, जनतालाई सेवा नदिएर घुस लिएर मात्रै सेवा दिने गरेको, आर्थिक वर्षको अन्तिममा कामै नगरी बिल भुक्तानी गर्न लागेको भन्दै नेकपाले स्थानीय तहमा ताला लगाएका छन् । ताला लगाइएका स्थानहरुमा सेती–महाकाली ब्यूरोले गरेको अपील पनि छरिएको छ ।

आइतबार बिहानसम्म कैलालीका ४५, कञ्नपुरका २०, डडेल्धुराका १०, अछामका १२, डोटी १, दार्चुला र बैतडी गरी ९८ स्थानीय तहमा ताला लगाइएको नेकपाले जनाएको छ । थप भ्रष्ट जनप्रतिनिधि र कर्मचारीबारे अध्ययन भइरहेको बताउँदै ती नेताले थप स्थानीय तहमा पनि ताला लगाउने चेतावनी दिए ।

‘पहिलो चरणमा छानिएका स्थानीय तहमा ताला लगाएका छौं र अब बाँकी भ्रष्ट र जनतालाई दुःख दिने तथा राष्ट्रको ढुकुटीमा मस्ती गर्नेलाई छोड्दैनौं । त्यस्ता कथित जनप्रतिनिधि र कर्मचारीबारे अनुसन्धान भइरहेको छ’ ती नेताले भने । उनले आफ्नो पार्टीले जनसत्ता गाउँगाउँमा स्थापना गरिसकेको भन्दै भ्रष्टहरुलाई लखेट्ने चेतावनीसमेत दिए ।

यस्तै कञ्चनपुर इन्चार्ज अर्जुनले जिल्लाका नौवटै नगरपालिका र १३ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । उनले स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै र जनप्रतिनिधि र कर्मचारीले सुराकीको काम गरेको पाइएकोसमेत अर्जुनले बताए ।

यसैबीच डडेलधुराको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएको छ । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद बस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको हो । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको छ ।

९ नम्बरका वडा अध्यक्ष रमेश बोहराका अनुसार तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद बस्तु राखिएको थियो । प्रहरीले उक्त बस्तु हटाएको बताइएको छ । डडेल्धुराकै आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ ।
उता अछामका मंगलसेन नगरपालिकाको १ कुन्ती बण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नं. २, तुर्माखाद गाउँपालिकाको वडा नं. २ भुलु र ७ तोषीसहित, रामारोशन गाउँपालिकाको वडा नं. ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटिया, पञ्चदेवल विनायक नगरपालिकासहित १२ कार्यालयमा तालाबन्दी गरिएको हो ।

ताला तोड्ने व्यक्ति जिम्मेवार हुने लेखिएको पर्चासमेत भेटिएको मंगलसेन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपाल थापाले बताएका छन् ।

२०७६ असार २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :